२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

१५ करोड लगानीमा ग्याबिन वायर उद्योग

ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेशमै पहिलोपल्ट ग्याविन वायर उद्योग सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ औद्योगिक क्षेत्रमा झन्डै १५ करोड लागतमा स्थापना गरिएको उद्योगको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरे ।

व्यवसायी पञ्चरत्न शर्मा, श्यामप्रकाश सापकोटा, दुर्गाप्रसाद रेग्मी र सिद्धिखर रेग्मीले सुरक्षा ग्याविन वायर इन्डस्ट्रिज प्रालि सञ्चालनमा ल्याएको हुन् ।

चीनबाट खरिद गरेर ल्याइएको मेसिनले सुर्खेतमै ग्याविन तारजाली उत्पादन गर्न सकिने उद्योगका अध्यक्ष सिद्धिखर रेग्मीले बताए । उनका अनुसार मेसिनबाट दैनिक ९ हजार ६ सय वर्गमिटर ग्याविन बक्स र २ हजार किलोग्राम चेनलिंक (घेरबार जाली) उत्पादन गर्न सकिन्छ । ३ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले ४० जनालाई रोजगारी दिएको उनले जानकारी दिए ।

यसअघि ग्याविन तारजाली बाहिरबाट ल्याउनुपर्ने बाध्यता थियो । ‘सुर्खेतमै उद्योग सञ्चालन भएपछि सस्तो दरमा तारजाली पाइने र ढुवानी खर्च बच्ने देखिन्छ,’ अध्यक्ष रेग्मीले भने, ‘अरु प्रदेशमा पनि तारजाली पठाउने गरी उत्पादन सुरु गरेका हौं ।’ उद्योगले अहिले २२ प्रकारका साइजमा ग्याविन तारजाली उत्पादन गर्दै आएको छ ।

मुख्यमन्त्री शाहीले निजी क्षेत्रलाई सक्षम बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए । ‘निजी क्षेत्र सक्षम नभएसम्म अन्य क्षेत्रको विकासको परिकल्पना गर्न सकिन्न,’ उनले भने, ‘उद्योगी र उद्यमीहहरूको विकास गर्नमा सरकार सदैव तत्पर रहन्छ ।’

सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कर्णालीमा ठूला लगानीका उद्योग खोलेर रोजगारीको सिर्जना गर्न आवश्यक रहेको बताए । ‘अब रोजगारीकै लागि भारतका विभिन्न ठाउँमा जान आवश्यक छैन,’ उनले भने, ‘कर्णालीका १० ठूला व्यापारीले १/१ वटा ठूला उद्योग सञ्चालन गरे कर्णालीका आधा युवाले यतै रोजगारी पाउँछन् ।’

प्रकाशित : फाल्गुन २१, २०७८ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?