कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

राष्ट्रिय प्रसारण लाइन अध्ययन गर्न विज्ञ टोली हुम्लामा

जनकबहादुर शाही

हुम्ला — दिनहुँ लोडसेडिङको मार खेपिरहेको हुम्लामा राष्ट्रिय प्रसारण लाइनको अध्ययन गर्न विज्ञ टोली आइपुगेको छ । हालसम्म विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन नजोडिएका हिमाली जिल्ला हुम्ला र मुगुका लागि अध्ययन गर्न नेपाल विद्युत् प्राधिकरणको समन्वयमा परामर्शदाता विज्ञ टोली जिल्लामा आइपुगेको हिल्दुम वितरण केन्द्रका प्रमुख ईन्जिनियर साजन ऐडीले बताए ।

हुम्लाका सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुलीको दोमुख हुँदै मुगुको गमगढीसम्म राष्ट्रिय प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन गर्न नेपाल विद्युत् प्राधिकरण इन्जिनियरिङ कम्पनीका समाजशास्त्री सुवर्ण चन्दको नेतृत्वमा चार सदस्यीय टोली हुम्ला आइपुगेको हो । कम्पनीले पहिले गुगलबाट अध्ययन गरेको र अब स्थलगतरुपमै अध्ययन गर्ने प्रमुख ईन्जिनियर ऐडीले बताए ।

टोलीले हुम्ला र मुगुका ६ वटा स्थानीय तहका ३६ वटा वडासँग छलफल गर्ने कार्यक्रम छ । टोलीले शनिबारदेखि सिमकोटबाट जनप्रतिनिधि र स्थानीयहरुसँग छलफल सुरु गरेको छ । टोलीले हुम्ला सदरमुकाम सिमकोटदेखि मुगु सदरमुकाम गमगढीसम्म ३५ दिन लगाएर स्थलगतरुपमा अध्ययन गर्न समय तालिका बनाएको टोली नेता चन्दले बताए । आफूले गरेको वातावरणीय प्रभाव मूल्यांकनको अन्तिम प्रतिवेदन आउँदो असारसम्म प्राधिकरणलाई बुझाउने र आगामी आर्थिक वर्षबाट राष्ट्रिय प्रसारण लाइनको जडान सुरु हुने उनले बताए ।

प्रकाशित : चैत्र २०, २०७८ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?