कर्णालीमा एक वर्षभित्र रोपियो ८ लाखभन्दा बढी बिरुवा

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशभर एक वर्षको अवधिमा ८ लाखभन्दा बढी बिरुवा रोपिएको छ । प्रदेश सरकार तथा विभिन्न गैरसरकारी संस्था तथा संगठनले प्रदेशका विभिन्न सामुदायिक वन, सार्वजनिक क्षेत्रलगायत स्थानमा आठ लाख ७ हजार ६ सय ८० वटा बिरुवा रोपेको कर्णाली प्रदेश वन निर्देशनालयले जनाएको छ ।

कर्णालीमा एक वर्षभित्र रोपियो ८ लाखभन्दा बढी बिरुवा

निर्देशनालयका सहायक वन अधिकृत एवम् सूचना अधिकारी नवराज पौडेलले प्रदेशभर ५४ दशमलव ८ हेक्टर जमिनमा वृक्षारोपण गरिएको बताए । उनका अनुसार प्रतिहेक्टर करिब १६ सय बिरुवा रोपिएको हो । चालू आर्थिक वर्षमा भने मनसुन ढिला गरी सुरु भएकाले वृक्षारोपण नगरिएको उनको भनाइ छ ।

मनसुन भित्रिएलगत्तै प्रदेश सरकारले छुट्याएको स्थानमा वृक्षारोपण गरिने सूचना अधिकारी पौडेलले बताए । सरकारले सबै जिल्लामा ब्लक वृक्षारोपण गर्ने तयारी गरेको उनको भनाइ छ । ‘सबै जिल्लाबाट हामीलाई वृक्षारोपणको तथ्यांक आएको छैन,’ उनले भने, ‘सबै जिल्लाबाट आएको खण्डमा योभन्दा बढी संख्यामा वृक्षारोपण भएको हुन सक्छ ।’ सूचना अधिकारी पौडेलका अनुसार सुर्खेत र रुकुमपश्चिममा मात्रै रोपिएको बिरुवाको तथ्यांक आइपुगेको छ ।

प्रदेश सरकारले जडिबुटीजन्य, काष्ठजन्य र डाले घाँसका बिरुवा रोपिएको जनाएको छ । प्रदेश वन निर्देशनालयका अनुसार टिमुर, तेजपात, ओखर, सिसौ, खयर, बकाइनो, अमला, इपिलिपिल, रिट्ठा सल्लोलगायत बिरुवा रोपिएको हो ।

निर्देशनालयले प्रदेश नर्सरीबाट ८ लाख २२ हजार बिरुवा उत्पादन उत्पादन गरी सार्वजनिक संस्था र किसानलाई नि:शुल्क वितरण गरेको जनाएको छ । जडिबुटी, सजावटी, डाले र काष्ठजन्य विरुवा वितरण भएको निर्देशनालयले जनाएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्षका रुपमा मनाउने घोषणा पनि गरेको छ । यसअघि वार्षिक करिब ८ लाख बिरुवा रोप्दै आएको प्रदेश सरकारले आगामी वर्षदेखि १५ लाख बिरुवा रोप्ने लक्ष्य राखेको छ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा उक्त योजनालाई समेटेको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्षका रुपमा मनाउन लागिएको बताए । उनले कर्णाली प्रदेशको राजधानीलाई दिगो वातावरणमैत्री बनाउनेतर्फ प्रदेश सरकारले विशेष ध्यान दिइरहेको बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले तीन ‘स’ लाई आधार मानेर वृक्षारोपण अभियान सुरु गर्न लागिएको बताए । ‘सुरक्षा, संरक्षण र स्वच्छतालाई ध्यानमा राखेर वृक्षारोपण अभियानको सुरुवात गरिएको हो,’ उनले भने, ‘आगामी आर्थिक वर्षभरि कर्णालीका १० वटै जिल्लामा यसलाई अभियानका रुपमा सञ्चालन गर्छौं ।’

प्रकाशित : असार ९, २०७९ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?