शारदा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडाबाटै दिने

विप्लव महर्जन

सल्यान — अशक्त , जेष्ठ नागरिक र अपाङ्गलाई मध्यनजर गर्दै शारदा नगरपालिकाले यो आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने भएको छ । बैंकमा आउजाउ गर्दा अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई सास्ती भएपछि नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो । 

शारदा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडाबाटै दिने

नगरका विभिन्न वडाबाट सदरमुकाम तथा श्रीनगर बजारमा रहेका बैंकमा आउनु पर्दा विभिन्न किसिमका कष्ट उठाउने मात्रै नभइ लामो समय हिँडनु पर्दा सास्ती भएको गुनासो आएपछि वडाबाटै वितरण गर्ने व्यवस्था मिलाएको शारदा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रकाश भण्डारीले बताए । उनले निर्वाचनका बेला जनाएको प्रतिबद्धत्ता समेत पूरा गरेको जानकारी गराए ।

‘विगतमा तत्कालीन गाविसले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्तामा दुरुपयोग भयो भनेर सरकारले बैंकमा खाता खोलेर जम्मा गर्ने व्यवस्था मिलाएको थियो । सरकारले भत्ता दुरुपयोग हुनबाट बचाउन र सम्बन्धित व्यक्तिले नै भत्ता रकम पाओस् भनेर बैंकमा खाता खोल्ने काम राम्रो गर्‍यो तर बैंकमा खाता खोल्दा अशक्त, जेष्ठ नागरिक,अपाङ्गले सास्ती भोग्नु परेको थियो । वडावडामा बैंक नहुँदा जेष्ठ नागरिक, अशक्त,अपाङ्ग, एकल महिला दुई/अढाई घन्टा लगाएर आउनु पर्ने त्यसमा पनि भीडभाडका कारण लामो समय कुर्नु पर्ने बाध्यताले विभिन्न किसिमका कष्ट भोग्नु परेको थियो । आउदा दिनमा अशक्त,जेष्ठ नागरिक, अपाङ्गले समस्या भोग्नु पर्ने छैन,’ उनले भने ।

नगरप्रमुख भण्डारीले सदरमुकाम तथा श्रीनगर बजारमा रहेका विभिन्न बैंकका म्यानेजरलाई बोलाएर छलफल गरेको र बैंकका कर्मचारी, वडा कर्मचारी र सुरक्षाकर्मीको सहयोगमै वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने जानकारी गराए । उनका अनुसार पछि गएर घरघरमा भत्ता वितरण गर्ने व्यवस्था मिलाइने छ । त्यत्ति मात्र नभइ जेष्ठ नागरिक, अशक्त र अपाङ्गलाई मध्यनजर गरेर वडामै उनीहरुको कागजपत्र प्रत्येक वर्ष रिनु गर्ने व्यवस्था समेत मिलाइने छ । शारदा नगरपालिकाभित्र अशक्त, जेष्ठ नागरिक, अपाङ्ग, एकल गरी ६ हजार १ सय ३० जना ले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका उनको भनाइ छ ।

नगरपालिकाले वडामै भत्ता वितरण गर्ने भएपछि अहिले अशक्त, जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला खुसि भएका छन् । उनीहरुले भत्ताको लागि आफूले इच्छाएको व्यक्तिलाई उपलब्ध गराउन र कागजात रिनु गराउनका लागि सम्बन्धितलाई अनिवार्य उपस्थित नगराइ आफन्तबाटै गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।

प्रकाशित : जेष्ठ १२, २०७९ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?