कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
चन्दननाथमा फोहोर चुनौती

हरेक वर्ष जम्मा हुने साढे २ लाख केजी फोहोर कसरी व्यवस्थापन गर्ने ?

डीबी बुढा

जुम्ला — जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिका फोहोर व्यवस्थापनमा जुटेको धेरै भयो । हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा फोहोर व्यवस्थापन प्राथमिकतामा पर्छ ।

हरेक वर्ष जम्मा हुने साढे २ लाख केजी फोहोर कसरी व्यवस्थापन गर्ने ?

तैपनि नगरक्षेत्रको फोहोर न उठाउन सकिएको छ न त उठेको फोहोर व्यवस्थापन दिगो रुपमा नै हुन सकेको छ । जताततै फोहोर थुप्रिँदा खलंगाको सौन्दर्य नै खस्कँदै गएको छ ।

अहिले चन्दननाथ नगरपालिकाको खलंगा बजारमा नाक थुनेर हिँडडुल गर्नुपर्ने बाध्यता छ । हरेक घरअघि फोहोर जम्मा गरिएको हुन्छ । नगरपालिकाले समयमै फोहोर उठाउन नसक्दा र फोहोरको वर्गिकरण गर्न नसक्दा समस्या झन् जटिल बन्दै गएको छ । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा जम्मा पारिदिँदा पनि समस्या बढेको बताइन्छ ।

नगरपालिकाका प्रमुख राजुसिंह कठायत फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताउँछन् । सबैको नजर फोहोरमै छ । नहोस् पनि किन ? कुनै बेला कर्णाली प्रदेशकै सुन्दर सहरमध्ये एक सहरको रुपमा चिनिएको जुम्लाको खलंगामा स्थल तथा हवाई मार्गबाट दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक भित्रिन्छन् ।

नगरप्रमुख कठायत भन्छन्, ‘फोहोर नगरपालिकाको लागि सधैँ बल्झिरहने घाउ जस्तै बन्यो । जहिले पनि दुखिरहने ।’ त्यसो त नगरप्रमुख कठायतले मनोनयन दर्ता गर्दा नै प्रतिवद्धता गरेका थिए, 'सुन्दर र हराभरा नगर हुनेछ । जुगाढखोलामा कञ्चन पानी बग्नेछ । खलंगा चिटिक्क परेको हुनेछ । कर्णालीका पर्यटकको आकर्षणको केन्द्र बन्नेछ ।'

तर पछिल्लो समय नगरप्रमुख कठायत फोहोर उठाउन सजिलो नभएको भन्दै नागरिकलाई पनि सचेत हुन आग्रह गर्दै आएका छन् । स्थानीयहरू भने जनप्रतिनिधिलाई फोन गरेरै सेना वा प्रहरी लगाएर फोहोर उठाउन आग्रह दिने गर्छन् ।

यसै क्रममा नगरप्रमुख कठायतले अबको तीन महिनाभित्र सुन्दर हराभरा नगर बनाउने गरी कार्यक्रम तय भइसकेको बताएका छन् । चन्दननाथ नगरपालिकामा ३ हजार ९ सय ९६ परिवार छन् । प्रतिपरिवार १७० ग्राम फोहोर उत्पादन हुन्छ । प्रत्येक दिन नगरपालिकामा ६ सय ७९ केजी फोहोर उठ्छ । प्रतिमहिना २० हजार ३ सय ७९ केजी फोहोर उत्पादन हुँदा प्रतिवर्ष २ लाख ४४ हजार ५ सय ५५ केजी फोहोर संकलन हुन्छ ।

प्रतिदिन कुहिने फोहोर ४ सय ४८ केजी उत्पादन भएकोमा नकुहिने फोहोर २३० केजी उत्पादन भइरहेको हुन्छ । क्रियसन नेपाल नामक संस्थाले गरेको अध्ययन अनुसार फोहोर व्यवस्थापनमा भौतिक पूर्वाधार अभाव मुख्य समस्या छ । नगरवासी ल्याण्डफिल्डमा आश्रित छन् । दैनिक २५० क्युविक फिट मात्र फोहोर उठाउने सवारीसाधन छन् ।

यस्तै सबैभन्दा बढी फोहोर उठ्ने क्षेत्र भने चन्दननाथ नगरपालिकाका ४, ५ र ६ वडा हुन् । क्रियसन नेपालका प्रतिक बर्जाचार्य भन्छन्, ‘जानाजान फोहोर जलाएर प्रदूषण निम्त्याइँदैछ । जसले जलवायुमा असर परिरहेको छ । विभिन्न रोग भित्रिने खतरा बढेको छ । वातवरण दुषित हुनाले जलावायुजन्य प्रकोपको सामान गर्नु परिरहेको छ ।’

बज्राचार्यका अनुसार फोहोर व्यवस्थापनमा दिर्घकालीन विकल्प अघि नसारिँदा पनि समस्या जटिल बन्दै गएको छ । बढ्दो जनसंख्या र सहरीकरण, उपयोगमुखी जीवनशैली, बढ्दो फोहोर उत्पादन साथै व्यवहार परिवर्तन नहुँदा नगरक्षेत्र फोहोरको थुप्रोमा रुमल्लिन पुगेको छ ।

वडाध्यक्ष हेमबहादुर बुढ्थापा भने स्थानीयहरूले आफ्नो घरको फोहोर आफैं व्यवस्थापन गर्नसक्ने गरी व्यवहार सिक्नु पर्ने सुझाव दिन्छन् । यद्यपि यसबारे नगरपालिकाले फोहोरमैला व्यवस्थापनबारे कडा कानुन बनाउँदै गरेको उनी बताउँछन् । 'उत्तरदायी नगरवासीको पहिचान दिलाउन सकौं । चन्दननाथ त त्यत्तिकै हराभरा भइहाल्छ नि !,’ बुड्थापाले भने, 'हामी नै फोहोर उत्पादक हौं, हामीले उत्पादन गरेको फोहोर हामी नै सफा गरौं भन्ने मानसिकताको विकास गरौं । अनि बन्छ फोहोरमैलामुक्त चन्दननाथ ।’

फोहोर व्यवस्थापनको विषयमा अध्ययन गरिरहेकी चन्दननाथ १० की सुशीला कठायत गिरी भन्छिन्, ‘सुन्दर सहर खलंगा फोहोरमा डुबुल्की मारिरहेको देख्दा मन खिन्न त भयो । त्यो भन्दा बढी सरोकारवाला नै फोहोर व्यवस्थापनमा मौन देखिएकोप्रति अचम्म लाग्यो ।’ नगरवासीले फोहोर फाल्नुको सट्टा यसलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्न सके यसबाट आम्दानी गर्न र रोजगार सिर्जना गर्न सकिने सुझाव दिन्छिन् ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत भने सबैभन्दा बढी फोहोर व्यापार-व्यवसायबाट निस्कने गरेको बताउँछन् । ‘नगरक्षेत्र फोहोर हुनुको प्रमुख दोषी व्यापारी नै हुन् । उद्योग बाणिज्य संघ जुम्लासँग समन्वय गरेर डिलरवाला व्यापारीलाई जिम्मेवार बनाउनुपर्छ,’ महतले भने ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मात्रै दैनिक ८० केजीदेखि १ क्वीन्टलसम्म फोहोर निस्कने गरेको छ । तर फोहोर व्यवस्थापन गर्न निकै कठिन भइरहेको प्रशासकीय अधिकृत द्धन्द्धबहादुर शाही बताउँछन् ।

यस्तै फोहोर व्यवस्थापनका लागि नगरपालिकाले सरसफाई गुरुयोजना बनाउनु पर्ने, फोहोरमैला व्यवस्थापन ऐन बनाएर कार्यन्वयन गर्नुपर्ने, स्कुलबाटै फोहोर व्यवस्थापनबारे कक्ष सुरु गर्नुपर्ने सरोकारवाला बताउँछन् ।

तर यस क्षेत्रमा उच्चपदस्थ व्यक्तिहरूको भ्रमण हुँदा मात्रै नगर सफा गर्ने चलन बसेको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई भन्छिन्, ‘फोहोर सबैको साझा समस्या हो । सबै मिलेर फोहोर व्यवस्थापन गर्नु अहिलेको आवश्यकता हो ।’ उनले नगरभित्र ५० प्रतिशत फोहोर व्यवस्थापन र ५० प्रतिशत व्यवहारिक समस्याले फोहोर जस्ताको तस्तै रहने गरेको सुनाइन् ।

साथै तत्काल फोहोर उठाउन विज्ञ सम्मिलित कार्यदल बनाएर अघि बढ्न सुझावसमेत दिएकी छन् । कर्णाली प्रदेशका सांसद तथा पूर्वजलस्रोत तथा उर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले भने नगरको आवश्यकता र प्राथमिकताका आधारमा बजेट व्यवस्था गर्न आग्रह गरेका छन् ।

अहिलेको नगरपालिका भएको क्षेत्र खलंगामा विशाल ताल थियो । जसलाई यामला दह भनिन्थ्यो । पूर्वमा दानादह र पश्चिममा लामारह थियो । किंवदन्ती अनुसार यामला बाट जुम्लाको नाम रहन गएको मानिन्छ ।

अहिलेको डम्पीङ साइट जस्तो जुगाढखोला सुकुटे थिएन । यो खोलाले सिमखाडा, बुढ्थापाबाडा, डाडाकोट, खोलिकोट र मालाभिडको खेत सिञ्चित गरिरहेको हुन्थ्यो । धेरै खोला मिसिएर बनेको जुगाढखोला अहिले धेरै ठाउँको फाहोर मिसिएर दुर्घन्धित बनेको छ । ८७ वर्षीय रमानन्द आचार्य भन्छन्, 'पहिले निर्धक्क हिँडडुल गर्ने सहरमा अहिले नाक थुनेर आरपार गर्नु परिरहेको छ । जुगाढको पानी खाइन्थ्यो । कालढुंगी नजिकै घट्ट थिए । त्यहीँबाट पानी भरेर घरमा लैजाने गरिन्थ्यो । तर अहिले ती सबै ठाउँमा दुर्गन्ध फैलिएको छ ।'

आचार्यका अनुसार यस क्षेत्रमा २०२० सालदेखि फोहोर बढ्न थालेको हो । बस्ती विस्तार हुन थालेपछि बजारवासीले लापरबाही गर्दै गएको उनको अनुभव छ । आचार्यको कुरामा सरोकार पक्ष सहमत छन् । उनीहरू यस क्षेत्रमा बढ्दै गएको फोहोरलाई दिगो व्यवस्थापनको उपाय अपनाउन जनप्रतिनिधिहरू समक्ष माग गर्दै आएका छन् ।

प्रकाशित : असार ६, २०७९ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?