सरकारी गाडी ढलमा 

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकाले ३७ लाख रुपैयाँमा किनेको भे–१झ २७९ नम्बरको गाडी एक वर्षदेखि बेवारिस बनेको छ । ३ वर्षअघि गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले चढ्न खरिद गरेको गाडी बिग्रिएपछि सदरमुकाम गमगढी ल्याइएको थियो । अहिले गमगढीको न्युरोडस्थित ढलमा गाडी बेवारिस छ । 

सरकारी गाडी ढलमा 

पालिकाको गाडी ढलमा राखेर जनप्रतिनिधि र कर्मचारी निजी जिप भाडामा लिएर सोरुकोट र गमगढी ओहोरदोहोर गर्ने गरेका छन् । उक्त गाडी मर्मत गर्न करिब २ लाख रुपैयाँ लाग्ने गाउँपालिकाले जनाएको छ । बजेट अभावमा गाडी बेवारिस बनेको गाउँपालिका अध्यक्ष शाहीले बताए ।

२ लाख रुपैयाँ बजेट छुट्याउन नसकेर सरकारी गाडी बेवारिस राख्नु जनप्रतिनिधिको गैरजिम्मेवारीपना भएको स्थानीय तिलक शाहीले बताए । ‘आफ्नो गाडी कबाडी बनाएका छन्, जनप्रतिनिधि र कर्मचारी भने वर्षमा १०/१२ लाख रुपैयाँ खर्च गरी भाडाका गाडी चढ्छन्,’ उनले भने, ‘यो ठूलो अनियमितता हो, जनप्रतिनिधिले सरकारी बजेटको चरम दुरुपयोग गरे ।’ उनले यस्ता गलत प्रवृत्तिविरुद्ध खबरदारी गर्न जरुरी रहेको बताए ।

पालिकाको केन्द्र सोरुकोटसम्म सडक पुगेपछि जनप्रतिनिधि र कर्मचारीको सुविधाका लागि गाडी किनिएको गाउँपालिका अध्यक्ष शाहीले बताए । ‘गाडी मर्मतका लागि बजेट खोज्ने काम भइरहेको छ,’ उनले भने, ‘छिट्टै मर्मत गरी हाम्रो कार्यकाल सकिनुअघि नै गाडी गाउँपालिकामा बुझाइनेछ ।’

प्रकाशित : चैत्र २६, २०७८ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?