कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

दिनहुँ सम्पर्कविहीन बन्छ हुम्ला

दैनिक १८ घण्टासम्म लोडसेडिङ, घाम नलाग्दा अधिकांश सोलारहरु बेकामे

सुर्खेत,हुम्ला — एक महिनाअघि सिमकोट गाउँपालिका–४ का जंग शाहीले पत्नी र छोरासहित नेपालगन्ज जान समिट एयरलाइन्सको टिकट काटे । टिकट काटेको भोलिपल्ट उनको उडान थियो । ‘म घरबाट आइनपुग्दै प्लेन उडिसकेछ,’ उनले भने, ‘पछि २ दिनपछि मात्र बल्ल नेपालगन्ज जान पाइयो ।’

दिनहुँ सम्पर्कविहीन बन्छ हुम्ला

जहाज आए पनि उनी त्यसैदिन नेपालगन्ज जान नसक्नुको कारण थियो–सदरमुकाम सिमकोटमा सञ्चार सेवा अवरुद्ध हुनु । अहिले पनि सिमकोटमा दैनिक कम्तिमा २/३ घण्टा मोबाइल र टेलिफोनको टावर गइरहन्छ । ‘मोबाइल टावर नभएर प्लेन छुट्नु त सामान्यजस्तै भइसक्यो,’ सिमकोट विमानस्थल प्रमुख मोहन गिरीले भने, ‘हिमपातको बेला हप्ता दिनसम्म सम्पर्कविहीन भएर बस्नुपर्छ, २/३ घण्टा नेटवर्क नगएको दिनै हुँदैन ।’ उनले टेलिफोन समस्याकै कारण गम्भीर बिरामी भएका र जरुरी काम भएकाहरू नेपालगन्ज र सुर्खेत जानबाट वञ्चित हुने गरेको बताए । उनका अनुसार सडक सुविधा नपुगेको हुम्लामा जहाजको विकल्प छैन । तर टेलिफोन नेटवर्कले यात्रु अलपत्र पर्ने समस्या धेरै भएको उनले सुनाए ।

सिमकोटमा हिल्दुम जलविद्युत् आयोजनाले विद्युत् सेवा विस्तार गरेको छ । ५ सय किलोवाट क्षमताको विद्युत् उत्पादन हुने गरी सञ्चालन गरिएको आयोजनाबाट अहिले मुस्किलले १ सय ८० किलोवाट मात्र बिजुली उत्पादन हुन्छ । जसका कारण सिमकोटबासीले अहिले दैनिक १८ घण्टासम्म लोडसेडिङको सामना गरिरहेका छन् । विद्युत् नभएपछि टेलिफोन, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध हुने गरेको हुम्लास्थित टेलिकम कार्यालयका निमित्त प्रमुख रिङ्जिन आम्मु लामाले बताए । उनका अनुसार टेलिकम कार्यालयमा करिब ३ हजार वाटका २ वटा सोलार जोडिएको छ । तर घाम अस्ताएपछि सोलारले कामै गर्दैन । ‘इन्धनको मुल्य पनि महँगो छ, त्यसैले दिनभरि जेनेटर चलाएर टेलिफोन टावर पनि सञ्चालन गर्न सकिँदैन,’ उनले भने, ‘बिजुली नहुँदा सम्पर्कविहीन भएर बस्नुको विकल्पै भएन ।’ उनका अनुसार हुम्लामा पेट्रोल ३ सय ७० र डिजेल २ सय ५० रुपैयाँमा बिक्री हुन्छ । मुगुको रारा विमानस्थलमा आइपुगेको इन्धन खच्चडबाट सिमकोट पुर्‍याउन ५ दिन लाग्ने भएकाले इन्धनको मुल्य महँगो भएको हो ।

विद्य्त् ुसमस्याका कारण हुम्लामा सञ्चार सेवा मात्र अवरुद्ध हुने गरेको छैन, व्यापार व्यवसाय पनि फस्टाउन नसकेको व्यवसायी विजय लामाले बताए । ‘अहिले त सबै भर बिजुलीमै छ,’ उनले भने, ‘विद्युत् नियमित नहुँदा मोवाइल चार्ज गर्न पनि मुस्किल हुन्छ ।’ उनका अनुसार सिमकोटका अधिकांश व्यवसायीले सोलार जडान गरे पनि घाम नलाग्दा अधिकांश सोलारहरू बेकामे बनेका छन् ।

अहिले सदरमुकाम सिमकोटमा २ सय ४० ल्यान्डलाइन फोन जडान गरिएका छन् । झन्डै ५० हजार मोबाइल प्रयोगकर्ता रहेको कार्यालयले जनाएको छ । जिल्लाका अधिकांश ठाउँका टावरहरू सिमकोटबाट ‘लिंक’ गरिएकाले बत्ती नभए जिल्ला नै सम्पर्कविहीन हुने गरेको हो । टेलिफोन लाइन जाँदा प्रशासनिक काम मात्र होइन बैठक बस्न पनि समस्या हुने गरको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए । ‘सडक त पुगेको छैन, छैन,’ उनले भने, ‘त्यसमा पनि बिजुली र टेलिफोनले दैनिकजसो सास्ती दिइरहेको छ ।’ उनका अनुसार सिमकोटमा निजी कम्पनी एनसेलको टावर भए पनि बत्ती नभएको बेला त्यसले पनि काम गर्दैन ।

हिल्दुम साना जलविद्युत् आयोजनामार्फत अहिले सिमकोट र खार्पुनाथका करिब ६ हजार घरधुरीमा विद्युत् सुविधा पुर्‍याइएको छ । २०६० मा सिमकोट बजारलाई लक्षित गरी निर्माणको काम सुरु गरिएको आयोजना ०६५ मा सम्पन्न भएको थियो । ‘पुगिहाल्ला कि भनेर सिमकोटसँगै खार्पुमा पनि विद्युत् विस्तार गर्‍यौं,’ आयोजना कार्यालयका प्रमुख प्रमुख साजन ऐडीले भने, ‘अहिले त आफ्नै कार्यालयमा पनि बिजुली बाल्न पालो कुनुपर्छ ।’ उनका अनुसार सिमकोटमा वडा विभाजन गरी ३/३ दिनमा राति बिजुली दिने गरिएको छ । पानीको मुहान सुकेपछि हिउँदको समयमा १ सय ८० किलोवाट पनि विद्युत् उत्पादन नहुने उनले गुनासो गरे । असारदेखि असोजसम्म दैनिक ३ देखि ६ घण्टा र कात्तिकदेखि जेठसम्म १८ देखि २० घण्टा लोडसेडिङ हुने उनको भनाइ छ । तर राति ११ देखि बिहान ५ बजेसम्म भने सबै ठाउँमा बिजुली छोड्ने गरिएको छ ।

प्रकाशित : चैत्र ३, २०७८ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?