कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नीति तथा कार्यक्रममा कर्णाली : विमानस्थल निर्माणदेखि राष्ट्रिय सडक सञ्जालसम्म

चाँदनी कठायत

वीरेन्द्रनगर — संघीय सरकारको नीति तथा कार्यक्रममा कर्णालीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणदेखि हुम्लालाई सडक सञ्जालसँग जोड्ने योजना समेटिएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रममा सरकारले कर्णालीका यी योजना समेटेको हो ।

नीति तथा कार्यक्रममा कर्णाली : विमानस्थल निर्माणदेखि राष्ट्रिय सडक सञ्जालसम्म

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद्‍मा प्रस्तुत नीति तथा कार्यक्रममा सुर्खेतको भेरीगंगास्थित रामघाटमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषय समेटिएपछि विभिन्न क्षेत्रबाट टिका टिप्पणीसमेत हुन थालेका छन् । यसअघि पनि भेरीगंगामा विमानस्थल निर्माणका लागि प्रारम्भिक अध्ययन गरिए पनि प्राविधिक समस्याका कारण निर्माण हुन नसक्ने भन्दै थप प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

त्यसपछि वीरेन्द्रनगरमा रहेकै सुर्खेत विमानस्थल विस्तार गर्न प्रक्रिया अघि बढाइए पनि जग्गा अधिग्रहण गर्ने विषयमा स्थानीयसँग कुरा नमिलेपछि विस्तार कार्य रोकिएको थियो ।

रामघाटमा विमानस्थल निर्माण हुने भनी नीति तथा कार्यक्रम सार्वजनिक भएपछि वीरेन्द्रनगरका केही सरोकारवालाले सुर्खेत विमानस्थल विस्तार कार्य रोक्ने सरकारको नीति रहेको भन्दै टिप्पणी गर्न थालेका छन् । केहीले प्राविधिक कारणले सुर्खेत विमानस्थल विस्तार उपयुक्त नभएको भन्दै भेरीगंगामा नै उपयुक्त हुने पनि तर्क गरेका छन् ।

वीरेन्द्रनगरमा सञ्चालन भइरहेको विमानस्थल साँघुरो भएपछि केही समययता यसको विकल्पको खोजी भइरहेको छ । विमानस्थल विस्तारको प्रयाससमेत सफल हुन नसकेपछि नयाँ विमानस्थल निर्माणको लागि विगतदेखि नै पहल हुँदै आएको छ । यसपटक सरकारले पनि त्यसलाई सम्बोधन गरेको छ ।

सरकारको नीति तथा कार्यक्रममा निर्माणाधीन भेरी बबई डाइभर्सनको हेडवर्क्स र पावर हाउस निर्माण कार्यलाई तीव्रता दिने योजना पनि समेटिएको छ । भेरी बबईको अहिले दोस्रो चरणअन्तर्गत पावर हाउस र हेडवर्क्स निर्माणको काम भइरहेको छ । तेस्रो चरणको काम सुरु गर्नका लागि पनि हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम गर्न टेण्डर प्रक्रिया सकिएको छ ।

साथै यस वर्ष पावर हाउस निर्माण गरिसक्ने जनाइएको छ । सरकारले नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने र कर्णाली करिडोर निर्माण तथा स्तरोन्नति गरिने योजनालाई पनि समेटेको छ । करिडोर अन्तर्गत बाँकी रहेको ट्र्याक खोल्ने काम सम्पन्न गरेर हुम्लालाई आगामी वर्षभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ ।

प्रकाशित : जेष्ठ १२, २०७९ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?