१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

मकैमा फौजीकिरा

रूकुम पश्चिमका ६ वटै स्थानीय तहमा देखिएको फौजीकिराको प्रकोपले किसान चिन्तित
हरि गौतम

रुकुम पश्चिम — बारीमा लगाइएको मकै बालीमा अमेरिकन फौजीकिराको प्रकोप बढेको छ । जिल्लाका अधिकांश भागको मकैमा फौजीकिराको प्रकोप सुरु भएको छ । फौजीकिराले मकै नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

मकैमा फौजीकिरा

खेतबारीमा लगाइएका मकैमा फौजीकिरा लागी मकै नष्ट गर्न थालेपछि किसानलाई समस्या भएको छ । जिल्लाका ६ वटै स्थानीय तहमा फौजीकिराको प्रकोप देखिएको छ । सबभन्दा बढी सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकामा यसको प्रकोप देखिएको छ । मकैमा फौजीकिराले क्षति गरिरहेको सानीभेरी गाउँपालिका–६, का किसान डिलबहादुर पुनले बताए । साता दिनयता मकैमा फौजीकिरा बाक्लिएको र त्यसले चिन्ता बढाएको पुनले बताए ।

सानीभेरी गाउँपालिका कृषि शाखाका प्राविधिक विष्णुकुमार डाँगीले फौजीकिराको कारण मकैमा क्षति पुग्दै गएको बताए । गाउँपालिकाभर कति क्षति भएको छ भन्ने कुरा संकलन नभएको भए पनि सबैतिर किराले क्षति गरेको खबर आइरहेको डाँगीले बताए । किरा रोकथामका लागि विषादी छर्किने अरू विधिका लागि किसानहरूलाई अनुरोध गरिएको छ । गाउँपालिकाको कृषि शाखाले सबैलाई किराबाट बच्ने उपायबारे ध्यान दिन भनिरहेको छ । अरू स्थानीय तहका कृषि शाखाले पनि फौजीकिराको नियन्त्रणको प्रयास गरिरहेको बताएका छन् । मुसीकोट कृषि शाखा प्रमुख प्रेमबहादुर खत्रीले केही दिन रहने यो किराले मकैमा क्षति गरिरहेको बताए । सबै किसानबाट मकैमा क्षति पुगिरहेको खबर आएकाले त्यसैअनुसार शाखाबाट काम भइरहेको उनले बताए ।

कृषि विकास कार्यालयले पनि फौजीकिराको प्रकोप नियन्त्रणमा प्रयास गरिरहेको जनाएको छ । निमित्त कार्यालय प्रमुख मीनबहादुर केसीले किराको प्रकोप रोक्न प्रयास गर्ने र क्षतिको विवरण संकलनका लागि सबैतिर समन्वय भइरहेको जानकारी दिए । सबै स्थानीय तहसित बैठक गरेरसमेत फौजीकिराको नियन्त्रणका उपायबारे छलफल भएको उनले बताए । प्रकोप नियन्त्रणका लागि स्थानीय तहमा रहेको प्राविधिक खटाउने, किसानलाई सहजीकरण गर्ने काम भइरहेको उनले सुनाए । यसको निश्चित आयु नसकिँदासम्म यो बारीमै रहने हुनाले नियन्त्रणमै ध्यान दिनुपर्ने प्रमुख केसीले बताए । अरु क्षेत्रमा नफैलियोस् भनेर पनि प्रयास गरिरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित : असार ७, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?