जुम्लामा विपद् रोकथाम पूर्वाभ्यास

डीबी बुढा

जुम्ला — वर्षायाम सुरु हुनै लाग्दा जुम्लाको चन्दननाथ नगरपालिकामा विपद्‌बाट जोगिनका लागि पूर्वतयारीको व्यावहारिक अभ्यास गरिएको छ । सुरक्षाकर्मीहरूले बाढीपहिरो आएको बेला बच्ने, भिरबाट लड्दा उद्धार गर्नेदेखि ग्यास सिलिन्डरमा आगो लाग्दा निभाउने तरिकाहरूसम्म सिकाएका हुन् । 

जुम्लामा विपद् रोकथाम पूर्वाभ्यास

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा चन्दननाथ नगरपालिका १ स्थित तिला नदी र आसपासको भिरमा व्यावहारिक अभ्यास गरेका हुन् । जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईंले विपद् र प्रकोपका घटना हुन नदिन र भइहालेमा जोगिनका लागि व्यावहारिक अभ्यास गरेर सिकाइएको बताइन् ।

उनले भनिन्,‘विपद् कसैलाई साधेर आउने होइन । एक्कासी आइपर्ने भएकाले पूर्वसावधानीका विषयमा सबै चनाखो बन्नु पर्ने देखिन्छ ।’ जुम्ला पनि विपद् प्रकोपको उच्च जोखिममा छ । जुनसुकै समयमा विपद् आइपर्न सक्छ । उनले भनिन्,‘समुदायस्तरमा व्यावहारिक अभ्यास गराएर सिमुलेसन गराउँदा आफैं पनि गर्न सकिने अवस्था रहन्छ ।’ सुरक्षाकर्मीले भिरबाट खसेको व्यक्तिलाई डोरीको माध्यमबाट उद्धार गरेको, नदीमा बगेको वस्तुलाई डोरी लगाएर बाहिर निकालेको र ग्यासमा लागेको आगो निभाएको बारेमा व्यावहारिक अभ्यास गरिएको थियो ।

अभ्यासमा स्थानीयतहका जनप्रतिनिधि, कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधि र स्थानीय समुदायको सहभागिता थियो । बिना कुनै सूचना आउने विपद्‌ले धेरै मानवीय र धनजनको क्षति निम्त्याउँछ । विपद्‌को रोकथाम, विपद्‌को समयमा उद्धार तथा विपद्पछि गरिने काम कारबाहीमा सदैव तयारी हालतमा रहनुपर्ने सुरक्षाकर्मीहरूले बताएका छन् ।

अभ्यास स्थलमा आधारभूत व्यवस्थापन टिम, रुट रेक्की टिम, रेस्क्युअर, मेडिकल टिम खटिएको थियो ।

प्रकाशित : जेष्ठ ३०, २०७९ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?