आयुर्वेद केन्द्रमा एउटै औषधि छैन

पछिल्लो समय आयुर्वेद औषधिप्रति बिरामीको आकर्षण बढे पनि औषधि नहुँदा उनीहरु मर्कामा
डीबी बुढा

जुम्ला — चन्दननाथ नगरपालिका–१० स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेदिकका सबैखाले औषधिको अभाव भएपछि बिरामी रित्तो हात फर्कन बाध्य छन् । केन्द्रमा दैनिक ३० देखि ५० जनासम्म बिरामी उपचारका लागि जाने गरे पनि औषधि पाइँदैन । स्वास्थ्य केन्द्रमा अनिवार्य रुपमा हुनुपर्ने २३ प्रकारका आयुर्वेदिक औषधीमा कुनै पनि छैनन् ।

आयुर्वेद केन्द्रमा एउटै औषधि छैन

केन्द्रमा सबैभन्दा बढी दीर्घरोगीहरू उपचारका लागि जान्छन् । ‘स्वास्थ्यकर्मीले चेक गर्छन्, अनि औषधि छैन भन्दै पठाउँछन्,’ स्थानीय पूर्णलाल खत्रीले भने, ‘औषधि नभएको केन्द्रमा जाने र फर्किने काम मात्र हुन्छ ।’ उनले पछिल्लो समय आयुर्वेद औषधिप्रति बिरामीको आकर्षण बढे पनि औषधि नहुँदा उनीहरू मर्कामा परेको बताए । उनका अनुसार जिल्लामा आयुर्वेद औषधालयसमेत नहुँदा बिरामीलाई सुर्खेत र नेपालगन्जबाट औषधि मगाएर सेवन गर्नुपर्ने बाध्यता छ ।

केन्द्र ५ महिनादेखि प्रमुखविहीन छ । तत्कालीन कार्यालय प्रमुख देवेन्द्र ठाकुर सरुवा भए पनि अहिलेसम्म उनको ठाउँमा कसैलाई पठाइएको थिएन । प्रदेशको सामाजिक विकास मन्त्रालयले वुधवार जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटालाई आर्युवेदिक स्वास्थ्य केन्द्र हेर्न जिम्मा दिएको छ । ठाकुरको गत पुसमा सरुवा भएको थियो । कार्यालय प्रमुख नहुँदा आर्थिक र प्रशासनिक काम पनि ठप्प भएको कर्मचारीहरूको भनाइ छ । ‘औषधि सकिएको छ, खरिद गर्ने अधिकार पनि छैन,’ वैद्य गोरखबहादुर रावतले भने, ‘बिरामी रित्तो हात फर्काउनुको पीडा हामीलाई पनि छ, ५ महिनाअघि ल्याएको औषधि, प्रयोगशालाका सामान र फर्निचरको भुक्तानी गर्न पनि बाँकी छ ।’ उनले पहिले खरिद गरेको औषधि सबै सकिएको जनाए । ५ महिनादेखि आफूहरूले तलबसमेत नपाएको उनको गुनासो छ ।

नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्थापना भएको स्वास्थ्य केन्द्र धरापमा पर्दा पनि स्थानीय सरकार मौन बसेको स्थानीय अगुवा राजुशरण न्यौपानेले बताए । उनका अनुसार केन्द्रमा कर्मचारी, औषधि र पूर्वाधारको अभाव हुँदा केन्द्र नै धरापमा परेको छ । उनले भने, ‘उपचार गर्न आएका बिरामी औषधिबिनै खाली हात फर्कनुपरेको छ ।’

सामाजिक विकास मन्त्रालयले यो वर्ष केन्द्रको भवन मर्मतका लागि २० लाख र नयाँ भवनको डीपीआरका लागि ५ लाख रुपैयाँ छुट्याएको छ । तर कार्यालय प्रमुख नहुँदा दुवै काम सुरु हुन नसकेको वैद्य रावतले बताए । उनका अनुसार नागरिक आरोग्य केन्द्र स्थापनाको काम पनि अलपत्र परेको छ । ‘एक साताभित्र सरकारले कार्यालय प्रमुख नपठाए सबै रकम फ्रिज जाने जोखिम छ,’ उनले भने, ‘आर्थिक अख्तियारी नहुँदा घरभाडा, बिजुली महसुललगायत सामान्य खर्च पनि गर्न नसकिने अवस्था आयो ।’ उनका अनुसार केन्द्रमा दुई जना स्थायी र १३ करारका कर्मचारी छन् । आयुर्वेदिक केन्द्रमा लेखापाल पनि नभएपछि कोलेनिकाका लेखपालले काम चलाएका छन् । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले आयुर्वेद अस्पतालको समस्या समाधान गर्न प्रदेश सरकारसँग समन्वय भइरहेको बताइन् ।

प्रकाशित : असार ९, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?