कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

जुम्लाका बारीभरि फुजी स्याउ

‘केही बगैंचामा हल्का रोगकिराको संक्रमण देखिए पनि समग्रमा जिल्लाभरि फुजी स्याउको उत्पादन राम्रो देखियो’
डीबी बुढा

जुम्ला — जिल्लाका गाउँ–गाउँमा फुजी स्याउको उत्पादन सुरु भएको छ । परीक्षणका लागि रोपिएको फुजी स्याउले उत्पादन दिन थालेको हो । नयाँ जातको स्याउ उत्पादनपछि बगैंचा हेर्नेको घुइँचो पनि लागेको छ ।

जुम्लाका बारीभरि फुजी स्याउ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ स्याउ सुपरजोनले जिल्लामा ३७ वटा बगैचामा फुजी स्याउका बेर्ना वितरण गरेको थियो । ती बगैंचामा न्यूनतम ५ सयदेखि ३ हजारसम्म फुजी स्याउका बिरुवा रोपिएका छन् । चन्दननाथ–भैरवनाथ मन्दिरको जग्गा पनि फुजी स्याउ रोपिएको छ । त्यहाँ फलेको स्याउ हेर्न आउनको संख्या दिनदिनै बढिरहेको स्थानीय कमल देवकोटाले बताए । उनका अनुसार अहिले फुजी स्याउका बारेमा अध्ययन गर्ने र बजारको अवस्था बुझने काम भइरहेको छ । ‘सुरुमा बिरुवा रोप्दा जुम्ली हावापानी उपयुक्त हुँदैन कि जस्तो लागेको थियो,’ उनले भने, ‘स्याउले त राम्रै उत्पादन दिन थाल्यो, कलरदेखि गुणस्तरमा कुनै कमी छैन ।’

गत वर्ष जुम्लाका किसानले प्रतिकिलो २ सय ५० रुपैयाँमा फुजी स्याउ बिक्री गरेका थिए । स्याउ किसान अलि मनियारले स्याउमा चिनीको मात्रा र कलर पनि राम्रो रहेको बताए । उनका अनुसार केही किसानले आफैं ग्राफ्टिङ गरेर बिरुवा उत्पादन सुरु गरेका छन् । बारीमा स्याउको बोटमुनि विभिन्न कोषेबाली रोपिएको उनले बताए । उनले अघिल्लो वर्ष झन्डै १ हजार बिरुवा रोपेका थिए । यो वर्ष पनि थप १ हजार बिरुवा रोप्ने उनको तयारी छ । उनको बगैंचामा स्याउका विज्ञहरू पनि आउजाउ गर्छन् । उनीहरूले बगैंचामा देखिएको रोगकिराको प्रकोपका बारेमा पनि अध्ययन अनुसन्धान गरिरहेका छन् ।

एक साताअघि भारत उत्तराञ्चल प्रदेशस्थित हरि अर्गानिक मिनियर लिमिटेडका विज्ञहरूले जुम्लाका स्याउ बगैंचाको अध्ययन गरेका थिए । फुजी स्याउको व्यावसायिक खेतीका लागि किसानलाई खेती गर्ने तरिका, मलखाद व्यवस्थापन, बगैंचा काँटछाँटलगायतमा सहयोग गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । ‘केही बगैंचामा हल्का रोगकिराको संक्रमण देखिए पनि समग्रमा जिल्लाभरि फुजी स्याउको उत्पादन राम्रो देखियो,’ स्याउ सुपरजोन प्रमुख गंगाकुमारी पोखरेलले भनिन्, ‘स्याउमा भविष्य देखेका फुजी स्याउको व्यावसायिक खेतीमा लागेका छन् ।’

स्याउ सुपरजोनले पहिलो पटक भारतको कास्मिरबाट फुजी स्याउ निकालेको थियो । प्रतिबिरुवा १२ सय रुपैयाँमा १ हजार ३ सय बिरुवा जुम्ला पुर्‍याइएको आयोजनाले जनाएको छ । जुम्लामा स्थानीय जातको स्याउ रोप्दा फल पाउन झन्डै ३ देखि ५ वर्ष कुर्नुपर्छ तर फुजी स्याउले रोपेको ६ महिनामै फल दिने भएकाले योप्रति किसानको आकर्षण बढेको छ । केही किसानले भने व्यक्तिगत लगानीमै फुजी स्याउका बिरुवा मगाएर लगाइरहेका छन् । फुजी स्याउको एउटा बिरुवाले १५ वर्षसम्म फल दिने प्रमुख पोखरेलले बताइन् ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?