नवनिर्वाचित मेयरको निर्णय : स्वास्थ्य बिमा र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवनिर्वाचित मेयरको निर्णय : स्वास्थ्य बिमा र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरप्रमुख पुष्प बादीले नगरभित्रका असहाय, अशक्त, सहिद परिवार र बादी समुदायको निःशुल्क बिमा गराइदिने निर्णय गरेका छन् । पदभार ग्रहणसँगै बादीले नगरभित्रका विपन्न नागरिकको स्वास्थ्य उपचारमा सघाउन भन्दै यो निर्णयमा हस्ताक्षर गरी पदभार ग्रहण गरे ।


यसका साथै नगरभित्रका सुत्केरीका लागि एम्बुलेन्स सेवा पनि निःशुल्क हुने भएको छ । पदभार ग्रहणका क्रममा ३ वटा निर्णयमा हस्ताक्षर गरेका बादीले सुत्केरीका लागि स्वास्थ्य संस्था पुर्‍याउने र सुत्केरी भइसकेपछि स्वास्थ्य संस्थाबाट घरसम्म पुर्‍याउने सेवा निःशुल्क हुने छ ।

यस्तै एक परिवारलाई आर्थिक सहायताको निर्णय पनि उनले गरेका छन् । ६ नम्बर वडाको एक परिवारलाई १० हजार आर्थिक सहायता गर्ने उनले निर्णय गरेका हुन् । यसैबीच आगलागीका कारण मृत्यु भएकी १९ दिने शिशु सुशीला रोकायको परिवारलाई १० हजार आर्थिक सहायता गर्ने गरी नगरप्रमुख बादीले हस्ताक्षर गरेका हुन् ।

‘अरु विकास निर्माणका साथै स्थानीय सरकारको महशुस हुने गरी केही निर्णय गरेर पदभार ग्रहण गरें,’ बादीले भने, ‘यसबाट नगरवासीको स्वास्थ्यमा ठूलो सहयोग पुग्छ भन्ने अपेक्षा गरेका छौं ।’ बादी उनको समुदायबाट निर्वाचित देशभरबाट एक मात्र नगप्रमुख हुन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्

पहिलो बादी मेयर : जसले झोला छोइँदा कुटाइ खाएका थिए

हरि गौतम

रुकुम पश्चिम — कक्षा ४ पढ्दा साथीको झोला छोइएपछि पुष्प बादीले दुई व्यक्तिबाट कुटाइ खाए । एउटा झोलावाला साथी र अर्को शिक्षक । झोलाभित्रको रोटी छोइएको निहुँमा साथीले कुटिन् भने पढाउने शिक्षकबाट पनि उल्टै पुष्पले कुटाइ खाए । आफूलाई कुटेको खबर लिएर शिक्षकहाँ पुग्दा उल्टै रोटी किन छोइदिएको भन्दै शिक्षकबाट कुटिएपछि पुष्पले विभेदबारे थाहा पाउन थाले ।


त्यही कारण केही दिन उनी विद्यालय नै गएनन् । विद्यालय नगएपछि बाबुले यसबारे सोधखोज गरे । विद्यालयमा भएको घटनाबारे बताएपछि बाबुले विभेदको थप अवस्थाबारे बताए । त्यसपछि पुष्प विद्यालय त गए तर कसैको केही छोइन्छ कि भन्दै डराउँदै बसे । बाहिर व्यक्त नगरे पनि भित्रभित्रै चिढिएका पुष्प विस्तारै राजनीतिक संगठनमा संगठित हुन थाले ।

मान्छे-मान्छेबीच विभेद बुझ्दै गएपछि समूह बनाउने, छलफल गर्ने र यसको प्रतिरोध गर्ने काम थालेका पुष्प विस्तारै राजनीतिमा सक्रिय भए । तिनै बादी यसपटक स्थानीय सरकारको प्रमुखमा निर्वाचित भएका छन् । सम्भवत: नगरप्रमुखमा निर्वाचित हुने उनी बादी समुदायका एक मात्र व्यक्ति हुन् । चौरजहारी नगरपालिकामा एमाले–कांग्रेस गठबन्धनका कांग्रेस उम्मेदवार प्रेमबहादुर ओलीलाई ५ सय ७१ मतान्तरले जितेर पुष्प नगर प्रमुखमा चुनिए । सुरुमा विभेदविरुद्ध आवाज उठाउन भन्दै नेपाल उत्पीडित मुक्ति समाजमा आवद्ध भएर विभेदको विरोध थालेका पुष्प माओवादीले थालेको सशस्त्र आन्दोलनमा सहभागी भए ।

माछा मारेर, मादल बनाएर, सुल्पा बनाएर परिवार पाल्ने मान्छे विभेद अन्त्यकै लागि पूर्णकालीन कार्यकर्ता भए । दिनभर माओवादीको कार्यकर्ता बनेर काम गर्ने उनी राति घरमा आएर माछा मारेर परिवारको जोहो गराउँथे ।

‘विद्यालयदेखि नै विभेद देखें र भोगें,’ उनले भने, ‘यसको अन्त्यका लागि परिवार पाल्नुपर्ने भूमिका थियो । तैपनि परिवार छाडेर युद्धमा होमिएँ ।’ युद्धमै हुँदा परिवार पाल्न मुस्किल हुने भएपछि हरेक रात माछा मारेर छाड्ने गरेका उनले बिहान श्रीमतिले त्यही माछा बेचेर गुजारा गर्थिन् । पार्टी भन्दा पनि उनी दलित मोर्चामा नै धेरै क्रियाशील रहे ।

‘मैले धेरै विभेद देखें, भोगेको र महशुस गरेकाले पनि हुन सक्छ, म पार्टीमा कम र दलित मोर्चामा धेरै केन्द्रित भएर लागेको हुँ,’ उनले भने । उनले संगठनभित्र पनि धेरै संघर्ष गर्नुपर्‍यो । संगठन निर्माण गरे । २०५७ सालमा माओवादीको पूर्णकालीन कार्यकर्ता भएका बादी बल्ल पार्टीको वैकल्पिक केन्द्रीय सदस्य छन् । चौरजहारी नगरपालिकाको पार्टी इन्चार्ज रहेका उनलाई पार्टीले सर्वसम्मत नगर प्रमुखको टिकट दिएको थियो । उनी दलित मुक्ति मोर्चाको केन्द्रीय सचिवालय सदस्यसमेत बने ।

कर्णाली प्रदेशको इन्चार्ज, सहइन्चार्ज र संयोजकको भूमिका उनले निर्वाह गरिसकेका छन् । अब आफू अमुक समुदायको मात्रै प्रमुख नभएको उनी बताउँछन् । ‘हिजोसम्म एउटा भूमिकामा थिएँ, अब अर्को भूमिकामा आएपछि म सबैको साझा भएको छु’ उनले भने, ‘मेरो भूमिका निर्वाह पनि त्यसरी नै हुन्छ ।’ समृद्ध चौरजहारी बनाउन आफूले खास योजना बनाएको र त्यसै अनुसार अघि बढ्ने उनले बताए ।

पुष्प अब जनप्रतिनिधिको रुपमा सबैलाई समान व्यवहार गर्ने बताउँछन् । उनले भने, ‘तर मैले भोग्दा जस्तो विभेद अहिले छैन ।’ गरिब, विपन्न, असहायका लागि विशेष कार्यक्रम बनाउने, उनीहरुको सशक्तिकरणका लागि काम गर्ने बादीले बताए । पहिलो स्थानीय सरकारले ५ वर्षसम्म गरेका कामको स्थायित्व, अपूरा काम पूरा गर्ने, स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रमा बढी काम गर्ने गरी योजना बनाएको बादीको भनाइ छ । भौतिक पूर्वाधारमा पहिलो स्थानीय सरकारले गरेका कामलाई निरन्तरता दिँदै आर्थिक उपार्जन, रोजगार र स्वरोजगारमा विशेष जोड दिइने गरी घोषणापत्र बनाइएको छ । त्यसको पूर्ण कार्यान्वयनका लागि आफू सबै समूह, पार्टीको साथ लिएर अघि बढ्ने उनी बताउँछन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ १४:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×