कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

बुढेसकालको सहारा बाख्रापालन

जंगलको बीचमा एक्लै बस्दा वन्यजन्तुले आक्रमण गर्ने डर भए पनि उनलाई पुर्ख्यौली गाउँ छोड्न मन छैन
कान्तिपुर संवाददता

सल्यान — कालीमाटी गाउँपालिका–२ बराढुंगाका केशर पुन उमेरले ६८ वर्ष पुगे । एक सन्तानका बाबु उनका छोरा मजदुरीका लागि भारत जान्छन् । बुहारी माइत र घर दुवैतिर बस्ने भएकाले उनी अधिकांश घरमा एक्लै हुन्छन् । २ बाख्राबाट ५ वर्षअघि बाख्रापालन सुरु गरेका उनको गोठमा अहिले २० बोका, बाख्रा र पाठापाठी छन् ।

‘घरमा धेरैजसो एक्लै हुने भएकाले बुढ्यौलीमा समय बिताउने मेलो पनि बनेको छ,’ उनले भने, ‘कमाइ पनि भइरहेको छ ।’

घरमा काम गर्ने कोही मान्छे नहुँदा झन्डै ७ रोपनी जग्गा बाँझो बनेको उनले बताए । ‘जंगलको बस्चमा रहेको घरमा एक्लै बस्छु,’ उनले भने, ‘घाँसपातको भएकाले व्यवसाय गर्न खासै समस्या छैन ।’ बाख्रापालनमा लागेर कुनै महिना ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले सुनाए । जंगल नजिकै भएकाले बाख्रालाई घाँसपात गर्न समस्या छैन । दानापानीको समस्या भने बेला बेलामा हुने गरेको उनले बताए । बेरोजगारीको समस्याले गर्दा छोरालाई कमाउन न जाउ भन्न नसकिएको उनको भनाइ छ ।

पुनले अरू व्यवसायभन्दा बाख्रापालन गर्न सजिलो रहेको बताए । ‘न भाउ घट्ने डर छ, न बजारकै समस्या,’ उनले भने, ‘व्यापारीहरू बाख्रा किन्न गोठमै आउँछन्, जसले बुढेसकालमा पनि बाख्रापालन गर्न हौस्याएको छ ।’ उनका अनुसार अहिले गोठबाटै १५ हजारदेखि २५ हजार रुपैयाँसम्ममा बाख्रा बिक्री हुने गरेको छ । तर बजार टाढा हुँदा परम्परागत तरिकाले नै बाख्रापालन गरिरहेको र उन्नत जातका बाख्रा पाल्न नसकिएको उनको भनाई छ ।

बराढुंगामा ५ वर्षअघिसम्म १९ परिवारको बसोबास थियो । विकासको कुनै पूर्वाधार नभएपछि सबै परिवार अन्यत्र बसाइ सरेपछि पुन मात्र बस्छन् । जंगलको बिचमा एक्लै बस्दा वन्यजन्तुले आक्रमण गर्ने डर भए पनि उनलाई पुर्ख्यौली गाउँ छोड्न मन छैन । गाउँमै बाख्रापालनमा रमाए पनि खसीबाख्रा र पाठापाठीमा कुनै समस्या देखिए प्राविधिक सहयोग लिन समस्या भएको उनले गुनासो गरे । उनका अनुसार गाउँपालिकाको केन्द्र रामपुरमा रहेका एग्रोभेटमा गएर बाख्राको उपचार गराउनुपर्ने बाध्यता छ । बराढुंगाबाट रामपुर जान ३ घण्टाको पैदल दूरी छ ।

प्रकाशित : फाल्गुन १, २०७८ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?