वीरेन्द्रनगरमा कर्फ्यू हटाएर निषेधाज्ञा

कान्तिपुर संवाददाता

सुर्खेत — जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा सोमबार लगाएको २४ घण्टे कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ । एमसीसी पारित भएको विषयमा ८ वटा साना कम्युनिस्ट दलले गरेको बन्दमा तोडफोड र आगजनी भएको भन्दै सोमबार ८ बजेदेखि मंगलबार ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको थियो ।

वीरेन्द्रनगरमा कर्फ्यू हटाएर निषेधाज्ञा

जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू हटाएर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । ‘मंगलबार दिनभर कुनै अप्रिय घटना भएनन्,’ उनले भने, ‘सोमबार बढी प्रदर्शन भएको क्षेत्रमा निषेधाज्ञा तोकेका छौं ।’

प्रशासनले वीरेन्द्रनगर–६ स्थित मुख्य बजार क्षेत्रमा निषेधाज्ञा तोकेको हो । निषेधाज्ञामा अत्यावश्यक काममाबाहेक ५ जनाको समूह बनाएर हिँड्न नपाइने र जुलुस गर्न नपाइने निर्णय भएको उनले जानकारी दिए ।

सोमबार एमसीसी पारित भएको विषयमा साना ८ दलले गरेको बन्दका क्रममा भीड अनियन्त्रित भएपछि प्रशासनले कर्फ्यू लगाएको थियो । प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी निरीक्षक लालबहादुर सुनारसहित १८ जना प्रहरी घाइते भएका थिए् ।

प्रर्दशनकारीले एउटा प्रहरी बिटसहित एमालेको पार्टी कार्यालयमा आगजनी गर्नुका साथै कांग्रेस र माओवादीको कार्यालयमा तोडफोड गरेका थिए ।

प्रकाशित : फाल्गुन १७, २०७८ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?