१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बाँफिकोटमा सुक्यो स्यानी दह

हरि गौतम

रुकुम पश्चिम — ५ वर्ष अघिसम्म बाँफिकोट गाउँपालिका–३ स्थित स्यार्पु ताल घुम्न गएका पर्यटक नजिकैको स्यानी दहमा पनि पुग्थे । तर ३ वर्षयता हिउँदको समयमा स्यानी दहको पानी सुकेको छ ।

वर्षामा दह भरिन्छ भने हिउँदमा दहको पूरै भाग सुकेको देखिन्छ । हिउँदमा त्यहाँ पुग्नेले दह नभई खाली चौर र कुलो मात्रै देख्छन् । ‘अब त स्यानी दह छ पनि किन भन्ने हो र ?,’ स्थानीय प्रजित ओलीले भने, ‘स्यानी दह अब त कुनै बेलाको कथाजस्तो भइसक्यो ।’ स्यार्पु ताल र स्यानी दह दिदीबहिनीजस्तै भएको उनको भनाइ छ । हिउँदको समय स्यार्पुभन्दा स्यानी दहको पानी तातो हुन्थ्यो । ‘मान्छेहरू दह हेर्न मात्रै होइन, नुहाउन पनि आउँथे, अब भने दह नै सुकेपछि पहिचान नै हरायो,’ उनले भने, ‘स्यार्पु तालसँगै यो तालको पनि आफ्नै पहिचान थियो, आफ्नै विशेषता थिए ।’ मानवीय गतिविधिकै कारण दह सुकेको उनको बुझाइ छ ।

पछिल्लो समय दह वरिपरि विभिन्न निर्माणका कामहरू भएका छन् । यो दहको जलाधार क्षेत्रतर्फ सडक निर्माण गरिएको छ । वनजंगल फँडानी भएको छ । यसका कारण पनि दह सुकेको स्थानीय बेगम केसीले बताए । उनका अनुसार दह वरिपरि प्रयोग गरिएको ठूला मेसिनले थर्केर पनि दहको पानी जमिनमुनि गएको अनुमान गरिएको छ । ‘यसमा हाम्रै कारण होला जस्तो लाग्छ,’ उनले भने, ‘अहिले त यसको मुहानै सुक्यो ।’ वर्षामा दह देखिने र हिउँद लाग्दै जाँदा दह एउटा खाली चौरको रूपमा परिणत हुने गरेको उनले बताए ।

हिउँदमा यो दहमा पानी हुँदा स्थानीयसहित आसपासका सामुदायिक वनमा चराचुरुंगी र पशुबस्तुलाई समेत सजिलो हुन्थ्यो । दह सुकेकाले हिउँद सिजनमा बसाइँ सरेर आउने चराहरू पनि आउन छाडेको बाँफिकोट–३ का वडा सदस्य उर्दबहादुर पुरीले बताए । उनका अनुसार दह सुकेपछि आसपासका क्षेत्रका खेतीयोग्य जग्गा पनि बाँझिन थालेका छन् । स्थानीयले ३ वर्ष अघिसम्म स्यानी दहकै पानीले आसपासका क्षेत्रमा बालीनाली लगाउँथे । दह सुकेपछि समग्र पारिस्थितिक प्रणालीमै असर परेको उनको भनाइ छ ।

प्रकाशित : माघ २३, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?