कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कर्णालीमा ९ महिनामा २२ प्रतिशत बजेट खर्च

ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनामा बजेटको २२ प्रतिशत मात्र खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ३६ अर्ब ५७ करोड ९७ लाख रुपैयाँको बजेटमध्ये चैत मसान्तसम्म ८ अर्ब ४० करोड ९४ लाख रुपैयाँ मात्र खर्च गरेको हो । जसमा विकास बजेट ४ अर्ब २६ करोड ४७ हजार (१७.९४ प्रतिशत) मात्र खर्च भएको छ ।

कर्णालीमा ९ महिनामा २२ प्रतिशत बजेट खर्च

यो गत वर्षको आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशत मात्र बढी खर्च हो । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षको यही बेलामा करिब १८ प्रतिशत खर्चिएको थियो । यो वर्ष सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ६.९८ प्रतिशत बजेट खर्च गरेकोमा विकास बजेट ८.२९ प्रतिशत मात्र सकिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जम्मा १५.४९ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले यो वर्ष ११ अर्ब २३ करोड २९ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, सामाजिक विकास मन्त्रालयका लागि ५ खर्ब ८६ करोड रुपैयाँ विनियोजित भएकोमा ३७.८२ प्रतिशत मात्र बजेट कार्यान्वयनमा आएको छ ।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले २६.३७ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले २९.९ रकम मात्र खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव राजकुमार श्रेष्ठले बजेट सोचेको जस्तो खर्च नहुनुमा प्राविधिक कारण र जनशक्ति अभावको समस्या प्रमुख भएको बताए । उनका अनुसार बेला बेलामा हुने सत्ता परिवर्तनले पनि बजेट खर्चमा समस्या बनाएको छ । उनका अनुसार प्रदेश सरकारले २२ अर्ब ११ करोड ६४ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू मुख्यमन्त्री भएको ५ महिनामै धेरै काम भएको बताए । आफू मुख्यमन्त्री भएपछि कर्णालीमा विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत र अन्य स्वास्थ्यकर्मी गरी करार सेवामा ७३ जनालाई विभिन्न अस्पतालहरूमा नियमित कामकाजमा खटाएको बताए ।

यस्तै, प्रदेशभरका ६६ वटा सामुदायिक स्वास्थ्य इकाइ पुनःस्थापना भएर स्थानीय तहमार्फत कार्य सुचारु भएको उनको भनाइ छ । खेलकुदतर्फ कर्णाली प्रदेशका १० वटै जिल्लामा ८१ वटा खेल मैदान निर्माण सुरु गरिएको उनको भनाइ छ । मुख्यमन्त्री शाहीले आर्थिक वर्षमा कर्णालीका १ हजार २ सय ३९ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नुका साथै १० हजार २ सय ८६ स्वरोजगार बनेको दाबी गरे । ‘कर्णाली प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणाली लागू गरिएको छ,’ उनले भने, ‘प्रदेशले झन्डै १ सय ७० किलोमिटर नयाँ सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । ३० किमि सडक स्तरोन्नति गरेका छौं, ११.५ किमि कालोपत्रे भएको छ ।’

प्रकाशित : वैशाख १२, २०७९ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?