कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चुनावी घरदैलो गाउँतिर

एलपी देवकोटा

जुम्ला — स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सदरमुकामलगायत जिल्लाका व्यापारिक केन्द्रहरू सुनसान बनेका छन् । गाउँमा चुनावी रौनक बढेको छ । सबै दलका उम्मेदवारहरू गाउँमा पुगेपछि चुनावी रौनक छाएको हो ।

चुनावी घरदैलो गाउँतिर

दलहरूले आफ्ना सबै चुनावी कार्यक्रमलाई गाउँ केन्द्रित गरेका छन् । ‘दिनहुँजसो आमसभा र कार्यक्रमहरू भएका भएकै छन्,’ गुठिचौर–१ की चाँदनी हमालले भनिन्, ‘चुनावले गाउँमा चहलपहल बढाएको छ, ठूला नेताहरू पनि गाउँ पस्ने क्रम बाक्लिएको छ ।’ उनका अनुसार उम्मेदवारहरू घरदैलोमा व्यस्त बन्न थालेका छन् । कार्यकर्ताहरू बिहानैदेखि साँझ अबेरसम्म प्रचारप्रसारमा होमिएका छन् ।

कुनै न कुनै दलले नजिकको विद्यालयमा दिनहुँ कार्यक्रम गरिरहेको तातोपानीकी कमला न्यौपानेले बताइन् । ‘उम्मेदवारहरू विभिन्न वाचासहित गाउँमा पसेका छन्,’ उनले भनिन्, ‘गहुँजौ भित्र्याइसकेकाले अहिले गाउँ नै चुनावमय बनेको छ ।’ उनले घर नजिकैको आधारभूत विद्यालयमा फेरिरहने झन्डा र फरकफरक पार्टीका आमसभाले चुनाव नजिकिएको आभाष भएको बताइन् । अहिले गाउँमा एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्नेहरूको लहर नै चलेको छ । नेताहरू लावालस्करसहित ३/४ वटा गाडी ल्याएर गाउँमा आउने गरेको स्थानीय चक्र बुढाले बताए ।

‘अहिले ४०/५० जना कार्यकर्तालाई अघिपछि लगाएर नआउने उम्मेदवार कोही पनि छैनन्,’ उनले भने, ‘५/७ वटा गाडी र दर्जनौं मोटरसाइकल लिएर उम्मेदवारहरू विपन्नका घरघरमा पुग्दा नकारात्मक सन्देश गएको छ ।’ गाउँगाउँमा गाडीमा चुनावी नारा र गीत घन्काउँदै प्रचारप्रसार भइरहेको उनले बताए । कुनै पार्टीका उम्मेदवार एक ठाँउमा गयो भने अर्को पार्टीका उम्मेदवार त्योभन्दा बढी कार्यकर्ता लिएर पुग्ने प्रतिस्पर्धा चलेको उनको भनाइ छ ।

दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा अधिकांश युवा उम्मेदवार भएकाले उत्साह भने जागेको उनले बताए । दलहरूले आफ्नो पक्षमा मत बढाउन विभिन्न नारासहित घोषणापत्र सार्वजनिक गरेका छन् । जसमा मतदाताका आधारभूत आवश्यकतादेखि ठूला विकास निर्माण योजनाहरू समावेश गरिए पनि विश्वास गर्ने भरपर्दो आधार नभएको स्थानीय युवा कमल शर्माले बताए ।

प्रकाशित : वैशाख २५, २०७९ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?