झोलुंगे पुलबाटै सवारी वारपार

विप्लव महर्जन

सल्यान — बाग्चौर–कोटमौला सडकअन्तर्गत शारदा नदीमा पक्की पुल नहुँदा झोलुंगे पुलबाट मोटरसाइकल, स्कुटरलगायत २ पांग्रे सवारी साधन वारपार गराउनुपर्ने बाध्यता छ । पक्की पुल नहुँदा वर्षाको समयमा सडकमा यातायात सेवा अवरुद्ध हुने गरेको छ ।

नदीमा पानीको बहाव उच्च हुँदा हिउँदको समयमा पनि अधिकांश मोटरसाइकल झोलुंगे पुलबाट आउजाउ हुन्छन् । नदीबाट मोटरसाइकल तार्दा ढुंगा लाग्ने भएकाले मोटरसाइकल चालकहरूले झोलुंगे पुलबाटै सवारी आउजाउ गराउने गरेका हुन् । मानिस हिँड्न बनाएको झोलुंगे पुलबाट मोटरसाइकल वारपार गराउँदा पुलमा जोडिएका किला फुस्किदै गरेका छन् । लामो समयदेखि पक्की पुल निर्माण गर्न माग गरे पनि बेवास्ता भइरहेको स्थानीय कमल केसीले बताए । ‘सडकमा गाडी चल्न थालेको एक दशक बित्यो,’ उनले भने, ‘पुल नबन्दा जोखिम मोलेरै खोलाबाट चार पांग्रे सवारी वारपार गराउनुपरेको छ ।’ उनले वर्षायामको झन्डै ६ महिना यातायात सेवा अवरुद्ध हुने गरेको बताए ।

नदीभन्दा झन्डै २० मिटरको उचाइमा झोलुंगेपुल छ । त्यसबाट मोटरसाइकल वारपार गराउँदा धेरै हल्लिने भएकाले एकजनाले मात्रै सवारी तार्न सक्ने अवस्था नभएको कोटमौलाका धनबहादुर डाँगीले बताए । ‘झोलुंगे पुल भएकाले मोटरसाइकल बाह्रै महिना चलाउन सकिने भए पनि वर्षातको समयमा नदी ठूलो हुँदा चारपांग्रे गाडी आउजाउ गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘मोटरसाइकल वारपार गराउन पनि २/३ जनाले समातेर लैजानुपर्ने बाध्यता छ ।’ हिउँदमा नदीमा पानीको मात्रा घटे पनि खाल्डो र नदीमा बग्ने ढुंगाका कारण समस्या भएको उनको भनाइ छ ।

गत वर्ष प्रदेश सरकारबाट पक्की पुल निर्माणको योजना परे पनि ठेकेदार कम्पनीले अझै काम सुरु नगरेको मोटरसाइकल चालक बलबहादुर ओलीले बताए । ‘झोलुंगे पुलबाट मोटरसाइकल वारपार गराउँदा पनि जोखिम हुन्छ,’ उनले भने, ‘पुल हल्लिएको हल्लियै गर्छ, यताउति भएमा मोटरसाइकल पल्टने सम्भावना हुन्छ ।’ झोलुंगे पुलबाट दैनिक ७० वटासम्म मोटरसाइकल वारपार हुने भएकाले पुल जीर्ण बन्दै गएको स्थानीय युवा बलबहादुर ओलीले बताए । उनका अनुसार झोलुंगे पुल जीर्ण बन्दै गए पनि मर्मतमा कसैको ध्यान गएको छैन । वर्षायाममा गाउँमा कोही बिरामी भए स्ट्रेचरमा राखेर बिरामीलाई अस्पताल लैजानुपर्ने बाध्यता छ ।

बाग्चौर नगरपालिकाका–८ का वडाध्यक्ष रोमु शाहीले पुल समयमै नबन्दा मोटरसाइकल वारवार गराउदा पनि धेरै जोखिम उठाउनुपर्ने बाध्यता भएको बताए । उनका अनुसार यो वर्ष झोलुंगे पुलबाटै मोटरसाइकल वारपार गराउँदा झण्डै एक दर्जन दुर्घटना भएका छन् । गत वर्ष प्रदेश सरकारले पुल निर्माणको टेन्डर गरे पनि ठेकेदार कम्पनीले काममा गरेको ढिलासुस्ती गरेको उनले बताए ।

प्रकाशित : फाल्गुन ६, २०७८ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?