कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

जुम्लामा नुनका गोदाम रित्तै

डीबी बुढा

जुम्ला — कर्णाली राजमार्ग सञ्चालन भएपछि पहिलो पटक जुम्लामा नुनका गोदाम रित्तिएका छन् । कर्णाली राजमार्ग पुग्नुभन्दा अघि यहाँ नुनको विषयलाई लिएर राजनीतिक खिचातानी नै हुने गर्थ्यो ।

जुम्लामा नुनका गोदाम रित्तै

सडक विस्तारसँगै पहुँचवालाले मात्र नुन पाउने अवस्था अन्त्य भएर सहज रुपमा आम नागरिकले पनि नुन पाउने अवस्था भएको थियो । तर यसपटक झण्डै दुई दशकपछि यहाँका नुन गोदाम खाली भएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले जुम्लामा भरिभराउ नुनका गोदाम रित्तिएको बताए । उनले भने, ‘सडक पुगेपछि पहिलो पटक नुन अभाव देखियो । गोदाम रित्तो बने । सेवाग्राहीलाई पर्याप्त नुन दिएर चित्त बुझाउन कठिन छ ।’

जुम्लामा तीन वटा डिपो छन् । खलंगास्थित डिपोमा १ सय ७९ क्विन्टल मात्र नुन मौज्दात छ । मौज्दात हेर्दा असार अन्तिमसम्म पनि पुर्‍याउन सकिने अवस्था नरहेको कर्पोरेसनका प्रमुख मल्ल बताउँछन् ।

दैनिक नुन लिने सेवाग्राहीको संख्या डेढ सय जति पुग्छ । मल्लका अनुसार प्रतिव्यक्ति पाँच केजी मात्र नुन दिने गरिएको छ । हप्ताको आइतबार, मंगलबार र बिहीबार गरेर तीन दिन मात्र डिपो खुला रहन्छ ।

चालु आर्थिक वर्षमा जुम्लाको लागि ३ हजार क्विन्टल नुनको कोटा तोकिएको थियो । कोटा अनुसारको नुन समयमै पुगेर बिक्री भइसकेको छ । प्रदेश कार्यालयले नुनको अभावलाई मध्यनजर गर्दै २ हजार ३ सय क्विन्टल कोटा थपेको छ । तर नुनको ढुवानी गर्ने जिम्मा पाएको ठेकेदारले ढुवानी गर्न मानिरहेको छैन् । नेपालगञ्जका ठेकेदार तुरुणध्वज खाणले नुन ढुवानीको जिम्मेवारी पाएका छन् ।

ठेकेदारसँग प्रतिकेजी ६ रुपैयाँमा ढुवानी गर्ने सम्झौता छ । अहिले पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँगै ढुवानी भाडा बढेको छ । बढेको भाडामा ढुवानी गर्दा ठेकेदारलाई प्रति ट्रिप १७ हजार रुपैयाँ घाटा हुन्छ । ठेकेदारले अहिले बढेको महंगीको आधारमा ढुवानी भाडा वृद्धि हुनुपर्ने अडान राखेका छन् । नत्र सम्झौता अनुसारको मूल्यमा नुन ढुवानी गर्न असमर्थ जनाएका छन् । प्रमुख मल्लले भने, ‘अहिलेको भाडामा ढुवानी गर्न नसकिने ठेकेदारको अडान छ । यसो गर्दा अझै केही दिन नुन ढुवानी हुने अवस्था देखिँदैन ।’

हाल जुम्लाको नराकोट डिपो खाली भइसकेको छ । नुन लिन आएका सेवाग्राही रित्तो हात फर्किने गरेका छन् । बजारको महंगो नुन किन्नु पर्ने बाध्यता आइलागेको स्थानीयको गुनासो छ । कनकासुन्दरी डिपोमा २३४ क्विन्टल नुन मौज्दात छ । यो पनि पर्याप्त होइन ।

'मौज्दात रहेको नुन जेनतेन यो महिना पुग्ला,' कार्यालय प्रमुख मल्लले भने, ‘अर्को महिनादेखि सबै गोदाम रित्तो नै हुने अवस्था छ ।’ जुम्लामा एक नगरपालिकासहित ७ गाउँपालिका छन् । नगरपालिकासहित ५ पालिकाले सदरमुकाम खलंगाको डिपोबाट नुन लैजान्छन् । कनकासुन्दरी, सिंजा र हिमाका स्थानीयले नराकोट र कनकासुन्दरी डिपोबाट नुन लिन्छन् ।

साल्टट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख मनोजकुमार चौधरीले जुम्ला बाहेक कर्णालीका हुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्लामा नुनको अभाव नभएको बताए । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठेकेदारले नुन ढुवानी गर्न मानिरहेको छैनन् । उनले भने, ‘छिटो नुन ढुवानी गर्न ताकेता भइरहेको छ । ठेकेदारले पनि ढुवानी गर्न सुरु गर्ने भनेका छन् । जुम्लाको लागि अब नुन छिट्टै ढुवानी होला ।’

प्रमुख चौधरीले यो महिनाभित्रै नुन ढुवानी गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै जुम्लावासीलाई नुनको अभाव झेल्नुपर्ने अवस्था आउन नदिनेमा सतर्क रहेको चौधरीले बताए ।

प्रकाशित : असार ८, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?