२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

लेकवेशी नगरपालिकाले पाँच जनालाई डाक्टर पढाउने

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतको लेकवेशी नगरपालिकाले यस क्षेत्रका पाँच जना विद्यार्थीलाई डाक्टर पढाउने भएको छ । नगरपालिकाले पाँच वर्षको अवधिमा हरेक वर्ष एक जनाका दरले छात्रवृत्तिमार्फत डाक्टर पढाउने निर्णय गरेको हो ।

लेकवेशी नगरपालिकाले पाँच जनालाई डाक्टर पढाउने

नगरपालिकाको कार्यभार सम्हाल्दै नगरप्रमुख उमेश पौडेलले आफ्नो कार्यकाल अवधिभर पाँच जनालाई डाक्टर पढाउने निर्णय गरेका हुन् ।

नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकी भए पनि विशेषज्ञ डाक्टरहरु नहुँदा उपचारमा सास्ती भोग्नु परिरहेकाले पहिलो प्राथमिकता स्वास्थ्यलाई दिँदै डाक्टर पढाउने निर्णय गरिएको नगरप्रमुख पौडेलले बताए ।

यसको लागि निश्चित मापदण्ड तयार पार्ने उनको भनाइ छ । नगरप्रमुख पौडेलले कार्यविधि बनाएर डाक्टर पढाउनका लागि कोषको व्यवस्था गरिने पनि बताए ।

‘नगरपालिकाको छात्रवृत्तिमार्फत अध्ययन गरेका डाक्टरले कम्तीमा पाँच वर्ष नगरपालिकाभित्रैको स्वास्थ्य संस्थामा रहेर स्वास्थ्य सेवा दिनुपर्ने कार्यविधि बनाइने छ,’ उनले भने, ‘यो निर्णयले गरिब, जेहेन्दार र मेहनती विद्यार्थीहरुलाई चिकित्सक बन्न बाटो खुल्ने विश्वास लिएका छौँ ।’

यस्तै, नगरपालिकाले गर्भवती तथा सुत्केरीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने निर्णय गरेको छ । लेकवेशीका गर्भवती तथा सुत्केरीहरुलाई प्रदेश अस्पताल सुर्खेत तथा अन्य अस्पतालहरुमा लैजान नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने नगर प्रमुख पौडेलले जनाए । ‘नगरवासीलाई विशिष्ट स्वास्थ्य सेवा लिनका लागि टाढा लैजानु परेमा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराइने छ, उनले भने ।’

प्रकाशित : जेष्ठ १२, २०७९ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?