सल्यानमा युवकमाथि हतियार प्रहार

विप्लव महर्जन

सल्यान — सल्यानको सदरमुकाम खलंगास्थित एक होटलमा खाजा खाइरहेका युवकमाथि चार जनाको समूहले धारिलो हतियार प्रयोग गरी आक्रमण गर्दा ती युवक घाइते भएका छन् । घटनापछि उक्त टोली भने फरार रहेको छ ।

सदरमुकाममा रहेको त्रिभुवन जनता मावि लुहापिङबाट प्लस टु को परीक्षा दिएपछि शारदा नगरपालिका २ पुरानो बसपार्कस्थित मध्यपश्चिम होटलमा खाजा खाइरहेको अवस्थामा १८ वर्षीय ओपेन्द्र केसीमाथि उक्त टोलीले हमला गरेको हो । शारदा नगरपालिका २ जोगदेखोलाका स्थायी बासिन्दा घाइते केसीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।

हतियार प्रहारबाट केसीको दायाँ हातमा र दायाँ कोखामा गहिरो चोट लागेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार घटनापछि फरार समूहलाई खोजी गरिएको छ ।

घटनापछि हतियार प्रहार गर्ने शारदा नगरपालिका २ डाँडागाउँ बस्ने १८ वर्षीय रुपेश बुढाथोकी, थर नखुलेका पटनेरीका १८ वर्षीय प्रसान्त, १८ वर्षीय विवश हमाल र गुर्बाकोट नगरपालिका सुर्खेतका १९ वर्षीय सागर पुन अहिले फरार रहेको प्रहरीले जनाएको छ ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक बिक्रम कुंवरको कमान्डमा खटिएको टोलीले फरार रहेका चारै जनाको खोजी गरिरहेको छ । हतियार प्रहार गर्नुको कारण भने खुल्न नसकेको तर व्यक्तिगत रिसइबी हुनसक्ने प्रहरीले आकलन गरेको छ ।

प्रकाशित : जेष्ठ २५, २०७९ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?