नवनिर्वाचित मेयरको निर्णय : स्वास्थ्य बिमा र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
रुकुम पश्चिम — चौरजहारी नगरप्रमुख पुष्प बादीले नगरभित्रका असहाय, अशक्त, सहिद परिवार र बादी समुदायको निःशुल्क बिमा गराइदिने निर्णय गरेका छन् । पदभार ग्रहणसँगै बादीले नगरभित्रका विपन्न नागरिकको स्वास्थ्य उपचारमा सघाउन भन्दै यो निर्णयमा हस्ताक्षर गरी पदभार ग्रहण गरे ।
यसका साथै नगरभित्रका सुत्केरीका लागि एम्बुलेन्स सेवा पनि निःशुल्क हुने भएको छ । पदभार ग्रहणका क्रममा ३ वटा निर्णयमा हस्ताक्षर गरेका बादीले सुत्केरीका लागि स्वास्थ्य संस्था पुर्याउने र सुत्केरी भइसकेपछि स्वास्थ्य संस्थाबाट घरसम्म पुर्याउने सेवा निःशुल्क हुने छ ।
यस्तै एक परिवारलाई आर्थिक सहायताको निर्णय पनि उनले गरेका छन् । ६ नम्बर वडाको एक परिवारलाई १० हजार आर्थिक सहायता गर्ने उनले निर्णय गरेका हुन् । यसैबीच आगलागीका कारण मृत्यु भएकी १९ दिने शिशु सुशीला रोकायको परिवारलाई १० हजार आर्थिक सहायता गर्ने गरी नगरप्रमुख बादीले हस्ताक्षर गरेका हुन् ।
‘अरु विकास निर्माणका साथै स्थानीय सरकारको महशुस हुने गरी केही निर्णय गरेर पदभार ग्रहण गरें,’ बादीले भने, ‘यसबाट नगरवासीको स्वास्थ्यमा ठूलो सहयोग पुग्छ भन्ने अपेक्षा गरेका छौं ।’ बादी उनको समुदायबाट निर्वाचित देशभरबाट एक मात्र नगप्रमुख हुन् ।
प्रकाशित : जेष्ठ ८, २०७९ १०:२९