जुम्लामा बिजुलीको विकल्पमा सौर्य ऊर्जा


जुम्ला — जुम्लामा नियमित रुपमा विद्युत् आपूर्ति हुन नसकेपछि विकल्पका रुपमा सौर्य ऊर्जाको व्यवस्थापन गर्न लागिएको छ । १५ सय किलोवाट क्षमताको सोलार प्लान्ट राख्न थालिएको छ‚ जसको स्थान छनोटसमेत भइसकेको छ ।



चन्दननाथ नगरपालिका ३ स्थित खोपचौर र घुघुत्ती पावरहाउस नजिकको जग्गामा सोलार पलान्ट राख्न लागिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले जानकारी दिए ।
सोलार प्लान्टबाट बिजुली निकाल्नका लागि अन्तिम प्रयत्न भइराखेको छ । नेपाल विद्युत् प्राधिकरण काठमाडौंबाट पीएमडी शाखाको तीन जनाको इन्जिनियर टोली जुम्ला पुगेर फर्किसकेको छ । केन्द्र प्रमुख रावलले भने, ‘प्लान्ट राख्न दुई स्थानको छनोट गरिएको थियो । टोलीले दुईमध्ये एक स्थान छानेर फर्किएको छ ।’
जुम्ला चन्दननाथ नगरपालिकामा ७ सय किलोवाट बिजुली खपत हुन्छ । १५ सय किलोवाट सोलार प्लान्ट स्थापना भए पनि नगरबासीलाई बिजुली आपूर्तिमा निकै राहत मिल्ने केन्द्र प्रमुख रावलले बताए ।
जुम्ला सदरमुकाम खलंगासम्म विद्युत्को राष्ट्रिय प्रसारणलाइन जडान भइसकेको छ । तर‚ नियमित विद्युत् आपूर्ति हुन सकेको छैन । दैलेख, दुल्लु, कालिकोट हुँदै जुम्ला पुगेको विद्युत् प्रसारण लाइन भरपर्दो छैन । महिनामा दुई हप्ता पनि बिजुली बाल्न पाइँदैन ।
बिजुलीको लाइन भिरपाखा हुँदै आएको छ । बाढीपहिरो, वर्षात्, हावाहुरीले बिजुलीको पोलमा क्षति हुने गरेको छ । नियमित बिजुली आपूर्ति नहुँदा बिजुलीबाट चल्ने उपकरण थन्किँदै आएका छन् ।
सोलार प्लान्ट राख्न सुरु भएपछि नियमित रुपमा बिजुली बाल्ने जुम्लावासीको धोका पूरा हुने भएको छ । स्थानीय दलबहादुर खत्रीले कहिलेकाहीँ जुम्ला बिजुलीविहीन हुने गरेको दुखेसो पोखे । उनले भने, ‘राष्ट्रिय प्रसारण लाइन भरपर्दो छैन । जुम्लाबासीसँग उज्यालोको कुनै विकल्प छैन । सौर्य ऊर्जाको व्यवस्थापन हुन सकेमा विद्युत् अभाव हट्ने निश्चित छ ।’
सदरमुकाम खलंगामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि गाउँका विकट बस्ती अझै पनि अँध्यारोमै बस्न बाध्य छन् । सदरमुकाम खलंगामा राख्न लागिएको सौर्य ऊर्जाका लागि पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले विद्युत् प्राधिकरणसँग पहल गरेका थिए ।
प्रकाशित : जेष्ठ १०, २०७९ १६:०४