बाग्चौर नगरपालिकाले गर्भवती महिलाका लागि एम्बुलेन्स सेवा निःशुल्क गर्ने- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाग्चौर नगरपालिकाले गर्भवती महिलाका लागि एम्बुलेन्स सेवा निःशुल्क गर्ने

विप्लव महर्जन

सल्यान — जिल्लाको बाग्चौर नगरपालिकाले पालिकाको प्रसती केन्द्रबाट रेफर गरिएका गर्भवती महिलाका लागि आउँदो सातादेखि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । रेफर गरिएका महिलाहरु अस्पताल पुग्न समस्या नहोस् र यातायातको अभावमा हुने ढिलाइका कारण उनीहरुको ज्यान जोखिममा नपरोस् भनेर गर्भवती महिलाका लागि एम्बुलेन्समा सेवा निःशुल्क गर्ने भएको हो । 

भौगोलिक विकटताका साथै यातायातको पहुँचको अभावमा आउँदा दिनमा आर्थिक अभाव भएका परिवारका महिलाले सहज सुत्केरी हुन नसकी आमा तथा बच्चाले ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुन नदिन एम्बुलेन्स सेवा निःशुल्क गर्ने नवनिर्वाचित नगर प्रमुख जनकराज गौतमले बताएका छन् । उनले यहि वैशाख ३० गते हुने निर्वाचनको प्रचारप्रसार घरदैलो कार्यक्रम गर्ने बेला जनतासमक्ष यो प्रतिबद्धतासमेत जनाएका थिए ।

उनका अनुसार यातायातको पहुँचको अभाव तथा भौगोलिक विकटताका कारण अहिले पनि धेरै गर्भवती महिला सुत्केरी हुनका प्रसुती केन्द्रमा पुग्न नसकी कोही बाटैमा त कोही घरमै सुत्केरी हुन बाध्य छन् । सरकारले अस्पताल तथा स्वास्थ्यसंस्थामा सुत्केरी भएबापत् सुत्केरी महिलालाई यातायात र पोषण गरी ४ हजार ८ सय भत्ता दिने गरेको छ । सबैलाई त्यो पर्याप्त हुँदैन । उनीहरूलाई आउजाउमा सहज होस् र अस्पताल पुग्न तथा खानपिनका लागि पनि राहत होस् भनेर निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न थालिएको हो ।

पालिकाका धेरै स्थानमा प्रसुती केन्द्र भए पनि तालिमप्राप्त स्वास्थ्यकर्मीको अभावमा सुत्केरी हुनका लागि अधिकांश गर्भवती महिला जिल्ला अस्पताल सल्यान धाउन बाध्य भएको उनले जानकारी गराए । ‘०७४ मा निर्वाचित जनप्रतिनिधिले नगरपालिकामा खरिद गरेको एम्बुलेन्स बिग्रिएर थन्किएको छ । पालिकाका गर्भवती महिलालगायत अन्य बिरामीलाई सहज होस् भनेर हामीले त्यसको मर्मत प्रक्रिया अगाडि बढाएका छौं‚’ उनले भने‚ ‘यदि एकै दिन तीन/चार जना गर्भवती महिलालाई सुत्केरी हुनका लागि बाहिर रेफर गर्नु परेमा र एम्बुलेन्सको अभावमा अन्य गाडी लगेमा लाग्ने शुल्क कार्यालयले व्यवस्था गर्ने छ ।’

एम्बुलेन्स सेवा निःशुल्क गरे पालिकाका धेरै महिला लाभान्वित हुने नवनिर्वाचित उपप्रमुख सुम्निमा डीसीले बताइन् । पालिकाका विभिन्न स्थानबाट स्वास्थ्यसंस्था पुग्न कम्तीमा पनि एक घण्टादेखि डेढ घन्टासम्म समय लाग्ने हुँदा गर्भवती महिलालगायत उनका आफन्तले विभिन्न किसिमका समस्या भोग्नु परेको उनले जानकारी दिइन् । ‘आउँदा दिनमा गर्भवती मात्र नभई उनका आफन्तले पनि विभिन्न किसिमको समस्या भोग्न नपरोस् र गर्भवती महिलाले सुत्केरी सेवाका लागि दक्ष स्वास्थ्यकर्मीको सेवाबाट वञ्चित हुन नपरोस् भनेर सेवा सुचारु गर्न थालिएको हो‚’ उनले भनिन् ।

प्रकाशित : जेष्ठ ११, २०७९ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्र बैंकको सञ्चालकमा सिवाकोटी र आचार्य नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालक सदस्यहरुमा चिन्तामणी सिवाकोटी र शंकर आचार्यलाई नियुक्त गरेको छ । जेठ ६ गतेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरी मंगलबार मात्रै माइन्युट गरेको एक मन्त्रीले जानकारी दिइन् । सरकारले सिवाकोटी र आचार्यलाई आगामी पाँच वर्षका लागि राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गत वैशाख ३ देखि राष्ट्र बैंकका पूर्वसञ्चालक द्वय श्रीराम पौडेल र रामजी रेग्मीको पाँच वर्षे कार्यकाल सकिएको थियो । त्यसयता राष्ट्र बैंकका दुई सञ्चालक पद खाली थियो । सरकारले तत्काल सञ्चालक नियुक्तिको प्रक्रिया अघि बढाए पनि स्थानीय निर्वाचनको कारण निर्वाचन आयोगले स्वीकृति दिएको थिएन । आयोगबाट स्वीकृति आएपछि सरकारले सञ्चालक नियुक्तिको निर्णय गरेको हो । सिवाकोटी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर र आचार्य पूर्वकार्यकारी निर्देशक हुन् ।

प्रकाशित : जेष्ठ ११, २०७९ १३:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×