नदी सुक्दै गएपछि सिँचाइका लागि रातभर खेतमा जाग्राम

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका १ चैबाङ ज्युलाका ५० वर्षीय रेशम बुढाथोकी खेतमा सिँचाइका लागि धाउन थालेको चार दिन भइसक्यो । तर उनले दिउँसोको समयमा खेतमा सिँचाइ गर्न नै पाएका छैनन् ।

नदी सुक्दै गएपछि सिँचाइका लागि रातभर खेतमा जाग्राम

दिउँसो खेतमा सिँचाइ गर्न नपाएपछि रातभर जाग्राम बसेरै गत राति बल्ल उनले गरा भिजाउन पाए । ‘लामो समयदेखि परेको खडेरीका कारण शारदा नदीमा पानीको सतह ह्वात्तै घटेको छ । शारदा नदीबाट गिटी बालुवा निकाल्दा खेत धेरै माथि परेकाले सिँचाइ कुलोमा पानी चढ्दैन । धान रोपाइँको बेला पनि खेतमा सिँचाइ गर्न नपाए भोकै बस्नु पर्ने अवस्था आउन सक्छ । सिँचाइको लागि रातभर जाग्राम नबसी नहुने बाध्यता छ,’ बुढाथोकीले भने ।


यस्तो समस्या बुढाथोकीको मात्र हैन । शारदा नदी आसपासमा खेत भएका अधिकांश किसानहरू यतिबेला सिँचाइ गर्न रातभर जाग्राम नै बस्ने गरेका छन् । लामो समयदेखि परेको खडेरीका कारण शारदा नदी सुक्दै गएपछि सिँचाइका लागि किसानहरू रातिको समयमा खेतमै बसेर पानी लगाउने गरेका छन् ।


नदीको पानीको बहाव सीमित भएपछि सिँचाइका लागि घण्टौं कुर्नुपर्ने अवस्था आएको किसानहरू बताउँछन् । जसकारण उनीहरूले खेतमा समयमै रोपाइँ गर्न पनि सकेका छैनन् ।


शारदा नगरपालिका २ जोगदेखोलाकी निर्मला रावत तीन रातसम्म पालो कुरेपछि मात्रै बल्लतल्ल ६ रोपनी खेतमा सिँचाइ गर्न पाएको बताउँछिन् । तर रोपाइँ गरे पनि खेतमा पानी सुक्दै गएकाले धान फस्टाउन नसकेको उनको भनाइ छ ।


छत्रेश्वरी गाउँपालिका ६ लान्तीका किसान केशर ओलीले शारदा नदीमा पानी अति कम भएकाले दिउँसो पालो नपाउने र रातिको समयमा सिँचाइ गर्नुपर्ने भएको बताए । सिँचाइका लागि रातभर पालो पर्खेर बस्नु पर्दा अनिदोले बिरामी नै परेको ओलीको अनुभव छ ।


‘गत वर्ष यति बेला सबै किसानले रोपाइँ सम्पन्न गरिसकेका थिए । अहिले सिँचाइ हुने क्षेत्रमा आधा जति मात्र रोपाइँ भएको छ,’ उनले भने, ‘वर्षातको समय सुरु भइसक्दा पनि पानी नपरेको कारण रोपाइँ गर्न धेरै गाह्रो भएको छ ।’


शारदा नगरपालिका १२ का किसान दलबहादुर बुढाथोकीले खडेरीले शारदा नदीमा पानी सुकेपछि कुलोमा पानी नचढ्दा वडाको सहयोगमा पम्पसेट किनेर सुक्न थालेको धानको ब्याडमा र खेतमा सिचाइँ गरिरहेको बताएका छन् । दिनमा नभ्याउँदा र अरुलाई असर पर्ने भएकाले रातभर पानी खोज्नु परेको उनले बताए । यसपटक रोपाइँ गर्न धेरै गाह्रो भएको उनको भनाइ छ ।


शारदा नगरपालिका १२ का वडा अध्यक्ष सुरेन्द्र बुढाले खडेरीका कारण धानका ब्याड सुक्न थालेपछि किसानको हितका लागि शारदा नगरपालिकाले पैसा भुक्तान गर्ने गरि कागज बनाएर पम्पसेट किनी रातको अवधिमा धानको ब्याड र खेतमा सिचाइँ गर्दै आएको बताएका छन् । पम्पसेट चलाउन अरुले नजान्दा चार दिन लगातार रातको समयमा आफू नै खटिएको उनले जानकारी गराए ।


कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमबहादुर बस्नेतले समयमै वर्षात नहुँदा किसानहरू धेरै मारमा परेका बताएका छन् । गत वर्ष यसै समयमा ९५ प्रतिशत खेतमा रोपाइँ सम्पन्न गरिसकेका किसानले यस वर्ष अहिलेजम्मा ४० प्रतिशत मात्र रोपाइँ सम्पन्न गरेको उनले जानकारी दिए ।

प्रकाशित : असार ११, २०७९ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?