कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमपातले हुम्लामा खोप अभियान प्रभावित

जनकबहादुर शाही

हुम्ला — हुम्लामा लगातार तीन दिनदेेखिको भएको हिमपातले खोप केन्द्रमा सेवाग्राही नआउँदा कोरोनाविरुद्धको खोप अभियान प्रभावित भएको छ ।

हिमपातले हुम्लामा खोप अभियान प्रभावित

ठाउँठाउँमा छरिएर रहेका बस्तीसँगै सबै ठाउँमा बाक्लो हिउँ जमेर आवतजावत नै अवरुद्ध हुँदा खोप लगाउने सेवाग्राहीहरु खोप केन्द्रमा आउन नसक्दा समस्या भएको हो । हिमपातका कारण खोप लगाउन नसकिने र सेवाग्राही पनि खोप केन्द्रमा आउन नसक्ने भएपछि खोप अभियान बन्द भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

खार्पुनाथ–५ खर्पेलगाउँमा रहेको स्वास्थ्य चौकीले स्वास्थ्य चौकीमा आइ खोप लगाउन सूचना गरेपनि बाटो चिप्लो भएकाले जान नसकेको दोस्रो खोप लगाउन बाँकी रहेका खार्पुनाथ–५ ताक्लाका सौरे बोगटीले बताए । हिउँ पर्न रोकिएको भएपनि अत्यधिक जाडो बढेको र खोप केन्द्र जाने बाटो चिप्लो भएकाले खोप लगाउन जान नसकेको उनले बताए ।

हिमपातले नाम्खा र सिमकोट गाउँपालिकाका खार्पुनाथ, सर्केगाड र चंखेली गाउँपालिकाका केही अग्ला बस्ती तथा स्वास्थ्य संस्थामा हिमपातले खोप लगाउने कार्य बन्द भएको र चिसोले गर्दा खोप केन्द्रमा स्वास्थ्यकर्मी उपस्थित भएपनि हिउँको बाटोबाट सेवाग्राही कोही आउन नसक्ने भएकाले जिल्ला भरि कोरोनाविरुद्धको खोप लगाउने खोप अभियान प्रभावित भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख सिंहले बताए ।

दैनिक डेढ सय सेवाग्राहीले खोप केन्द्रमा आएर खोप लगाउने गरेको भएपनि हिमपातले जिल्ला अस्पतालसहित जिल्लाका सातवटै गाउँपालिकाका ८१ वटा खोप केन्द्रमा खोपसहित स्वास्थ्यकर्मी पुगेर अभियान सञ्चालन गरेपनि हिमपातसँगै जाडो बढेपछि चिसोले तापक्रम माइनस पुगेका कारण खोप लगाउने कार्य प्रभावित भएको उनले बताए ।

अहिले जिल्लाभरि खोप अभियान सञ्चालनका लागि २ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् । जिल्ला भरि सञ्चालित खोप लगाउन नपाएका बालबालिकाका लागि मोडर्ना खोपको दोस्रो मात्रा, बुस्टर खोप र अन्य पहिलो र दोस्रो मात्राको खोप लगाउने कार्य सञ्चालन भएको भएपनि हिमपातका कारण यो कार्य प्रभावित भएको छ ।

प्रकाशित : माघ २३, २०७८ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?