रुकुम पश्चिममा दिनहुँजसो झडप, असुरक्षित बन्दै निर्वाचन

रूकुम पश्चिममा चुनावी प्रचारप्रसारका क्रममा कांग्रेस–माओवादी कार्यकर्ताबीच झडप हुँदा सातायता २५ जना घाइते, ११ को अवस्था गम्भीर
कृष्णप्रसाद गौतम

सुर्खेत — चुनावी प्रचारप्रसारका क्रममा आइतबार दिउँसो रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१० खोलागाउँमा माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबीच झडप भयो । २ जना घाइते भए । प्रहरी तुरुन्तै घटनास्थलमा खटियो र थप क्षति हुन पाएन ।

रुकुम पश्चिममा दिनहुँजसो झडप, असुरक्षित बन्दै निर्वाचन

त्यसैबेला मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अर्थमन्त्री जनार्दन शर्मासहितको उपस्थितिमा सर्वदलीय बैठक बसिरहेको थियो । बैठकमा निर्वाचन आचारसंहिताअनुसार प्रचारप्रसार गर्ने र एकअर्काको कार्यक्रमलाई अबरोध नगर्ने सहमति भयो । झडपले नकारात्मक सन्देश गएको र मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भन्दै दुवै पक्षबाट संयुक्त अपिल जारी भयो । तर, २४ घण्टा नबित्दै सोमबार फेरि कांग्रेस र माओवादी कार्यकर्ता कुटपिट र आगजनीमा उत्रिए । माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्ताले प्रयोग गरेको एउटा मोटरसाइकल जलाउनुका साथै २ वटा मोटरसाइकल र एउटा गाडीमा तोडफोड गरिदिएका छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीका अनुसार लु१ज २६६१ नम्बरको जिप, भे७प ३०६५ र भे८प ३६२० नम्बरको मोटरसाइकल तोडफोड भएको छ । जलाइएको मोटरसाइकलको नम्बर खुलेको छैन ।

आफ्ना कार्यकर्तामाथि माओवादीले आक्रमण गरेको भन्दै कांग्रस कार्यकर्ताले नगरपालिकाको कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् ।

आइतबार मात्रै दुवै दलले झडप नगर्ने र आ–आफ्ना कार्यक्रम सञ्चालन गर्दा उत्तेजक भाषण नगर्ने, एक वडाका कार्यकर्ता अर्को वडामा नबोलाउने र निर्वाचनलाई शान्तिपूर्ण बनाउने सहमति गरेका थिए ।

शनिबार साँझ पनि चौरजहारी–६ खागलमा माओवादी कार्यकर्ताहरूले घरदैलो गरिरहेका कांग्रेस कार्यकर्तामाथि आक्रमण गर्दा १० जना घाइते भएका थिए । घाइतेमध्ये लक्ष्मण बोहरा गम्भीर घाइते छन् । उनलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । त्यसै रात एमाले नेता चन्द्रबहादुर विकमाथि पनि आक्रमण भएको छ । एक सातायता जिल्लाको आठबीसकोट, बाँफिकोट र त्रिवेणीमा विपक्षी दलका कार्यकर्ताबीचको झडपमा २५ जना घाइते भएका जिल्ला प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले बताए । जसमध्ये गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगन्ज रेफर गरिएको छ ।

चुनावी प्रचारप्रसारका क्रममा दिनहुँजसो भइरेहका झडपले सुरक्षा निकायका प्रमुखहरूसमेत आजित भएका छन् । ‘बैठकमा नेताहरूले शान्तिपूर्वक प्रचारप्रसार गर्ने निर्णय गर्नुहुन्छ,’ जिल्लाका एक सुरक्षा अधिकारीले भने, ‘तर एउटा पार्टीको कार्यकर्ता देख्नबित्तिकै अर्को पार्टीका कार्यकर्ताले आक्रमण गर्ने प्रवृत्ति छ ।’

दिनहुँ झडपका घटना हुँदा मतदातामा समेत त्रासको वातावरण बनेको नागरिक अगुवा श्याम केसीले बताए । ‘यस्तै अवस्था रहे मतदाताहरूले कसरी ढुक्कले मतदान गर्छन् ?,’ उनले भने, ‘किटानी जाहेरी दिए पनि प्रहरीले संलग्नहरूलाई पक्राउ गरेको छैन । प्रहरी घटनाअघि मुकदर्शक बन्दा मतदातामा थप त्रास फैलिएको छ । प्रहरीले कम्तीमा हवाई फायर गरेर पनि भीडलाई नियन्त्रण गर्न सक्थ्यो, त्यतिसम्म पनि प्रयास भएन ।’

स्थानीय कविराज खड्काले मतदातालाई सुरक्षित बनाउन दलहरू नै जिम्मेवार बन्नुपर्ने बताए । ‘केन्द्रमा नेताहरूले गठबन्धन गरेका छन्, यहाँ भने दिनहुँ झडप भइरहेको छ,’ उनले प्रश्न गरे, ‘दलका कार्यकर्ता आफैं असुरक्षित छन् भने हामीले के सुरक्षाको आस गर्ने ?’ केन्द्रमा माओवादी र कांग्रेसले गठबन्धन गरे पनि रुकुम पश्चिममा भने फरक गठबन्धन छ । यहाँ कांग्रेस र एमाले तथा माओवादी र एकीकृत समाजवादीले गबन्धन गरेका छन् । ‘दुवैले एक अर्काको अस्तित्व स्वीकार्न नसक्दा झडप चलिरहेको छ,’ उनले भने, ‘निर्वाचन आचारसंहिताअनुसार दुवै पक्षले प्रचारप्रसार गरे मतदाता पनि ढुक्क रहने अवस्था हुन्छ ।’

यसअघिको स्थानीय निर्वाचनमा जिल्लाका ६ वटै स्थानीय तहमा माओवादी विजयी भएको थियो । ‘माओवादीमा फेरि युद्धकै धङ्धङी कायमै छ,’ कांग्रेस जिल्ला सभापति ओलीले भने, ‘माओवादीसँग चुनावी तालमेल गर्ने राष्ट्रिय सहमति कार्यान्वयन हुन नसकेपछि ऊ आत्तिएको छ । उसँग राजनीतिक संस्कार नै बसेन ।’ उनले अर्थमन्त्री शर्माको छायामा प्रहरी प्रशासन पर्दा माओवादी कार्यकर्ता अराजक बन्दै गएको आरोपसमेत लगाए । ‘शान्तिपूर्ण वातावरणमा प्रचारप्रसार गर्दा पनि उहाँहरूले भाँजो हालिरहनु भएको छ,’ माओवादी जिल्ला संयोजक रोकाले भने, ‘हाम्रा साथीहरूले क्रियाको प्रतिक्रिया मात्र दिएका हुन् ।’ आचारसंहिताविपरीतका कार्य नगर्न कार्यकर्तालाई निर्देशन दिइसकेको उनले बताए ।

एक सुरक्षा अधिकारीका अनुसार अहिले चौरजहारी, आठबीसकोट र त्रिवेणीमा दिनहुँजसो झडपका घटना भइरहेका छन् । ‘फरक विचारबिचको गठबन्धन र लामो समयको द्वन्द्वको मनोविज्ञान कायम हुँदा यो अवस्था आइरहेको छ,’ ति अधिकारीले भने । उनका अनुसार जिल्लाका ७६ मतदानस्थलमध्ये १९ मतदानस्थल अति संवेदनशील छन् । विगतका निर्वाचनमा घटेका घटना र सञ्चार तथा सडक असुविधाका कारण समस्या देखिएका स्थानलाई अति संवेदनशील मानिए पनि अहिले त्यसबाहेकका ठाउँमा समेत झडप भइरहेको छ । उनले अझै १/२ दिन यस्तै अवस्था रहे मतदाताहरू भोट हाल्न जान पनि डराउनुपर्ने स्थिति आउने बताए ।

दुवै दलको विवाद मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ४ पटक सर्वदलीय बैठक बसिसकेको प्रजिअ परमानन्द घिमिरेले बताए । ‘हामीले एकीकृत सुरक्षा रणनीतिअनुसार जिल्लाभरि पर्याप्त सुरक्षाकर्मी खटाएका छौं,’ उनले भने, ‘दुवै दलले आचारसंहिताअनुसार अघि बढ्ने निर्णय गरेका कारण शान्ति सुरक्षाको अवस्थामा अब सुधार हुनेछ ।’

प्रकाशित : वैशाख २७, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?