नगरप्रमुखको दौडमा बादी

रुकुम पश्चिम — चौरजहारी नगरपालिका–४ का ४७ वर्षीय पुष्प बादीको पुख्यौली पेसा माछा मार्नु हो । उनी घरछेउको जहारीखोलाका माछा मारेर बेच्ने गर्छन् । उनी मादल बनाउने, कक्कड खाने सुल्पा बनाउने सीप पनि छ । उनीलाई माओवादीले योपल्ट चौरजहारी नगरपालिकाको प्रमुखको उम्मेदवार बनाएको छ ।

नगरप्रमुखको दौडमा बादी

नगरप्रमुखको उम्मेदवार बनेपछि झन्डै २ सातायता उनी मतदातासँग भेटघाटमा व्यस्त छन् । उनी माओवादीको वैकल्पिक केन्द्रीय सदस्य हुन् । आफूलाई टिकट दिनु आम उत्पीडित समुदायप्रतिको सम्मान तथा संघीयता र समावेशिताको बफादारिता भएको उनको भनाइ छ ।

नगरप्रमुखमा निर्वाचित भए आफ्नो धरातल नबिर्सिने बादीले बताए । ‘मेरो सीप अहिले पनि छ । म हाम्रो समुदायको पुर्ख्यौली पेसामा पनि अब्बल छु । आवश्यकता र मागले अब चुनावी मैदानमा खटिएको हुँ,’ उनले भने । २०५७ तिर माओवादीको पूर्णकालीन कार्यकर्ता बनेका वादी त्यो समयमा पनि माछा मारेर परिवार पाल्ने गर्थे । शान्ति स्थापनापछि पनि आफूले पुरानो पेसा नछाडेको उनको भनाइ छ ।

बादी समुदाय उत्थान विकास समितिको उपाध्यक्ष भएर उनले ४ वर्ष काम गरे । त्यसपछि पुनः गाउँमै फर्किएर पुरानै पेसामा रहेको बादीले बताए । ‘राजनीतिमा सक्रिय हुँदा पुरानो पेसा केही ओझेलमा परे पनि फुर्सद हुँदा आएको काम गर्न कुनै हीनताबोध छैन,’ उनले भने, ‘पार्टीको काम हुँदा राजनीतिमा र अरू बेला पुर्ख्यौली पेसामा रमाइरहेको छु ।’ पिछडिएको समुदायको प्रतिनिधित्व बढाउने र पूर्वाधारयुक्त नगर बनाउने उनको प्रतिबद्धता छ । ‘नगरलाई शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, सिँचाइलगायत पूर्वाधारयुक्त बनाउने मेरो एजेन्डा हो ।’ उनले भ्रष्टाचार नगर्ने प्रतिवद्धता गरेको बताए ।

प्रकाशित : वैशाख २५, २०७९ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?