कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

हावाहुरी र वर्षाले छिनछिनमा बिजुली जाँदा हैरान

विप्लव महर्जन

सल्यान — हावाहुरी चल्ने र पानी पर्ने बित्तिकै झ्याप्प झ्याप्प बत्ती जाने समस्याले गर्दा जिल्लाबासी एक महिनादेखि प्रभावित भएका छन । तार जडानमा भएको प्राविधिक कमजोरीका साथै र जंगल आसपास क्षेत्रमा लाइन बिस्तार बढी भएकाले हावाहुरीले तार छुोइँदा बत्ती जाने हुँदा जिल्लाबासी प्रभावित भएका हुन्।

हावाहुरी र वर्षाले छिनछिनमा बिजुली जाँदा हैरान

बत्तीका कारण जिल्लाभरीका सर्वसाधारण मात्र नभइ साना/ठूला उद्योग सञ्चालन गरेका उद्योग व्यवसायी, कार्यालय, बत्तीको भरमा चल्ने पसलहरु बढी प्रभावित भएका छन् । जसका कारण कार्यालयले निरन्तर सेवा दिन सकेका छैनन् ।

बत्ती केही बेरभन्दा बढी नटिक्ने गरेका कारण कुनैपनि कागजपत्र फोटोकपी गर्नु पर्दा लाग्ने दस्तुरभन्दा बढी तिर्न परेको जिल्लाका विभिन्न क्षेत्रबाट सरकारी कार्यालयको कामकाजमा आएका स्थानीयले बताएका छन् । सोलार तथा जेनेटर प्रयोग गरेको भन्दै ५ रुपैयाँ शुल्क लाग्ने फोटोकपीलाई १० रुपैयाँ लिने गरेका र अन्यमा त्यस्तै दस्तुर लिँदै आएका कुमाख गाउँपालिकाबाट राहदानी बनाउन सदरमुकाम आएका निर्मल रोकाले बताए । आएको बत्ती केही समय नटिक्दा एउटै कामको लागि लामो समय कुर्नु परेको उनले जानकारी गराए ।

नागरिकता बनाउन तथा अन्य काममा सदरमुकाम खलंगा आएकी कालिमाटी गाउँपालिका ५ की जुनामाया घर्तिले बत्तीकै समस्याका कारण दुई दिन कुर्न परेको बताइन् । दुई दिन कुर्न पर्दा घरको कामकाज अन्योलमा परेको र होटलमा बसेर खानु पर्दा खर्च त्यत्तिकै भएको उनले जानकारी गराइन् ।

शारदा नगरपालिका १ श्रीनगरका एक फर्निचर उद्योगका सञ्चालक वीरेन्द्र भण्डारीले बत्ती छिनछिनमा जाने समस्याका कारण समयमै काम गर्न नसकेर अर्डर गरेका सामान उपलब्ध गराउन नसक्दा धेरै घाँटा भएको बताएका छन् । जेनेटर तथा सोलारबाट काम गर्न गाह्रो तथा महँगो पर्ने भएकाले काम गर्न कठिनाई भएको उनले जानकारी गराए । ‘अहिले अर्डर गरेका कामहरु उपलब्ध गराउन सकिएको छैन । एक दिनमा हुने कामको लागि दुई/ तीन दिन कुर्नु परेको छ,’ उनले भने ।

सिद्धकुमाख गाउँपालिकाको ढोडचौरमा फोटोकपी सेन्टर सञ्चालन गरेकी निर्मला बुढाथोकीले दैनिकजसो बत्ती जाने समस्याले व्यवसाय सञ्चालन गर्न कठिनाई भएको बताइन् । व्यवसायबाटै जिविकोपार्जन गर्दै आएकी उनले घर परिवारलाई खर्च जुटाउन समेत कठिनाइ भएको जानकारी गराइन् । ‘फोटोकपीबाट दैनिक एक हजारभन्दा बढी कमाइ हुन्थ्यो । बत्ती लामो समय नटिक्दा अहिले तीन/चार सय मुस्किलले हुने गर्छ,’ उनले भनिन्, ‘यसले गर्दा कागज र मेसिनको खर्च मुस्किलले उठने गरेको छ’ । सम्बन्धित निकायसमक्ष बारम्बार आग्रह गर्दै आएपनि बत्ती जाने समस्या समाधान नभएको उनको भनाइ छ ।

छिनछिनमा जाने बत्तीका कारण कार्यालयको कामकाज प्रभावित भएको जिल्लाको सदरमुकाम लगायत अन्यत्र रहेका कार्यालयका कर्मचारीले बताएका छन् । हुनत अधिकांश कार्यालयमा सोलार जडान गरेपनि कामकाज प्रभाबकारी नभएको कार्यालयका कर्मचारीहरुले बताएका छन् । उनीहरुले बत्ती गएपछि ईन्टरनेट समेत नचल्ने हुँदा अनलाईनबाट दिने सेवा पनि प्रभावित भएको कृषि कार्यालय सल्यानका सूचना अधिकारी रेशम बस्नेतले जानकारी गराएका छन् ।

विद्युत् प्राधिकरण सल्यानका प्रमुख अशोक लोहनीले ३३ केभी लाइनमा मध्य वैशाखसम्म रुकुम लाइनमा जडान गरेदेखि कतै फल्ट भएका र पछिल्लो समयमा कपुरकोटदेखि तुलसीपुर सम्मको जंगलको क्षेत्रमा हुरि बतासले ढालेको रुख तारमा पर्ने गरेका कारण बत्ती जाने समस्या देखिएको बताएका छन् । उनले गत वैशाख १ गतेदेखि बत्तीमा समस्या देखिएको जानकारी गराए । उनका अनुसार बत्ती नियमित गर्न प्राविधिक टोली नियमित खटिइरहेका र कपुरकोटको जंगल क्षेत्रमा रुख काटने काम भइरहेको अन्य समस्या समाधानको लागि प्रयास भइरहेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?