कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुर्खेत र रुकुममा गठबन्धनको भागबन्डा मिलेन

हुम्ला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु, कालीकोट र डोल्पामा भने भागबन्डा टुंगिएको छ
कृष्णप्रसाद गौतम

सुर्खेत — कर्णालीमा आइतबार साँझसम्म पनि सत्ता गठबन्धनमा कुरा नमिल्दा सबैजसो जिल्लामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन् । एमालेले पनि केही जिल्लामा मात्र उम्मेदवारको मनोनयन दर्ता गराएको छ । बिहीबारदेखि जारी गठबन्धनको बैठकले आइतबार साँझसम्म सुर्खेत र रुकुम पश्चिमको उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

सुर्खेत र रुकुममा गठबन्धनको भागबन्डा मिलेन

हुम्ला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु, कालीकोट र डोल्पामा भने भागबन्डा टुंगिएको छ । ‘सुर्खेतको सन्दर्भमा पनि कुराकानी करिबकरिब मिलिसकेको छ,’ गठबन्धन दलको बैठकमा सहभागी एकीकृत समाजवादीका नेता अम्मरबहादुर थापाले भने, ‘अब रुकुम पश्चिमको मात्र कुरा मिल्न बाँकी छ ।’ उनले विवादको जिम्मा मिलाउने जिम्मा शीर्ष नेतालाई दिइएको बताए । ९ स्थानीय तह रहेको सुर्खेतमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले ६ वटामा प्रमुख र ५ वटामा उपप्रमुख जितेको थियो भने रुकुम पश्चिममा माओवादीको एकलौटी जनाधार छ । एउटा पनि पालिका नजितेको कांग्रेसले रुकुममा र माओवादीले सुर्खेतमा भाग माग्दा गठबन्धनमा कुरा मिल्न नसकेको बैठकमा सहभागी एक नेताले बताए ।

सल्यानमा ४ जनाले मात्र उम्मेदवारी दिएका छन् । आइतबार स्वतन्त्रसहित माओवादी केन्द्र, राप्रपा र जनता समाजवादीका १/१ जनाले मात्र सल्यानमा उम्मेदवारी दिए । बाग्चौर नगरपालिकामा प्रमुखका लागि समाजवादीका चित्रबहादुर डाँगी, छत्रेस्वरीमा अध्यक्षका स्वतन्त्रबाट लोकमान खत्री, राप्रपाका मोतीलाल ओली र दार्माको अध्यक्षमा माओवादी केन्द्रका निमबहादुर केसीले मात्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कालीकोटमा एमालेले ६ वटा स्थानीय तह प्रमुखमा उम्मेदवारी दर्ता गरेको छ ।

सत्ता गठबन्धनले पालिका भाडबन्डा सकेर सोमबार उम्मेदवारी दर्ता गर्ने जनाएको छ । एमालेले खाडाचक्रको प्रमुखमा निवर्तमान नगर प्रमुख जसिप्रसाद पाण्डेलाई दोहोर्‍याएको छ । अन्य पालिकामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । सान्नीत्रिवेणीमा ब्यासी तिरुवा, नरहरिनाथमा टेकबहादुर बुढा र शुभकालिकामा भरतराज धितालले एमालेबाट अध्यक्षमा उम्मेदवारी दिएका छन् । रास्कोटमा दयाराम सिम्खडा र तिलागुफामा महेन्द्र्रबहादुर शाहीले प्रमुखका लागि मनोनयन दर्ता गरेका छन् । एमाले जिल्ला इन्चार्ज नगिन्द्र शाहीले पचालझरना, पलाता र महाबैमा एमालेले उम्मेदवारी दर्ता नगराएको बताए । गठबन्धनको निर्णय नआउँदै तिलागुफामा भने कांग्रेस नेता शंकरप्रसाद उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन् ।

जाजरकोटमा १ जनाको मात्र उम्मेदवारी परेको छ । सत्ता गठबन्धनले नलगाड नगरपालिकामा माओवादीलाई टुंगो लगाए पनि नेकपा समाजवादीका सत्यलाल गौतमले प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित : वैशाख १२, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?