कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

३६ वर्षपछि लालपुर्जा पाउँदै कोटमाझखर्कवासी

सुर्खेत — भेरीगंगा नगरपालिकास्थित कोटमाझखर्कका बासिन्दाले ३६ वर्षपछि लालपुर्जा पाउने भएका छन् । २०४२ सालदेखि लालपुर्जाविहीन बनेका कोटमाझखर्कका ४ सय ५० घरपरिवारलाई एक साताभित्र लालपुर्जा वितरण गर्ने गरी राष्ट्रिय भूमि आयोग सुर्खेतले तयारी थालेको छ ।

३६ वर्षपछि लालपुर्जा पाउँदै कोटमाझखर्कवासी

चैत १४ गतेभित्र लालपुर्जा वितरण गर्ने गरी त्यसको अन्तिम तयारी गरिरहेको आयोगले जनाएको हो । जसका लागि राष्ट्रिय भूमि आयोगको कार्यविधि–२०७८ ले तोकेबमोजिमका सबै प्रक्रिया पूरा गरिसकेको आयोगका अध्यक्ष श्रीधर पौड्यालले बताए । उनका अनुसार कोटमाझखर्कका ६ सय ७७ परिवारको निवेदन परेकोमा पहिलो चरणमा ४ सय ५० जनालाई लालपुर्जा दिने अन्तिम तयारी छ । ‘अहिले निवेदनको छानबिन, मिसिल बनाउने, नापीमा रुजु र मालपोत कार्यालयमा हेरफेर गर्नेजस्ता कामहरू भइरहेका छन्,’ उनले भने, ‘निवेदनमा अपुग भएका कागजात माग गरी कित्ताकाँटको प्रक्रिया सुरु गरेका छौं ।’

लामो समयदेखि ऐलानी जमिनमा गुजारा चलाउँदै आएका भूमिहीनलाई जग्गा दिन स्थानीय सरकारले पनि आवश्यक प्रक्रिया अघि बढाइरहेको भेरीगंगा नगरपालिका उपप्रमुख रेणु आचार्यले बताइन् । उनका अनुसार जसका लागि ८ हजार १ सय ५५ रोपनी जग्गाको नाप नक्सांकनको काम गरिएको छ । ‘लामो समयदेखि लालपुर्जाविहीन हुँदा स्थानीयवासी आफ्नै जग्गामा ढुक्कले बस्न पाएका छैनन्,’ उनले भनिन्, ‘बैंकिङ कारोबारमा जग्गा प्रयोग हुन नसक्दा उनीहरूलाई स्वरोजगार बन्न पनि समस्या छ ।’ अहिलेसम्म ५ हजार ९ सय ९४ भूमिहीनको लगत संकलन गरिएको राष्ट्रिय भूमि आयोग सुर्खेतले जनाएको छ । आयोगका अनुसार अव्यवस्थित रूपमा बसोबास गरिरहेका ४७ हजार ४ सय ४१ घरपरिवारले पनि आयोगमा निवेदन दिएका छन् । सबैभन्दा बढी निवेदन चौकुने, सिम्ता गाउँपालिका र पञ्चपुरी, भेरीगंगा र गुर्भाकोट नगरपालिकाबाट परेको आयोगले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिका–५ सितलटोलका भूमिहीनहरूले पनि लामो समयदेखि लालपुर्जा पाएका छैनन् । स्थानीय मंगल बिकले आफूहरू बसोबास गरिरहेको जग्गाको ३८ वर्षसम्म लालपुर्जा पाउन नसकेको बताए । ‘नेताहरूले चुनावमा लालपुर्जा दिने मोह देखाउँछन्,’ उनले भने, ‘तर जितेर गएपछि कहिल्यै फर्केर आउँदैनन् ।’ उनका अनुसार सितलटोलका ६० घरधुरीले अहिलेसम्म लालपुर्जा पाएका छैनन् ।

प्रकाशित : चैत्र १०, २०७८ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?