शिक्षालाई प्राथमिकता दिँदै छत्रेश्वरीले ल्यायो ५० करोडको बजेट


सल्यान — सल्यानको छत्रेश्वरी गाउँपालिका सल्यानले शिक्षालाई पहिलो प्राथमिकता दिँदै आर्थिक वर्ष ०७९/८० का लागि ४९ करोड ५१ लाख ६२ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ ।


पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै १२औं गाउँसभाबाट गाउँपालिकाले बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिकाकी उपाध्यक्ष बुद्धा केसीले बजेट सार्वजनिक गरेकी हुन् । बजेटको स्रोत संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १९ करोड १० लाख ७५ हजार, ससर्त अनुदान २३ करोड ५ लाख, विशेष अनुदान २ करोड र प्रदेश सरकारबाट वित्तीय समानीकरणमा १ करोड ८ लाख, ससर्त १ करोड ९० लाख ४० हजार, आन्तरिक स्रोत ४ करोड ३७ लाख ४० हजारलगायत रहेको उपाध्यक्ष केसीले जानकारी गराइन् ।
गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले भौगोलिक विकटता र जनसंख्यालाई मुख्य आधार बनाई नीति तथा कार्यक्रममा व्यवस्था भएबमोजिम आर्थिक, सामाजिक, कृषि, पशुपालन, भौतिक, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास सुशासनसमेतका विषयलाई समेटिएको र सबैभन्दा बढी शिक्षालाई प्राथमिकता दिएको बताए । उनले चिस्यान केन्द्र, टिमुर तथा अदुवा प्रशोधन केन्द्रलाई पनि प्राथमिकता दिएको जानकारी गराए ।
आगामी वर्षदेखि कक्षा १ देखि ८ कक्षासम्म स्थानीय पाठयक्रम बनाएर पठनपाठन सुरु गरिने पनि उनले जानकारी गराए । पर्यटनलाई पनि उत्तिकै प्राथमिकता दिएको उनको भनाइ छ । पालिकाभित्र भएको बेरुजु दाखिलाका लागि ताकेता गरेर शून्यमा ल्याउने र सार्वजनिक सेवा प्रवाहलाई नागरिकको पहुँचयोग्य बनाउने नीति बनाएको उनको भनाइ छ ।
प्रकाशित : असार १०, २०७९ १४:०८