खडेरीले खायो बाली

‘असार लागे पनि पानी नपरेपछि धान रोप्न मुस्किल भएको छ’

मुगु, सल्यान — लामो खडेरीका कारण अन्नबाली सुक्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । असार सुरु भइसक्दा पनि वर्षा नहुँदा खेतबारीमा रोपेको धान, चैते कोदो, कागुनो सुक्दै गएको छ ।

खडेरीले खायो बाली

खडेरीका कारण सीमित अन्नबाली मात्र नभएर बारीमा लगाएको खुर्सानी, टमाटर, प्याज, लसुन, फर्सी, काँक्रोलगायत बिरुवा सुकेका छन् । खडेरीले धानको बेर्नासमेत सुक्न थालेपछि किसानलाई रोपाइँ गर्न गाह्रो हुन थालेको छायानाथरारा नगरपालिकास्थित रुगागाउँकी हजारमति लावडले बताइन् । ‘आकाशबाट पानी आउँदैन, खडेरीले खेतबारीको सबै बाली सुक्न थाल्यो,’ उनले भनिन्, ‘असार लागे पनि पानी नपरेपछि धान रोप्न मुस्किल भएको छ ।’

सिँचाइ कुलोको सुविधा भएका किसानले खेतबारीमा पानी हालेर अन्नबाली जोगाउन थालेका छन् । सिँचाइबाट वञ्चित किसान आकाशे पानीको प्रतीक्षामा बसेका छन् । खडेरीले पानीका मुहानसमेत सुक्न थालेको र कर्णाली नदीको बहाव पनि घट्दै गएको लावडले बताइन् । खडेरीले कुलोको पानी सुक्न थालेपछि रोपाइँ गर्न मुस्किल हुने अवस्था आएको सोरु गाउँपालिका–४ का अक्क बुढाको भनाइ छ । उनका अनुसार लेकाली बस्तीमा चिस्यानका कारण अन्नबालीको बोट हरियो देखिए पनि बेंसीतिरका रुघा, थार्प, कार्कीबाडा, भामबाडा, रोवालगायत गाउँ अन्नबाली घाममा सुकेर पहेँला बन्दै गएका छन् ।

‘असार लाग्यो, पानी नै पर्दैन, पानी पर्छ कि भनेर आकासतिर हेर्ने काम मात्र भएको छ,’ उनले भने, ‘कहिलेकाँही आकाशमा बादल देखिन्छ तर डाँडाकाँडातिर हल्का पानी परेर बादल फाट्छ ।’ खडेरीले वनपाखाको घाँस सुकेपछि गाईभैंसी, भेडाबाख्रा र घोडाखच्चर चराउन समस्या भएको उनको भनाइ छ । खडेरीका कारण फलफूलका बोट पनि ओइलाउँदै गएको स्थानीय मञ्जन कार्कीले बताए । उनका अनुसार पानी पार्न स्थानीयले देउताका थानहरूमा पूजा गर्न थालेका छन् ।

‘असार लागि सक्दा पनि वर्षा नहुने संकेत देखा परेपछि कुल देउता र अन्य देउताका थानहरूमा भाकल गर्न थालेका छौं,’ उनले भने, ‘१/२ दिनभित्र पानी नपरे यो वर्ष अन्न उत्पादन शून्य हुने देखियो ।’ मनसुन भित्रिसकेकाले यही साता वर्षा सुरु हुने अनुमान रहेको जिल्ला कृषि विकास अधिकृत खेमराज शाहीले बताए ।

खडेरीले रोपाइँ भएन

सल्यानको छत्रेश्वरी गाउँपालिका–६ का मीनबहादुर खत्रीले एक साताअघि खेत जोतेर रोपाइँका लागि तयार पारेका छन् । ‘पानी नपर्दा जोतेको खेत पनि सुक्यो,’ उनले भने, ‘पानी पर्ला कि भनेर खनजोत गरियो, ब्याड राखेको बीउ पनि खडेरीले ओइलाउन लाग्यो, यस्तै खडेरी परे साउनअघि रोपाइँ नहुने देखियो ।’ गत वर्ष यतिबेला सबै खेत रोपिसकेका शारदा नगरपालिका–१ शान्तिनगरका हेरम बुढाथोकी पनि आकासे पानीको प्रतीक्षामा छन् ।

गत वर्ष असार पहिलो सातासम्म सल्यानमा झन्डै ९० प्रतिशत रोपाइँ सकिएको थियो । तर यो वर्ष मुस्किलले २५ प्रतिशत मात्र रोपाइँ हुन सकेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । ‘खडेरीका कारण ब्याडसमेत सुक्न थाल्यो,’ बुढाथोकीले भने, ‘जोतिसकेका खेतहरू फाटेर धुजाधुजा परेका छन् ।’ खडेरीका कारण रोपाइँ सकिएका खेतमा पनि सिँचाइ समस्या भएको छत्रेश्वरी–६ की सुशीला घर्तीले बताइन् । ‘सिँचाइ सुविधा छ भनेर हतारहतार रोपाइँ गरियो, तर अहिले शारदा नदी सुकेपछि रोपो सुक्न थालेको छ,’ उनले भनिन्, ‘कुलोमा सानो पानी आउँदा खेतमा पानी लगाउन कम्तीमा एक साता कुर्नुपर्ने बाध्यता भयो ।’

शारदा नदी किनारको चैबाङज्युलाका सबै खेत अहिले बाँझै छन् । ‘आकासबाट वर्षा हुँदैन, नदीमा पानी सुक्यो,’ स्थानीय कमलबहादुर विकले भने, ‘पोहरसाल यति बेला सबै जिउलोमा रोपाइँ सकिएको थियो, अहिले कसैले पनि सुरु गरेका छैनौं ।’ उनका अनुसार जिउलोमा झण्डै १ सय ५० परिवारका खेतहरू छन् । सबैले २ देखि ५ पाथीसम्मको धानको बीउ राखेको उनले जानकारी दिए । खडेरीका कारण पाखाबारीमा लगाएको मकैसमेत सुक्न थालेको उनको गुनासो छ ।

कृषि विकास कार्यालयका सूचना अधिकारी रेशमबहादुर बस्नेतले खडेरीका कारण किसानहरू मारमा परेको बताए । उनका अनुसार अहिले जिल्लाका सबैजसो ठूला फाँटहरू बाँझा छन् । ‘ब्याडको बीउ त हुर्किसकेको छ, तर वर्षा नहुँदा सबैतिर रोपाइँ रोकियो,’ उनले भने, ‘सिँचाइको सुविधा पर्याप्त भएका किसानले मात्र अहिलेसम्म रोपाइँ सकेका छन् ।’ उनका अनुसार गत वर्ष यही समयसम्ममा ९० प्रतिशत रोपाइँ सकिएकोमा यो वर्ष करिब २५ प्रतिशत मात्र रोपाइ सकिएको छ । सल्यानमा बर्सेनि ७ हजार ८४ हेक्टर जग्गामा धानखेती हुने गरेको कार्यालयको तथ्यांक छ ।

प्रकाशित : असार ९, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?