२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

वैशाखमा शैक्षिक सत्र सकिँदै, किताब अझै आएन

ढुवानी ठेक्का लिएका व्यवसायीको लापरबाही र पुस्तकको रकम अन्यत्रै खर्चिंदा सधैं समस्या

सुर्खेत,मुगु — हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको जाङ र हल्जी गाउँमा दुई आधारभूत विद्यालय छन् । विद्यार्थी नै नभएपछि गत वर्ष तिलगाउँको आधारभूत विद्यालय बन्द भयो । दुई विद्यालयमा करिब एक सय विद्यार्थी छन् । जहाँ कहिल्यै विद्यार्थीलाई किताब पुग्दैन ।

वैशाखमा शैक्षिक सत्र सकिँदै, किताब अझै आएन

सदरमुकाम सिमकोटबाट लिमी जान झन्डै ५ हजार मिटर उचाइका नारा र न्यालु लेक पार गर्नुपर्छ । भारी हिमपातका कारण झन्डै ६ महिना लिमी जाने बाटा बन्द हुन्छन् । भौगोलिक विकटताका कारण गर्मी सुरु भएपछि गाउँ जाने शिक्षकले सदरमुकामबाट लैजाने २/४ थान किताबकै भरमा दुई विद्यालयको पठनपाठन चलिरहेको छ ।

लिमीसहित नाम्खाका अधिकांश विद्यार्थीले अहिले पनि किताब पाएका छैनन् । गाउँपालिकाले पाठ्यपुस्तक खरिद गर्न विद्यालयहरूलाई रकम निकासा गरे पनि अधिकांश विद्यालयले पुरानै किताब वितरण गरेर पठनपाठन गराइरहेका छन् । गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा) ले भौगोलिक विकटताका कारण विद्यार्थीहरू पाठ्यपुस्तकबिनै पढ्न बाध्य हुने गरेको बताए । ‘किताबकै लागि सदरमुकाम आउन सकिँदैन,’ उनले भने, ‘ढुवानीको जिम्मा लिएका पुस्तक व्यवसायीले एक त किताब ल्याउँदैनन्, ल्याए पनि पुग्ने गरी हुँदैन ।’ गाउँपालिकाको माथिल्लो भेगका केही विद्यालयका विद्यार्थीले पुरानै किताबले काम चलाइरहेका छन् ।

हुम्लाको नाम्खा मात्र होइन, माथिल्लो डोल्पाको शे–फोक्सुन्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकामा पनि किताब नपुग्ने समस्या वर्षौंदेखि छ । ‘चामल त नियमित आउँदैन,’ डोल्पोबुद्ध–४ का पेम्बा लामाले भने, ‘किताब झन् कसरी नियमित आउनु ?’ उनले विद्यार्थीहरूले ३/४ वर्ष पुरानै किताबले काम चलाउने गरेको बताए । उनका अनुसार पाठ्यपुस्तक खरिदका लागि आएको रकम विद्यालयहरूले निजी स्रोतका शिक्षकको तलबमा प्रयोग गर्दा माथिल्लो डोल्पाका अधिकांश विद्यालयमा पुस्तक नपुगेको हो ।

यो वर्ष कर्णालीका हिमाली जिल्लामा भदौदेखि पठनपाठन सुरु भएको हो । बर्सेनि फागुनदेखि सुरु भई कात्तिकमा सकिने हिमाली जिल्लाको शैक्षिक क्यालेन्डर २ वर्षयता बिग्रिएको छ । भदौमा खुलेका विद्यालय दसैंतिहारका लागि झन्डै १ महिना बिदा भए भने कोरोना महामारीका कारण १ महिना पढाइ भएन । त्यसैले हिमाली जिल्लामा यो वर्ष २ महिना पनि पढाइ नभएको शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाका प्रमुख तिलक भट्टराईले बताए । ‘कोरोना महामारीले पठनपाठनमा ठूलो असर पर्‍यो,’ उनले भने, ‘महामारीकै कारण सबै विद्यार्थीको हातहातमा किताब पनि पुग्न सकेको छैन ।’

मुगुको मुगुमकार्मारोङ गाउँपालिकास्थित बुद्ध माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले पनि अझै वातावरण विज्ञान विषयको पुस्तक पाएका छैनन् । ‘शैक्षिक सत्र सकिन लाग्यो,’ विद्यार्थी नोर्बु तामाङले भने, ‘पुरानो पुस्तक पनि नभएपछि साथीसँग मागेर पढ्नुपरेको छ ।’ मुगुमकार्मारोङकै आवासीय विद्यालयका कक्षा ६ का सबै विद्यार्थीले पनि विज्ञान, सामाजिक, नेपालीलगायत विषयको किताब नपाएको प्रधानाध्यापक कुशल शाहीले बताए । ‘किताब नआएपछि पुराना किताब वितरण गरेका छौं,’

उनले भने, ‘यो वर्ष पनि विद्यार्थीले च्यातिएका किताब पढेरै वार्षिक परीक्षा दिने भए ।’ सोरु गाउँपालिकाको जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले पनि पूरै किताब पाएका छैनन् ।

खत्याड गाउँपालिकास्थित सर्वोदय माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा अनिता कार्कीले पुरानै च्यातिएका किताब पढेरै एसईईको तयारी गरिरहेको बताइन् । उनकी साथी सोविना कार्कीले पनि गत वर्ष आफ्नी दिदीले पढेका किताब पढिरहेको सुनाइन् । सदरमुकाम गमगढीस्थित महाकाली माविमा पनि कक्षा ३ देखि ५ सम्म केही विषयका पुस्तकको अभाव छ ।

शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिनाअघि विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइसक्ने संघीय सरकारको नीति भए पनि हिमाली जिल्लामा सधैं बेवास्ता हुने गरेको नागरिक अगुवा रूपबहादुर मल्लले बताए । ‘विद्यार्थीले नयाँ कक्षामा जाँदा पनि पुरानै किताब पढ्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘योपल्ट झन् व्यापारीले कोरोना महामारीको निहुँ बनाएर किताबै ल्याएनन् ।’ यो वर्ष मुगुका सोरु, मुगुमकार्मारोङ र छायानाथरारामा पुस्तक ढुवानीको जिम्मा जयलक्ष्मी स्टेसनरीले लिएको थियो । मुगुका १ सय ४१ वटा सामुदायिक विद्यालयमध्ये केही विद्यालयमा केही विषयका पुस्तक नपुगेको गुनासो आएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सूर्यबहादुर खत्रीले बताए ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभरि ५ हजार ७ सय ७४ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा ६ लाख ५७ हजार विद्यार्थी अध्ययनरत छन् । मन्त्रालयका सूचना अधिकारी रामप्रसाद उपाध्यायका अनुसार यो वर्ष कर्णालीका विभिन्न जिल्लामा झन्डै ४ लाख पाठ्यपुस्तक पठाइएको छ । समयमै पाठ्यपुस्तकको रकम निकासा नहुनु, ढुवानी ठेक्का लिएका व्यवसायीको लापरबाही, पुस्तकको रकम अन्यत्र खर्च गर्नुलगायत कारण दुर्गमका विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको उनले जानकारी दिए ।

प्रकाशित : फाल्गुन २३, २०७८ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?