महँगीले विपन्नलाई छाक टार्नै धौ

‘अब त आफ्नै बारीमा फलाए खान पाइने भो, नत्र भोकभोकै’
डीबी बुढा

जुम्ला — सिंजाका खड्कबहादुर कार्कीले दैनिक उपभोग्य वस्तु किन्न छाडेका छन् । ‘जेको पनि भाउ बढेको बढ्यै छ, हामी गरिबले कसरी किन्ने ?,’ उनले भने, ‘अब त खोले सिस्नो खाएरै बस्नुको विकल्प भएन ।’

महँगीले विपन्नलाई छाक टार्नै धौ

उनका छिमेकी रणबहादुर कार्कीले पनि नुनबाहेक अरु उपभोग्य सामान नकिनेको एक महिना बित्न थाल्यो । ‘पहिले सयमा भान्सा चल्थ्यो, अहिले हजारमा पुग्यो,’ उनले भने, ‘महँगी अचाक्ली बढ्दै गयो, सबै समस्या हामी गरिबले मात्र झेल्नुपर्छ ।’

बजारमा चामल, तेल, नुन, चिनी, मैदा, मासुलगायतको भाउ बढेपछि जुम्लीहरूको भान्सा महँगिएको छ नै कम आय हुने परिवार समस्यामा परेका छन् । ‘सरकार फेरिए, व्यवस्था बदलिए, तर जनताको भान्सा कहिल्यै सस्तो भएन,’ खडकबहादुरले भने, ‘अब त आफ्नै बारीमा फलाए खान पाइने भो, नत्र भोकभोकै ।’

व्यापारीहरूले बजेटअघि जुम्लामा लाखौं मूल्यका सामान लुकाएका थिए । अहिले सबैजसो सामानमा २५ प्रतिशतसम्म मूल्य बढेको स्थानीय कमल न्यौपानेले बताए । ‘डिलरमै महिनौंदेखि थन्काएर राखेको सामानलाई चर्को मुल्यमा बेचिरहेका छन्,’ उनले भने, ‘प्रशासन मौन छ, वर्षा लाग्यो अब त झन् मूल्य बढ्छ होला ।’ वर्षायाम सुरु भएसँगै बर्षेनि ढुवानी समस्या देखाउँदै व्यापारीले आफूखुसी मूल्य बढाउने गरेको उनले बताए । व्यापारीले विपन्नको दुःख र कठिन समयलाई कमाउने अवसरका रूपमा उपयोग विडम्बना भएको उनको भनाइ छ ।

जुम्लाका व्यापारिक केन्द्रहरूमा सबैभन्दा बढी तेलको मूल्य बढेको छ । होलसेल र डिलरहरूले पटकैपिच्छे मूल्य बढाउँदा आफूहरू पनि मर्कामा परेको खलंगा बजारमा खुद्रा पसल चलाउँदै आएकी धनलक्ष्मी सार्कीले बताइन् । उनका अनुसार पहिले १ सय ५० रुपैयाँमा किनबेच हुँदै आएको खाने तेलको मूल्य अहिले २ सय रुपैयाँ पुगेको छ । त्यस्तै चिनी १ सय २० रुपैयाँ, चामल ७२ देखि ८० रुपैयाँ प्रतिकिलोसम्म पुगेको उनको भनाइ छ ।

५ किलो आटाको मूल्य यसअघि २ सय ५० रहेकोमा अहिले ३ सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ । ‘हामी त किलोमा १०/१५ रुपैयाँ नाफा खाएर मात्र बेच्छौं,’ उनले भनिन्, ‘कमाउने जति ठूला व्यापारीले कमाउने भए, हामीलाई पनि सानो व्यापारले गुजारा चलाउन मुस्किल छ ।’ पशुपति जनरल स्टोरका सञ्चालक डिल्लीप्रसाद पाण्डेले महँगीले उपभोक्ता र साना व्यापारी मर्कामा परेको बताए ।

कम्पनीहरूले नै मूल्य बढाएर सामान पठाइरहेको जुम्लाका होलसेल व्यापारी मीनप्रसाद पौडेलले बताए । ‘सबै आयतित सामान भएकोले मुल्य बढेरै आउने गर्छ,’ उनले भने, ‘हामीले त झन् एमआरपी मूल्यमा पनि केही प्रतिशत छोडेर सामान बेचिरहेका छौं ।’ महँगी बढे पनि सबै व्यापारीको प्रतिस्पर्धा हुँदा आएको सामान १/२ दिनमै सकिने उनले जानकारी दिए ।

जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष पुरीचन्द्र देवकोटाले मुल्यबृद्धिका नाममा कालोबजारी भने नभएको बताए । उनले सरकारले तेलहरूमा विभिन्न समयमा मुल्य बृद्धि गरेको बताउँदै बाहिरबाट आउने खाद्यवस्तुमा ढुवानी र केही नाफा मात्र जोडेर बिक्री गर्न व्यापारीहरूलाई भनिएको जनाए । ‘स्थानीय बजारमा कुनै सामान उत्पादन हुँदैन, सबै बाहिरबाट आउने हो,’ उनले भने, ‘सामानको मूल्य बढेसँगै एक महिनायता जुम्लीहरूको भान्सा पनि महँगिएको छ ।’ सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको विषयमा गुनासो आएको बताइन् । ‘छिट्टै बजार अनुगमन गछौं,’ उनले भनिन् ।

तातोपानी गाउँपालिका–५ का पूर्णप्रसाद चौलागार्इंले खाद्यवस्तुको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको बताए । ‘सरकार हरेक बजेटमा कर्मचारीको तलब बढाउँछ,’ उनले भने, ‘जनतालाई भने मूल्यवृद्धिले लखतरान बनाएको छ, सरकारले तत्काल जनताको चुलो सस्तो बनाउन जरुरी छ ।’

प्रकाशित : असार ८, २०७९ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?