नयाँ बनाउँदा र विस्तार गर्दा उस्तै खर्च- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
सुर्खेत विमानस्थल

नयाँ बनाउँदा र विस्तार गर्दा उस्तै खर्च

चाँदनी कठायत

वीरेन्द्रनगर — संघीय सरकारले अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणका लागि ६ वर्षअघि सुर्खेतको भेरीगंगास्थित रामघाट र छिन्चुको बीचमा रहेको मदानेचौरमा प्रारम्भिक अध्ययन गर्‍यो । प्राविधिक टोलीले अन्तर्राष्ट्र्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको थियो । संघीय सरकारका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी पनि मदानेचौर पुगेका थिए ।

सुर्खेत विमानस्थलको धावनमार्ग । तस्बिर : जनकबहादुर शाही/कान्तिपुर

भूगर्भविद् कृष्णकुमार श्रेष्ठ, इन्जिनियर निश्चल नेपाल र सर्भेयर राजीव बराललगायतको टोलीले अध्ययन गर्दा वीरेन्द्रनगरमा हाल सञ्चालनमा रहेको विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरका रुपमा विकास गर्दा ठूला विमान अवतरण गराउन नसकिने बताएको थियो । जसको विकल्पका रूपमा छिन्चुको मदानेचौरमा सम्भावता अध्ययन गरिएको थियो ।

त्यस समयमा नागरिक उड्डयन प्राधिकरणको सम्भाव्यता अध्ययन टोलीले मदानेचौर अन्तर्राष्ट्रिय विमानस्थलका लागि उत्तम रहेको निष्कर्ष निकालेको थियो । अन्तर्राष्ट्रिय विमानस्थलका लागि २२ सय मिटरको धावनमार्ग अनिवार्य रहेकोमा मदानेचौरमा धावनमार्गको लम्बाई २६ सय मिटरसम्म हुने अध्ययनले देखाएको थियो । यद्यपि डाँडालाई काट्नुपर्ने भएकाले लागत भने महँगो पर्ने प्राधिकरणले बताएको थियो । प्राधिकरणका अनुसार मदानेचौरमा विमानस्थल बनाउँदा १० अर्ब बजेट लाग्ने अनुमान गरिएको थियो । जसको चौडाइ ३० मिटर र निर्माण कार्यसम्पन्न गर्न ६ देखि ८ वर्षसम्म लाग्ने अनुमान प्राविधिक टोलीको निष्कर्ष थियो ।

प्रारम्भिक सर्भे भए पनि उक्त स्थानमा विमानस्थल बन्ने विषय हराउँदै गयो । त्यसपछि फेरि ०७७ असोज १५ गते कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले सुर्खेत विमानस्थल विस्तारका लागि संघीय सरकारसँग द्विपक्षीय सम्झौता गर्‍यो । उक्त सम्झौताअनुसार सुर्खेतमा रहेको हालको विमानस्थल उत्तरतर्फ ५ सय १०, दक्षिणतर्फ ६० र पश्चिमतर्फ ६६ मिटर विस्तार गर्ने उल्लेख थियो । त्यसलगत्तै वीरेन्द्रनगर नगरपालिकाले ०७७ माघ ३ गतेको कार्यपालिका बैठकबाट सुर्खेत विमानस्थल विस्तार गर्नुभन्दा पनि नयाँ विमानस्थल निर्माणको बिकल्प खोज्न प्रदेश र संघीय सरकारलाई अनुरोध गर्‍यो ।

सुर्खेतमा ठूला जहाज अवतरण उद्देश्यका साथ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चा लामो समयदेखि चल्दै आएको हो । यसबीचमा संघ, प्रदेश तथा स्थानीय सरकारले आ–आफ्नै तवरले विभिन्न समयमा प्रक्रियासमेत अघि बढाए । प्रारम्भिक अध्ययन भएको ६ वर्षपछि संघीय सरकारले फेरि सुर्खेतको भेरीगंगामा विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने भएको छ । हालको विमानस्थल विस्तारका लागि प्रदेश र संघीय सरकारबीच भएको सम्झौतामा ९.४१ अर्बमध्ये संघीय सरकारको ५० प्रतिशत तथा प्रदेश र स्थानीय सरकारले २५/२५ प्रतिशत खर्च व्यहोर्ने उल्लेख गरिएको थियो । ९.४१ अर्ब रुपैयाँ खर्च गर्दा पनि विमानस्थल विस्तार गर्दा पनि ठूला जहाज अवतरण हुँदैनन् भने रनवे पनि एकतर्फी मात्रै हुन्छ । ३ सय ५० मिटर रनवे विस्तारमा अर्बौं खर्च लाग्ने र त्यसले पनि सहज रुपमा ठूला जहाज आउन नसक्ने देखिएपछि विकल्पका रुपमा रामघाट विमानस्थल नै उपयुक्त हुने प्राधिकरणको ठहर छ । ०७३ सालमा सम्भाव्यता अध्ययन टोलीले पनि रामघाटको मदानेचौर अन्तर्राष्ट्रिय विमानस्थलका लागि उत्तम रहेको निष्कर्ष निकालेको थियो । वीरेन्द्रनगरमा ०२३ सालमा १ हजार ४० मिटर क्षेत्रफलमा विमानस्थल निर्माण गरिएको थियो । उक्त विमानस्थललाई करिब ८ वर्षअघि पहिलोपटक विस्तार गरी १ हजार २ सय ५५ मिटर लम्बाइ र ३० मिटर चौडाइको बनाइएको थियो । अहिले विमानस्थलमा एटीआर–४२ तथा साना सिट क्षमता भएका जहाजले मात्रै उडान भर्न सक्छन् ।

विस्तारको चर्चा चलिरहेको सुर्खेत विमानस्थल विस्तारले मात्र हवाई सेवा प्रभावकारी नहुने प्राधिकरण कार्यालय, सुर्खेतले जनाएको छ । कार्यालय प्रमुख देवेन्द्र पाण्डेले कर्णाली प्रदेशमा हवाइ सेवा विस्तारका लागि ‘फुल फेज’ (चौबिसै घण्टा) सञ्चालन हुने विमानस्थल बन्न नसक्ने बताए । कम कुहिरो भएको अवस्थामा पनि अहिले उडान रोक्नुपर्ने समस्या रहेको पाण्डेले बताए । कर्णालीमा उडान सेवा विकासका लागि रामघाट क्षेत्रमा विमानस्थलको निर्माण गरिनु उत्तम हुने उनको भनाइ छ ।

प्रकाशित : असार ११, २०७९ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्

घुमाउरो रूपमा एसपीपी नेपालमा प्रवेश गरिसकेको छ : वामदेव गौतम

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) नेपालमा घुमाउरो तरिकाले प्रवेश गरिसकेको बताएका छन् ।

शनिबार नेकपा राष्ट्रिय एकता अभियानको दोस्रो भेलामा प्रस्तुत राजनीतिक प्रस्तावमा गौतमले एमसीसी र एसपीपी अमेरिकाले पहिले नै अगाडि बढाइसकेका योजना सैनिक गठबन्धनसँग सम्बन्धित भएको पनि बताए ।

दुई संस्थालाई नेपालमा प्रवेश गराएर अमेरिकाले त्यही गठबन्धनमा नेपाललाई सामेल गराउन चाहेको उनको भनाइ थियो । गौतमले राजनीतिक प्रस्तावमा भनेका छन्, 'एसपीपी घुमाउरो तरिकाले नेपाल प्रवेश गरिसकेको विभिन्न तथ्यहरूले सावित गरेका छन् । एमसीसी र एसपीपीका सम्बन्धमा नेपाली कांग्रेस पार्टी अहिलेसम्मका उसको व्यवहारबाट सबभन्दा ठूलो भ्रममा रहेको देखियो । एमसीसीका पक्षमा नेपाली जनमत थिएन र अहिले पनि छैन तर नेपालका राजनीतिक पार्टीहरूले जनतालाई चुप लाग्न बाध्य परेका छन् ।'

एसपीपी भने सत्ताधारी गठबन्धनमा रहेका कम्युनिस्ट पार्टीहरूको दबाबका कारण मन्त्रिपरिषद्‍बाटै निर्णय गराई फिर्ता लिइएको पनि गौतमले बताए । तत्काल नेपाल सम्भावित महासंकटबाट बचे पनि कांग्रेसको नेतृत्वमा सरकार रहँदासम्म विकासका नाममा यस्ताखाले सम्झौतामा फेरि नेपाल फस्ने सम्भावना भने उत्तिकै रहेको उनले बताएका छन् । यसमा गठबन्धनका कम्युनिस्ट पार्टीहरूले गठबन्धनमा रहँदासम्म सतर्क भइरहनुपर्ने पनि गौतमले बताए ।

प्रकाशित : असार ११, २०७९ ११:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×