नगर बसले सहज

सबै वडा सडक सञ्जालमा जोडिएपछि नगर बस सञ्चालन
हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिका–१४, की मणिदेवी शर्माले चौरजहारी बजार जाँदा होस् या फर्कंदा सवारीसाधनको समस्या झेल्नुपरेको छैन । गाडी पाइन्छ कि पाइन्न भन्ने चिन्ताले पनि उनलाई पिरोल्दैन । बिहान ८ बजे घर नजिकैबाट र बेलुका पनि समयमै घर नजिकै पुग्न बसले उनको यात्रालाई सजिलो बनाइदिएको छ ।

नगर बसले सहज

१४ वडा मात्रै होइन चौरजहारी नगरका सबै वडाका अधिकांश भूभागका नागरिकलाई सजिलो भएको छ । १२ नम्बर वडाका दलु ओली पनि घरकै छेउबाट नगर बस चढ्छन् नगरपालिका पुग्छन् । सोही बस चढेर घर पुग्छन् । १४ कि शर्मा र १२ नम्बर वडाका ओली मात्रै होइन । नगरका १४ वटै वडाका सर्वसाधारणले सजिलै र यातायातको नियमित सेवा पाइरहेका छन् । नगरपालिकाले नगरबासीका लागि सञ्चालन गरिरहेका बसमार्फत आवतजावतमा सहज भइरहेको हो ।

नगरपालिकाले नगरका सबै वडा लक्षित गरी ५ नगर बस सञ्चालन गरिरहेको छ । सुरुमा ३ वटा नगर बस सञ्चालन गरेको नगरपालिकाले पछिल्लो पटक केही दिन यता थप २ बसबाट सेवा प्रवाह गरिरहेको छ । टोल, वडा र रुट कायम गरेर सञ्चालन गरिएका नगर बसबाट सर्वसाधारणलाई सहज भइरहेको छ । बिहान गाउँबाट नगरपालिका वा चौरजहारी बजार जानेहरूलाई लिएर छुट्ने बस बेलुका तिनै सर्वसाधारणलाई बोकेर गाउँ गाउँ पुग्छन् ।

सबै वडा सडक सञ्जालमा जोडिएपछि नगरपालिकाले नगर बस सञ्चालन गरेको थियो । २०७६ फागुनदेखि नगरका सबै वडामा नगर बस चल्छन् र त्यसैबाट सर्वसाधारणले यातायात सुविधा लिइरहेका छन् । ‘सडक बन्यो गाडी पाइएला र भन्ने लागेको थियो,’ शर्माले भनिन्, ‘सडक बनेको केही समयमै नगरले बस चलायो हामीलाई सजिलै भएको छ ।’ सस्तो भाडामा आफूहरू नगर बस चढिरहेको शर्माले बताइन् । डाँडाकाँडा सडक पुगेपछि कहिलेकाहीँ गाडी चढ्ने आशा गरेका आफूहरू नियमित गाडि चढ्न पाएको ओलीले बताए । ‘कसैले गाडी ल्याए चढौंला भन्ने थियो नगर आफैले बस चलाएपछि सजिलो भयो,’ ओलीले भने, ‘सडक बनाएको नगरले बस पनि ल्याएपछि साह्रै सहज भएको छ ।’ नगरले बस किन्नुअघि सडक पुगे पनि नियमित सार्वजनिक बस पुग्दैन थिए । कहिलेकाहीं रिजर्भवाला गाडी र सामग्री ढुवानीका साधन मात्रै गाउँ पुग्थे ।

नगरपालिकाले लामो दूरीको २ सय भाडा दर कायम गरेको छ । चौरजहारी बजारदेखि १४ नम्बर वडाको नुवाकोटसम्मको ४३ किलोमिटर दूरी यात्रा गरे २ सय र छोटो दूरीको यात्रामा २० रुपैयाँ भाडा कायम गरिएको छ । नगरपालिकाले सुलभ भाडा दरमा गाडी चलाइरहेको छ । यसले पनि बस सञ्चालन पुगिरहेको छ । हालसम्म नगर बस सञ्चालनका लागि नगरपालिकाले छुट्टै बजेट खर्चेको छैन । बसबाटै कमाइ भएको नगदले त्यसको व्यवस्थापन पुगेको छ ।

नगर बसबाट आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ को वैशाख पहिलो हप्तासम्म ४० लाख आम्दानी भएको छ । मर्मत खर्च, कर्मचारी र अरू सम्पूर्ण व्यवस्थापन त्यसैबाट बेहोर्ने गरिएको छ । नगरपालिकाले ५ वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक, अपांग, जनयुद्ध तथा जनआन्दोलनका घाइते सहिद परिवारलाई छुट र कतिलाई निःशुल्क बस सेवा प्रदान गरिरहेको छ । नगरप्रमुख पुष्प वादीले निवर्तमाण नगर सरकारको नगर बसले नगरबासीलाई सजिलो भएको बताए । ‘नगर बसले सजिलो भएको महसुस हामीलाई भएको छ,’ नगरप्रमुख वादीले भने, ‘यसलाई अझ व्यवस्थित, सहज र सस्तो बनाउने विषयमा छलफल गरेर अघि बढ्ने योजना छ ।’ जसरी भए पनि नगरवासीलाई सुविधा प्रदान गर्ने नगरको ध्यय हुने र निवर्तमान पदाधिकारीले कार्यान्वयन गरेको यो निर्णयलाई निरन्तरता र थप व्यवस्थित गर्न प्रयास गर्ने वादीको भनाइ छ ।

प्रकाशित : जेष्ठ २७, २०७९ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?