कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘सुइना कर्णाली’ का लेखकको परिवारलाई समस्या

राजबहादुर शाही

मुगु — चर्चित नाटक ‘सुइना कर्णाली’ का लेखक स्वर्गीय सुमन मल्लको परिवारमा आर्थिक समस्या भएको छ । वैशाख २९ गते ४० वर्षको उमेरमा मल्लको मृत्यु भएपछि पत्नी गंगालाई छोराछोरी हुर्काउन समस्या भएको हो ।

‘सुइना कर्णाली’ का लेखकको परिवारलाई समस्या

मल्लको मृत्युपछि परिवारको खर्चको जोहो गर्न र छोराछोरीको पढाइ खर्च धान्न समस्या भएको उनको गुनासो छ । ‘११ महिनासम्म दुःख कष्टका दिन बिताइयो,’ उनले भनिन्, ‘बुढेकालसम्म कसरी दिन कटाउने भन्ने पिरलो छ ।’ गरिबीका कारण छोरीहरू १३ वर्षीया एलिना, ९ वर्षीया सपना र ८ वर्षका छोरा कृष्णलाई कसरी लालनपालन गर्ने भन्ने चिन्ताले सधैं सताउने गरेको उनले गुनासो गरिन् ।

जस्ता पाताले छाएको एक तले घर मात्र आफ्नो सम्पतिको नाममा रहेको उनले बताइन् । उनीहरूको साथमा ७० वर्षीया सासु मुगा पनि छिन् । सासु बिमारी पर्दा औषधि उपचार गर्न झन् समस्या हुने गरेको उनले बताइन् । ‘श्रीमान्को उपचारमा लागेको ३/४ लाख रुपैयाँ ऋण अझैं तिर्न बाँकी छ,’ उनले भनिन्, ‘आफ्नो बारी नहुँदा एक मुठी अन्न पनि उत्पादन हुँदैन, छोराछोरी र सासुको खाना खर्च जुटाउनै मुस्किल भयो ।’

उनको आर्थिक अवस्था थाहा पाएर छायानाथरारा नगरपालिकाले गंगालाई महाकाली माध्यमिक विद्यालयमा चौकीदार रुपमा जागिर दिएको छ । विद्यालयबाट तलबवापत उनले मासिक ६ हजार रुपैयाँ तलब पाउँछिन् । ‘त्यो तलबले कहाँ कहाँ पुर्‍याउने ?,’ उनले भनिन्, ‘सासु बिरामी भइरहनुहुन्छ, २ छाक खान पनि मुस्किल भयो ।’

उनीहरूको समस्या बुझेर गमगढीस्थित सिद्धार्थ बोडिङ स्कुलले ३ छोराछोरीको पढाइ निःशुल्क गरेको छ । तर पाठ्यपुस्तक, कापीकलम, ड्रेसलगायत खर्च भने आफै व्यहोर्नुपरिरहेको गंगाले बताइन् । उनका अनुसार एलिना कक्षा ५, सपना १ र छोरा कृष्ण एलकेजीमा पढ्दैछन् । ‘केही समय त बोर्डिङले निःशुल्क पढाएको छ,’ उनले भनिन्, ‘उनीहरूलाई माथिल्लो तहको शिक्षा कसरी दिने भन्न्ने चिन्ता भइरहन्छ ।’

पहिले सुमन हुँदासम्म राजनीतिक दलका नेता, जनप्रतिनिधि, कर्मचारी, साहित्यकारलगायतका व्यक्तिहरू घरमा आउने गरे पनि अहिले कोही नजाँदा निरास भएको आमा मुगाले दुःखेसो गरिन् । ‘छोराले छोडेपछि चिन्ताले होला शरिर पनि कमजोर हुँदै गएको छ,’ उनले भनिन्, ‘म पनि डाँडामाथिको जुनजस्तै भइसके, मेरो मृत्युपछि बुहारीले एक्लै कसरी नातिनातिनी हुर्काउलिन् ?’ ‘सुइना कर्णाली’सहित ‘कर्णाली दख्खिन बग्दछ’ लगायत नाटक लेखेका मल्लले सुनबहादुर पात्रको भूमिका समेत गरेका थिए ।

प्रकाशित : वैशाख २, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?