सुर्खेतमा जिप दुर्घटना : एकको मृत्यु, चार घाइते- कर्णाली - कान्तिपुर समाचार

सुर्खेतमा जिप दुर्घटना : एकको मृत्यु, चार घाइते

हरिहरसिंह राठौर

सुर्खेत — सुर्खेत–दैलेख सडक खण्डस्थित कपासे नजिकै बोलेरो जिप दुर्घटना हुँदा जल तथा मौसम विज्ञान विभाग, कोहलपुरमा कार्यरत ईन्जिनियरका धर्मराज बुढाथेकीको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

पश्चिम रुकुम चौरजहारी निवासी २८ वर्षीय बुढाथोकी दैलेख सुर्खेत सिमाना रातानाङलामा रहेको मौसमी राडारको मर्मत सकेर वीरेन्द्रनगरतर्फ फर्किँदै थिए ।

वा १ झ ८७८४ नम्बरको बोलेरो जिप सडकबाट करिब २० मिटर तल खसेको उद्धारमा संलग्न सशस्त्र प्रहरी बल रक्तकाली गण बांगेसिमलका एसपी बिमल डांगीले बताए ।

प्रहरीका अनुसार घाइतेहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । ओभर स्पिडका कारण जिप दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाए पनि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित : असार ८, २०७९ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्

बुवालाई कलेजो दान दिएका छोरा भन्छन्- ‘बाँच्नुहुन्न भन्ने लागेको थियो’

बुनु थारु

काठमाडौँ — मोरङका २७ वर्षीय सञ्जय भण्डारीलाई आफ्नो बुवालाई कलेजो दान गर्नुपर्ने भएपछि दुईटा कुराको डर थियो– म्याच भएन भने के गर्ने र अप्रेसन नै थेग्न नसके के हुने ? बुवा बेलाबखत सिकिस्त बिरामी परिरहने भएकाले पनि कमजोर शरीरले यति ठूलो शल्यक्रिया थेग्छ वा थेग्दैन भन्ने मुख्य द्विविदा सञ्जयलाई थियो ।

अहिले भने सञ्जयको डर हटेको छ । उनको छेवमै बुवा शल्यक्रियापछि मुस्कुराउँदै बात मारिरहेका छन् । शल्यक्रिया अघि बुवा यति टाठोबाठो हुनुहोला भन्ने कल्पनासम्म पनि गर्न सकेका थिएनन् उनले ।

वैशाख २५ गते सञ्जयले ४५ वर्षीय बुवा डम्बरबहादुर भण्डारीलाई कलेजो दान गरेका हुन् । डम्बर अहिले घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । स्वास्थ्यमा सुधार आएको छ । चार वर्ष अघि कलेजोमा सिरोसिस देखिएसँगै उनको अस्पताल बसाइँ कहिलो लामो हुन्थ्यो त कहिले छोटो । क्षणमै केही नभएझैं ठिकठाक देखिन्थे त क्षण भरमै सिकिस्त भएर आईसीयू पुर्‍याइन्थे ।

त्यतिबेलाको अवस्थामा परिवारले उनी बाँच्ने आशा मारिसकेको थियो । तर, कलेजो प्रत्यारोपणपछि भने उनी तंग्रिदै गएका छन् ।

डम्बरबहादुर पेशाले म्यानपावर व्यवसायी हुन् । चार वर्षअघि एक्कासी उनलाई पेट दुख्न थाल्यो । सँगै दिसा पनि कालो आउन थाल्यो । विराटनगर स्थायी निवासी उनी सुरुमा जाँच गराउन धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे । त्यहाँ कलेजोको समस्या भनेर पुष्टि भयो । चिकित्सकले उनलाई रक्सी सेवनका कारण ‘लिभर सिरोसिस’ भएको निदान गरे । डम्बरलाई उपचारकै लागि भारतको चेन्नई पनि लगियो ।

सिरोसिसका कारण बिग्रिएको डम्बरको कलेजोले विस्तारै काम गर्न छोड्न थाल्यो । उपचारका लागि चेन्नई पुग्दासम्म उनको कलेजो फेल नै भइसकेको थियो । चेन्नईको अस्पतालले उनलाई सकेसम्म छिटो कलेजो प्रत्यारोपण गर्न सुझाव दियो । भारतमा प्रत्यारोपणको शुल्क थियो ३५ लाख भारु ।

अस्पताल चाहर्दाचाहर्दै करिब १२ लाख नेपाली रुपैयाँ सकिसकेका डम्बरका परिवारका लागि त्यति ठूलो रकम तत्काल जोहो गर्न गाह्रो थियो । त्यसलै प्रत्यारोपण सहज हुने स्थानको खोजी गर्दै उनी त्रिवि शिक्षण अस्पताल पुगे । शिक्षण अस्पतालमा जाँच गराइसकेपछि त्यहीँ प्रत्यारोपण गर्ने निधोमा उनको परिवार पुग्यो ।

प्रत्यारोपण नेपालमै गर्ने टुंगो लागेसँगै कलेजो दान परिवारको कसले गर्ने भन्ने प्रश्न खडा भयो । परिवारमा श्रीमती, छोरा–बुहारी, छोरी भएका डम्बरलाई छोरो सञ्जयले नै कलेजो दान गर्ने तय भयो । परीक्षणको क्रममा उनको कलेजो बुवासँग म्याच पनि भयो । त्यसपछि भने सञ्जयलाई चिकित्सकहरुले कलेजो दानको प्रक्रिया र जोखिमका बारेमा अवगत गराए ।

केलेजो प्रत्यारोपण गरिएका डम्बरबहादुर । तस्बिर : अंगद ढकाल

कलेजो प्रत्यारोपणको दिन सञ्जयलाई डरभन्दा बढी बुवा ठिक भए हुन्थ्यो भन्ने लगोको थियो रे । त्यो क्षण सम्झँदै उनले भने– ‘अप्रेशन थियटरमा जाँदा त हाँस्दै गएको हो । शल्यक्रियाको भोलिपल्ट भने छाति भारी भएजस्तो भयो । सास फेर्न गाह्रो भएजस्तो हुन थाल्यो । २–३ दिन राम्ररी निद्रा पनि लागेन । तर पछि सबै सामान्य भयो । बुवा पहिलेजस्तै हुनुभयो । अहिले राम्रो छ ।’

पेशाले शिक्षक सञ्जय बुवाको प्रत्यारोपणको लागि जागिर छोडेर स्याहारमा लागेका छन् । हाल बाबु–छोरा बालुवाटरमा एक आफन्तको घरमा बसिरहेका छन् । सञ्जय अब दशैँपछि मात्रै नयाँ काम सुरु गर्ने योजनामा छन् ।

उनले खुसी हुँदै भने– ‘मभन्दा पनि एक्टिभ देखिनुहुन्छ । लाइफको सेकेन्ड इनिङ हो उहाँको ।’

प्रत्यारोपणपछि डम्बरलाई डिस्चार्ज भएको दुई दिनमा पेट दुख्यो । दुई दिन अस्पताल बसे अहिले भने उनलाई कुनै समस्या देखिएको छैन । घरमै पकाएको मात्र खाइरहेका छन् । चिकित्सकको निरन्तर फलोअपमा गइरहेका छन् । छोराले पुर्नजीवन दिएकोमा कृतज्ञ छन् उनी । ६ महिनासम्म बेडरेस्ट गरेपछि काममा फर्किने सोचेका छन् उनले पनि । ‘यसले छोरो हुनुको कर्तव्य पुरा गर्‍यो । बचायो । दोस्रो जुनी दियो,’ डम्बरले छोरोको कपाल मुसार्दै भने ।

श्रीमान् मृत्युको मुखबाट फर्किएर तंग्रिएको देख्दा श्रीमती उर्मिला पनि खुसी छिन् । ‘बाँच्नुहुन्न भनेर आश मारेको मान्छे फेरी फर्किनुभयो । मैले त चाहेर पनि दान गर्नसक्ने अवस्थामा थिइँन । छोरोले बचायो ।’


प्रकाशित : असार ८, २०७९ १९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×