२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

सुर्खेतका ४९ हजार बालबालिकालाई फाइजर खोप लगाइँदै

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतका ५ वर्षदेखि ११ वर्ष मुनिका ४९ हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाइने भएको छ ।

सुर्खेतका ४९ हजार बालबालिकालाई फाइजर खोप लगाइँदै

असार ९ गतेदेखि १५ गतेसम्म ५ वर्षदेखि ११ वर्षमुनिका ४९ हजार ६१९ जना बालबालिकालाई फाइजर खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमका अनुसार फाइजर खोप कर्णाली प्रदेशको सुर्खेतमा मात्रै यही असार ९ गतेदेखि लगाइने भएको हो । त्यसका लागि जिल्लाका सबै स्वास्थ्यकर्मीहरूलाई तालिम पनि दिइसकिएको उनको भनाइ छ । यस अवधिमा खोप लगाउन छुटेकालाई अन्तिम दिन स्वास्थ्य केन्द्रमा खोप लगाइने छ ।

यस्तै, पहिलो खोप लगाएको २१ दिनदेखि २८ दिनपछि दोस्रो मात्राको खोप लगाइनेछ । कार्यालयको तथ्यांक अनुसार जिल्लाको कूल जनसंख्या ३ लाख ६१ हजार ८३५ मध्ये ५ वर्षदेखि ११ वर्षमुनिका बालबालिकाको संख्या ४९ हजार ६१९ रहेको छ ।

जसमध्ये बराहताल गाउँपालिकामा चार हजार २४ जना, भेरीगंगा नगरपालिकामा ६ हजार ६९ जना, वीरेन्द्रनगर नगरपालिकामा ११ हजार ५५२ जना, चौकुने गाउँपालिकामा चार हजार ४७६ जना बालबालिकालाई फाइजर खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, चिंगाड गाउँपालिकामा ३ हजार १६ जना, गुर्भाकोट नगरपालिकामा ६ हजार ६७५ जना, लेकबेसी नगरपालिकामा ४ हजार ३३८ जना, पञ्चपुरी नगरपालिकामा ५ हजार ४४७ जना र सिम्ता गाउँपालिकामा ४ हजार २४ जना बालबालिकालाई खोप लगाइने छ ।

प्रकाशित : असार ७, २०७९ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?