गठबन्धन भत्किँदै, बन्दै

हरिहरसिंह राठौर

जाजरकोट — सत्ता गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले झन्डै २ साताअघि कर्णालीका सुर्खेत र रुकुम पश्चिमबाहेक ८ जिल्लाका पालिकाहरूमा उम्मेदवारको भागबन्डा टुंग्यायो । तर सत्ता साझेदार दलहरू कांग्रेस र माओवादीका जिल्ला समितिहरूले त्यसलाई नमान्ने निर्णय गरी एक्काएक्लै उम्मेदवारी दर्ता गराए ।

गठबन्धन भत्किँदै, बन्दै

एक्लाएक्लै निर्वाचनमा गए पराजित हुन सक्ने आशंकामा अन्ततः गठबन्धनका दलहरू कांग्रेस र माओवादीले अर्को सहमति गरी फेरि गठबन्धन गरेका छन् । दुई दलबीच शिवालय गाउँपालिकामा कांग्रेसका उम्मेदवारलाई र सदरमुकामस्थित भेरी नगरपालिकामा माओवादीका उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको छ । शिवालयमा कांग्रेसका अध्यक्षका उम्मेदवार शेरबहादुर शाही र भेरी नगरपालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार गगनबहादुर खड्कालाई समर्थन गर्ने दलहरूबीच सहमति भएको हो । भेरी नगरपालिकामा आफ्नो जनाधार बलियो रहेको अडान राख्दै आएको माओवादीले सदरमुकाममा उपप्रमुखमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने विज्ञप्ति सार्वजनिक गरेको छ ।

जाजरकोटमा ३ पालिकामा कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् । भेरी, नलगाड नगरपालिका र शिवालय गाउँपालिकामा चुनावी तालमेल गरेर जाने दुवै पार्टीको सहमति छ । यसभन्दा पहिले भएको सत्ता गठबन्धन दलहरूको निर्णयले भेरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) लाई प्रमुख र कांग्रेसलाई उपप्रमुख दिने निर्णय गरेको थियो । तर सहमति जुट्न नसकेपछि बाँकी रहेका स्थानीय तहमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको हो ।

पछिल्लो निर्णयले भेरी नगरपालिकामा माओवादी केन्द्रबाट प्रमुख, कांग्रेसको उपप्रमुख, नलगाडमा माओवादीका प्रमुख र कांग्रेसका उपप्रमुख तथा शिवालयमा कांग्रेसका अध्यक्ष र माओवादीका उपाध्यक्षका उम्मेदवारलाई सघाउने निर्णय भएको कांग्रेस जिल्ला सभापति वेदराज सिंहले बताए । ‘यसअघि भएको गठबन्धनको निर्णय कार्यान्वयन नभएपछि फेरि सहमति गरेर कार्यान्वयनमा लगिएको छ,’ उनले भने । कार्यकर्ताहरूलाई पछिल्लो सहमतिअनुसार अभियानमा जुट्न आग्रह गरिएको उनले जानकारी दिए । कुशे गाउँपालिकामा भने माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ ।

प्रकाशित : वैशाख २३, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?