कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

हिमपातले खोप अभियान प्रभावित

सिमकोटमा झन्डै साढे दुई फिटसम्म हिउँ, नेपालगन्ज र सुर्खेतबाट हुने सबै उडान अवरूद्ध

कालीकोट, मुगु, रुकुम पश्चिम र हुम्ला — कर्णालीका हिमाली जिल्लाहरूमा बिहीबार साँझदेखि परेको भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हिमपातका कारण नेपालगन्ज र सुर्खेतबाट हुने सबै उडान अवरुद्ध भएका छन् । हुम्लामा खोप अभियान प्रभावित भएको छ ।

हिमपातले खोप अभियान प्रभावित

भारी हिमपातका कारण एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्नसमेत कठिनाइ भएको छ । सदरमुकाम सिमकोटमा झन्डै साढे दुई फिटसम्म हिउँ जमेको छ । तापक्रम माइनस ९ डिग्रीमा झर्दा घर बाहिर निस्कन समस्या भएको सिमकोटका कुल रावतले बताए । उनका अनुसार हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर जान समस्या भएको छ । हिमपातका कारण ट्युसन पढ्न नपाउँदा एसईईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेको उनले जानकारी दिए । उत्तरी नाम्खा चारफिट बढी हिउँ जम्यो हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा चार फिटभन्दा बढी हिमपात भएको छ । नाम्खा गाउँपालिकाका विभिन्न गाउँमा झन्डै साढे ४ फिटसम्म हिउँ जमेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिल्सा, न्यालु, यारीलगायत क्षेत्रहरू प्राकृतिक सिलबन्दीमा परेका छन् ।

हिमपातका कारण खोप अभियान प्रभावित भएको जिल्ला स्वास्थ्य प्रमुख प्रेमबहादुर सिंहले बताए । उनका अनुसार २ दिनयता कुनै पनि खोप केन्द्रमा खोप लगाइएको छैन । ‘लगातार हिमपात भएपछि खोप लगाउनेहरू खोप केन्द्रमा पुग्न सकेका छैनन्,’ उनले भने, ‘चिसो अत्यधिक बढ्दा स्थानीयलाई घरभित्रै आगो तापेर बस्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार जिल्लामा दोस्रो मात्राको कोरोनाविरुद्धको खोप लगाउने तयारी गरे पनि हिमपातले बाटो चिप्लो हुँदा स्वास्थ्यकर्मीलाई पनि खोप केन्द्रमा जान समस्या भएको छ । एक साता अघिसम्म सिमकोट गाउँपालिका–१ स्थित दोजाम आधारभूत स्वास्थ्य सेवा केन्द्रमा दैनिक १ सय ५० जनासम्मले खोप लगाएका थिए । तर २ दिनयता खोप लगाउन आउनेको संख्या शून्य भएको केन्द्रका स्वास्थ्यकर्मी रत्न बोहराले बताए । जिल्लाका ७ वटै गाउँपालिकाका ८१ वटा खोप केन्द्रमा खोपसहित स्वास्थ्यकर्मी पुगेर अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जसका लागि झण्डै २ सय स्वास्थ्यकर्मी परिचालन गरिएको छ । बालबालिकाका लागि मोडर्ना खोप लगाउन पनि समस्या भएको प्रमुख सिंहले बताए ।

कालीकोटमा पनि हिमपातले जनजीवन कष्टकर बनेको छ । कालीकोटका ९ वटै स्थानीय तहमा हिमपात भएको छ । १२ वर्षपछि धेरै हिउँ परेको खाडाचक्र–३ दहवनका बौदे पाण्डेले बताए । उनी बस्ने दहवनमा ३ फिट हिउँ जमेको छ । ‘हामी पनि बाहिर निस्कन सकेका छैनौं,’ उनले भने, ‘बस्तुभाउ पनि गोठभित्रै थुनिएका छन् ।’ अत्याधिक हिमपातले तिलागुफाको फेइमहादेव, राचुलीको रताडा, चिल्खायाको रुरु, महाबैको डिल्लीकोट, शुभकालिको थुनी, नरहरिनाथको खातीरुप्सा, दुदुल्ली, उत्छवलगायतका बस्ती सेताम्मे भएका छन् ।

हिउँले चिसो बढे पनि अन्नबाली र फलफूलका लागि राम्रो हुने खाडाचक्र नगरपालिकास्थित कृषि शाखा प्रमुख पर्शुराम काफ्लेले बताए । उनले फलफूल र अन्न बालीमा लाग्ने रोगकिरा पनि मर्ने भएकाले हिउँ पर्नु राम्रो भएको जानकारी दिए । हिमपातले कालीकोटको मान्म हुँदै जुम्ला र मुगु जाने कर्णाली राजमार्ग अवरुद्ध छ भने सबैजसो ग्रामीण सडकमा गाडी बन्द छन् ।

हिउँले मुगुका सबैजसो गाउँबस्ती ढाकिएका छन् । मुगमकार्मारोङ गाउँपालिकाको मुगु र डोल्फू गाउँमा सबैभन्दा बढी ४ फिटसम्म हिउँ परेको छ भने गमगढी, भामबाडा, श्रीनगर, कार्कीबाडा, थार्पलगायत बस्तीमा झन्डै २ फिट हिउँ जमेको छ । हिउँदको बेला सुक्खा बनेका गाउँबस्ती अहिले कपास बिछ्याएजस्तै सुकिल्ला (सेतै) देखिएको छायानाथ रारा नगरपालिकास्थित भामबाडाका डबलबहादुर रोकायाले बताए । बाक्लो हिउँ परेपछि गहुँ, जौ, कोदो, फापर, आलुलगायत बाली उत्पादनमा वृद्धि हुने आशा पलाएको उनले बताए । ‘हिमपातले लामो समयसम्म जमिन ओसिलो हुने भएकाले बालीनालीका निम्ति राम्रो हुन्छ,’ उनले भने, ‘हिउँले यो वर्ष पनि सुबिकाल ल्यायो ।’

हिमपातले स्थानीयलाई जडीबुटी उत्पादनमा वृद्धि हुने आशा पलाएको छ । बाक्लो हिउँ परेपछि यार्चागुम्बु, गुच्चीच्याउ, सेतक चिनी, चिराइतो, कटुकी, भोल्तेलगायत जडीबुटीको उत्पादनमा वृद्धि हुने आशा गरिएको मुगुमकार्मारोङ गाउँपालिकास्थित महका जडीबुटी व्यापारी सशांक लामाले बताए । उनका अनुसार हिउँले स्याउको उत्पादन पनि बढ्ने अपेक्षा छ । ‘हिउँका बोटमा यो वर्ष सिँचाइ गर्नुपर्ने बाध्यता टर्‍यो,’ उनले भने, ‘हिउँ बिलाएपछि काँटछाँट र गोडमेल सुरु हुन्छ ।’ हिमपातले खोलानाला र तालहरूमा पानीको सतह घटेको बताए । उनका अनुसार खडेरीले सुकेका पानीका मुहान पनि फुछ्न थालेका छन् ।

पटकपटक भएको हिमपातले किसानलाई राहत भएको छ । विशेषगरी आकाशे पानीको भरमा खेतीपाती गरिरहेका किसानलाई हिमपातले सहयोग पुर्‍याएको हो । रुकुम पश्चिमका उच्च लेकाली बस्तीहरूमा अहिलेसम्म ७ पटक हिमपात भइसकेको छ । हिउँदमा सधैं बाली नभएर रातो माटो मात्रै देखिने असिञ्चित क्षेत्र यो वर्ष हरियो देखिएको चौरजहारी नगरपालिका–१२ का टेकबहादुर ओलीले बताए । ‘यो वर्ष बालीलाई पानी त पुग्यो,’ उनले भने, ‘तर बाली पाक्ने बेला असिना पर्छ कि भन्ने चिन्ता छ ।’ पटकपटक परेको हिउँ र पानीले यस पटकको बाली सप्रने आशा बढाएको सानीभेरी गाउँपालिका–३ का जुद्धबहादुर विष्टले बताए ।जिल्ला कृषि विकास कार्यालयका अनुसार रुकुम पश्चिमको ६९ प्रतिशत भूभाग असिञ्चित छ । कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले यस पटकको हिउँदे बाली सप्रने सम्भावना बढेको बताए ।

प्रकाशित : माघ २४, २०७८ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?