२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

म्याद गुज्रेको जुस खाँदा ४० बालबालिका बिरामी

जुम्ला — गुठिचौर गाउँपालिकामा म्याद सकिएको जुस पिउँदा झन्डै ४० बालबालिका बिरामी परेका छन् । गुठिचौर गाउँपालिका–५ स्थित हिमाली बोडिङ स्कुलमा अध्ययनरत ४० विद्यार्थी एकै दिन बिरामी भएका हुन् । उनीहरूले नजिकैको पसलबाट म्याद सकिएको ‘ट्याङ’ नामक जुस किनेर पिएका थिए ।

गुठिचौर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बालराम नेपालीले ३१ बालबालिका उपचार गराउन अस्थायी कोभिड अस्पतालमा आइपुगेको बताए । उनका अनुसार गर्मीको समयमा म्याद सकिएको जुस पिएपछि बालबालिका बिरामी परेका हुन् । बालबालिकामा पेट दुख्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, काँप्ने र कराउनेलगायत लक्षण देखिएको उनले जानकारी दिए । ‘बालबालिकाको स्वास्थ्य परीक्षणपछि अहिले अभिभावकको जिम्मा लगाएका छौं,’ उनले भने, ‘अभिभावकलाई नियमित सम्पर्कमा रहन भनिएको छ ।’

स्थानीय अभिभावक गोपालबहादुर महतले म्याद सकिएको जुस पिउँदा बालबालिका बिरामी भएको बताए । ‘सन् २०१९ मा तयार भएर २०२१ मार्चमा म्याद सकिएको जुस बालबालिकाले खाएका रहेछन्,’ उनले भने, ‘गाउँमा यस्ता अखाद्य बस्तु छ्यापछ्याप्ती छन्, तर अनुगमन भएको छैन ।’ अहिले बालबालिकाहरूले जुस किनेको पसलबाट झण्डै प्याकेट जुस बरामद गरिएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । उनले शुक्रबारभित्रै पालिकाभित्रका सबै पसलहरूको अनुगमन गरिने जानकारी दिए ।

प्रकाशित : चैत्र १८, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?