निर्वाचन सुरक्षामा जुट्दै स्थानीय प्रशासन

ज्योति कटुवाल

सुर्खेत — वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लाको स्थानीय प्रशासन चुनावलक्षित सुरक्षा रणनीति बनाउन जुटेको छ । स्थानीय तहको निर्वाचनलक्षित संयुक्त सुरक्षा रणनीति बनाउन सुर्खेत प्रशासनको आयोजनामा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक गरिएको छ ।

निर्वाचन सुरक्षामा जुट्दै स्थानीय प्रशासन

सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका जिल्लास्थित प्रमुखहरूको उपस्थितिमा सुरक्षाको अवस्था र आगामी रणनीतिका बारेमा छलफल गरिएको हो । सीमामा कोरोना रोकथाम नियन्त्रण प्रतिकार्य, खोप कार्ड अनिवार्य गर्ने, फरार अपराधी पक्राउ अभियान तीव्र पार्नेलगायत निर्णय गरिएको खगेन्द्रप्रसाद रिजालले बताए । उनले प्रशासनसँगै सुरक्षा निकायलाई अतिरिक्त सहयोगका लागि नीतिगत व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गरिएको जानकारी दिए ।

अन्तरजिल्ला सुरक्षालाई प्रभावकारी बनाइ समन्वयात्मक ढंगले अगाडि बढ्ने गरी निर्णय भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । उनका अनुसार सीमा क्षेत्रमा हुने ग्रैह्रकानुनी क्रियाकलापलाई ६ वटै जिल्लाको समन्वयमा नियन्त्रण गर्न आवश्यक रहेको औल्याइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा र सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले आगामी सुरक्षा योजना प्रस्तुत गरेका थिए । उनीहरूले विपद्का घटनाहरूसँग समन्वय, लागूऔषध ओसारपसार र सूचना आदानप्रदान गर्न बैठक महत्वपूर्ण भएको जनाएका छन् । समन्वय बैठकले अन्तर जिल्लास्तरीय सुरक्षा, विपद्का घटनाहरूमा समन्वय र अपराधका घटनालाई न्यूनीकरण गर्न सबै सुरक्षा निकायको सक्रियताबारे छलफल गरेको छ ।

प्रकाशित : फाल्गुन ६, २०७८ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?