गाउँमा पुगेन मतदाता शिक्षा- कर्णाली - कान्तिपुर समाचार

गाउँमा पुगेन मतदाता शिक्षा

‘नगर र वडाका सरकार चुन्या भन्ने सुनेका छौं, कसरी हो केही था नाइँ’
तुलाराम पाण्डे

कालीकोट — दलका उम्मेदवारहरू मनोनयन दर्ता गरेर चुनावी प्रचारमा जुटिसकेका छन् । तर, मतदाताहरू कस्तो मतपत्रमा कति मत हाल्ने भन्नेबारे जानकार छैनन् । ‘दिनदिनै हाम्मा पार्टीउदो बोट (भोट) हाल्नु भनीकन (भनेर) टोलीका टोली आउँदाछन्’, खाडाचक्र १ कोइरेल गाउँकीकी ६३ वर्षीया कलशा कामीले स्थानीय लवजमा भनिन्, ‘काउँदो कसरी हाल्न्या भनेर सिकायाका नाइँ ।’

उनले आफ्नो गाउँमा एमाले, माओवादी, कांग्रेस, स्वतन्त्र, राप्रपाका उम्मेदवार भए पनि चिह्न चिनाउन, मत हाल्ने तरिका सिकाउन कोही नआएको सुनाइन् ।

माइकिग र साउन्ड बक्स बजाएर चुनावी गीत, भोट दिनु भन्ने प्रचार सुने पनि मतपत्र ल्याएर सिकाउन कोही नआएको चिल्खाया लुब्रकी अविसरा कटुवालले सुनाइन् । ‘रूख, बेल (सूर्य), आसी हतौडो, हास, पुलती चिह्न भन्ने सुनेकी छु,’ ४९ वर्षीया कटुवालले भनिन्, ‘कसलाई कसरी भोट हाल्ने भन्ने थाहा छैन ।’ उनले गाउँमा होहल्ला गर्दै चुनाव प्रचार गर्ने दलका कार्यकर्ता आएपछि दुई तीन पार्टी मिलेर चुनाव लडेकाले तलमाथि भोट हाल्न जानी नसकेको बताइन् ।

विगतका चुनावमा निर्वाचन कार्यालयले मतदाता शिक्षा दिन स्थानीय शिक्षक, सामाजिक संघसंस्थाका कर्मचारी र बालविकास केन्द्रका सहयोगी कार्यकर्ता खटाउने गरेको भए पनि यस पटक बजेट अभावमा मतदाता शिक्षा दिन नखटाएपछि मत बदर हुने सम्भावना बढी छ । स्वस्थ दलीय प्रतिस्पर्धा हुँदा एकै लहरमा भोट हाल्न सहज हुने भए पनि गठबन्धन र तालमेल गरेकाले मतदाता शिक्षाबिनै मतदान गर्दा धेरैजसो मत बदर हुने अवस्था रहेको नागरिक समाजका अगुवा दमनराज बमले बताए । उम्मेदवार नै तलमाथि

छ्यासमिसे भएर प्रतिस्पर्धामा छन् । जिल्ला बारका अध्यक्षसमेत रहेका अधिवक्ता बमले भने ‘निरक्षर मतदाता भएको ठाउँमा धेरै मत बदर हुन्छ ।’ उनले दलका नेता कार्यकर्ता र उम्मेदवारले पनि राम्रोसँग मतदान गर्ने तरिका सिकाउन सके मतको सदुपयोग हुने बताए ।

गाउँमा प्रचार गर्ने हूलका हूल आए पसिन राम्रोसँग मतदान गर्नेबारे नसिकाएरै जाने गरेको नवज्योति आधारभूत विद्यालयका शिक्षक हरिलाल विकले बताए । ‘प्रचार टोली आएका आयै छन्,’ उनले भने, ‘एउटै वडामा ४/५ पार्टी मिलेर लडेकाले कसलाई कसरी मत दिने भन्ने सिकाउन सकेका छैनन् ।’ उनको वडामा माओवादी केन्द्र, समाजवादी र चन्द समूहको स्वतन्त्रका उम्मेदवार प्यानलमा छन् । एमाले र कांग्रेस अलग, अलग चुनावी प्रतिस्पर्धामा छन् ।

दलित समुदायका अधिकांश बस्तीमा अझै मतदाता शिक्षा पुग्न सकेको छैन । ‘नगर र वडाका सरकार चुन्या (चुन्ने) भन्ने सुनेका छौं, कसरी हो केही था नाइँ (थाहा छैन),’ खाडाचक्र ६ गोरावाडाकी मनकोइला विकले स्थानीय लवजमा भनिन्, ‘मेरा घर त भोट हाल्नु भनीकन कोही आयाका नाइँ ।’

३ नगरपालिका र ६ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको कालीकोटमा ३ नगर प्रमुख, ३ उपप्रमुख, ६ गाउँपालिका अध्यक्ष, ६ उपाध्यक्ष, ८२ वडाध्यक्ष र ३ सय २८ जना सदस्य चुनिने कालीकोटमा ११९ मतदान केन्द्र कायम भएका छन् । विगतमा पनि मतदाता शिक्षा प्रभावकारी नभएकाले धेरै मत बदर भएको राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकका सचिव बाले विश्वकर्माले बताए । उनका अनुसार अघिल्लो स्थानीय तहको चुनावमा १२ प्रतिशत मत बदर भए । यस पटक गठबन्धनका कारण तलमाथि गरेर मत हाल्नुपर्ने र निर्वाचन शिक्षा पनि सञ्चालन नभएकाले मत बदर हुने प्रतिशत बढ्ने उनको अनुमान छ ।

कालीकोटमा बदर मत घटाउन जिल्ला निर्वाचन कार्यालयले बजेट माग गरे पसिन नआएकाले स्वयंसेवक परिचालन गर्न नसकिएको मुख्य निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले बताए ।

सर्वदलीय सर्वपक्षीय बैठक

निर्वाचन आचारसंहिताका पालना, चुनाव प्रचारप्रसार, मतदान तथा मतगणना र शान्ति सुरक्षामा सरोकारवालाको सहयोग जुटाउन जिल्ला प्रशासनमा सर्वपक्षीय सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रजिअ रामहरि शर्माको अध्यक्षमा आयोजित बैठकमा दलका नेता कार्यकर्ताले निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको बताए । कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले मनता अभिमत सबैले स्वीकार्न स्वस्थ प्रतिस्पर्धा गर्नेपर्ने कांग्रेस नेता भूपेन्द्रजंग शाहीले बताए ।

एमाले नेता तुलाराज मल्लले ५ दलीय गठबन्धनले ठाउँठाउँमा अन्य दलका कार्यकर्तालाई चुनाव प्रचारप्रसार गर्न बाधा पुर्‍याइरहेको आरोप लगाए । माओवादी केन्द्रका अध्यक्ष लक्ष्मीप्रसाद चौंलागाईंले निर्वाचन आचारसंहिता पालना गर्न आफ्नो दल प्रतिबद्ध रहेको बताए । एकीकृत समाजवादीका लालबहादुर मल्लले मतदान केन्द्रमा खटाइएका कर्मचारी निष्पक्ष हुने खालका नभएको सुनाए ।

प्रकाशित : वैशाख २८, २०७९ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्

मत खेर जाने चिन्ता

हरि गौतम

रुकुम पूर्व — मतदानको दिन नजिकिएसँगै पुथाउत्तरगंगा गाउँपालिका–४ की बलकुमारी रोका मगरको अन्योल बढ्दै छ । उम्मेदवार र कार्यकर्ता प्रचारमा आइरहेका छन् । आफ्नो दलको चिह्नमा मतदान गर्नुहोला भनेर जान्छन् ।

मतदान गर्ने तरिका सिकाउँदैनन् । त्यसैले मत खेर जाने चिन्ताले उनलाई सताएको हो । सिस्ने गाउँपालिका–१ लाम्पाखाका सइबहादुर बुढा पनि यस्तै द्विविधामा छन् । मत बदर हुने चिन्ताले उनलाई पनि सताइरहेको छ ।

रुकुम पूर्वमा तीन स्थानीय तह छन् । सबैतिरका मतदाताको मुख्य समस्या मतदाता शिक्षा बनेको छ । ‘दलका नेता र उम्मेदवारले आफ्नै चिह्न भनेर जान्छन् । गहिरो गरी मतदानको प्रक्रियाबारे कसैले सिकाएको छैन,’ सिस्ने–१ पाखापानीकी कमला बुढाले भनिन्, ‘यो चुनावमा धेरै मत बदर हुने देखिन्छ ।’ ज्येष्ठ नागरिक र लेखपढ नभएकालाई झनै समस्या छ । ‘मतपत्रको आकार, त्यसभित्र रहेको चिह्न साना हुने हुनाले पनि ज्येष्ठ नागरिकलाई समस्या हुने देखिन्छ । त्यसमाथि मतदाता शिक्षा दिइएकै छैन,’ बुढाले भनिन् ।

जिल्ला निर्वाचन कार्यालयले केही दिनअघि नमुना मतदान गराएको थियो । ४० मतदाता सहभागी भएको नमुना मतदानमा २.४ प्रतिशत मत बदर भएको थियो । मत संकेत गर्ने तरिका नजानेर, मतपत्र पट्याउन नजानेर मत बदर भएको थियो । जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले यो निर्वाचनमा पहिलाको जस्तो मतदाता शिक्षा सञ्चालन नभएको बताए । विभिन्न रेडियो, पत्रपत्रिका, अनलाइन तथा सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा कार्यक्रम चलाइए पनि गाउँगाउँमा पुगेर मतदाता शिक्षा नपुगेको बताए । निर्वाचनमा खटिएका कर्मचारी, स्वयंसेवकले दुई दिन मत संकेतको तयारीबारे सिकाउने ओलीले बताए । यो निर्वाचनमा मतदाता शिक्षाका लागि भनेर बजेट नै घटेर आएपछि पहिलाको जस्तो मतदाता शिक्षा कार्यक्रम पुग्न नसकेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख २८, २०७९ १२:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×