कुटपिट आरोपमा एमाले सल्यानका पाँच कार्यकर्ता पक्राउ- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुटपिट आरोपमा एमाले सल्यानका पाँच कार्यकर्ता पक्राउ

विप्लव महर्जन

सल्यान — सल्यानको त्रिवेणी गाउँपालिका २ राजागिठीमा कांग्रेसका कार्यकर्ता ३७ वर्षीय खिमबहादुर पुनलाई कुटपिट गरेको आरोपमा एमालेका पाँच जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका २ राजागिठीका ३४ वर्षीय सोबबहादुर पुन, १६ वर्षीय धिरज राम्जा, ३० वर्षीय जोगेन्द्र नेपाली, २० वर्षीय प्रकास नेपाली र ४५ वर्षीय इन्द्रबहादुर पुन रहेका छन् ।

खिमबहादुर पुनलाई लाठी प्रहार गरेर कुटपिट गरेको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन्। एमालेबाट विजयी भएका त्रिवेणी गाउँपालिका २ का वडा अध्यक्ष हस्तबहादुर रामजाले आफ्नै घरमा विजयी भएको खुसियालीमा भोजको व्यवस्था गरेका बेला भोज सम्पन्न भएर घर फर्कने क्रममा नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ सुमित खड्काले बताए ।

घाइते खिमबहादुर पुनको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको र टाउकोमा गहिरो चोट लागेपछि जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको उनले जानकारी दिए ।

उनका अनुसार पक्राउमा परेका पाँच जनालाई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको र थप अनुसन्धान भइरहेको छ । कुटपिट गर्नेले मदिरा सेवन गरेको आशंका गरिएको छ ।

चुनाव जितेको खुसियालीमा भोज खान गएका व्यक्तिलाई बिना कारण कुटपिट गर्नेलाई कडा कारबाही गर्न कांग्रेस सल्यानले आग्रह गरेको छ । आगामी दिनमा यस्ता गतिविधि नगर्न पनि सचेत गराइएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्

कपिलवस्तुको महाराजगंज नगरपालिकामा अब्दुल कलाम र रिताकुमारी विजयी

मनोज पौडेल

कपिलवस्तु — जिल्लाको महाराजगंज नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा कांग्रेस जिल्ला सभापति रहेका अब्दुल कलामले नेकपा एमालेका रामदास चौधरीलाई एक हजार ५३२ मतान्तरले पराजित गरे । कलाम १० हजार २०० मत ल्याई विजयी बनेका छन् । उनका निकटतम प्रतिस्पर्धी चौधरीले ८ हजार ६६८ मत ल्याएका थिए ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकी रीताकुमारी कुर्मी विजयी भएकी छन् । उनले ११ हजार १६७ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी भानमति यादवले ७ हजार २०० मत ल्याएकी थिइन् । कांगेसका उपप्रमुख उम्मेदवारको मृत्यु भएपछि यहाँ वैशाख ३० गते तोकिएको निर्वाचन स्थगित भएको थियो । यहाँ जेठ ३ गते निर्वाचन हुँदा परिणाम ढिलो आएको हो । जिल्लामा यो कांग्रेसको चौथौं जित हो । योसँगै जिल्लाको सबै १० स्थानीय तहको परिणाम आइसकेको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ १८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×