१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

घरघरमा संक्रमित, परीक्षण अभाव

लक्षणसहितका बिरामीले परीक्षण गराउन नपाउँदा संक्रमणको जोखिम बढ्दै गएको छ 
विप्लव महर्जन

सल्यान — तेस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि सरकारले खोप तथा कोरोना परीक्षणलाई तीव्र बनाउन देशभरिका सबै स्वास्थ्य कार्यालय तथा स्थानीय तहलाई निर्देशन गरेको छ । निर्देशनअनुसार सल्यान जिल्लामा स्वास्थ्य कार्यालय तथा स्थानीय तहले खोपलाई तीव्रता दिए पनि कोरोना परीक्षणलाई तीव्रता दिन सकेका छैनन् । 

घरघरमा संक्रमित, परीक्षण अभाव

सम्बन्धित निकायले कोरोना परीक्षणलाई तीव्र बनाउन नसक्दा जिल्लाका घरघरमा देखिएका लक्षणसहितका बिरामी प्रभावित भएका छन् । सम्बन्धित निकायले कोरोना परीक्षणलाई केही स्वास्थ्य संस्थामा मात्र सीमित गरेका कारण लक्षणसहितका बिरामीले परीक्षण गराउन नपाएका हुन् ।

बन्गाड कुपिण्डे नगरपालिका–९ सेराका चन्द्रबहादुर रोकाले आफू बिरामी भएको चार दिन भइसक्दा पनि परीक्षण गराउन नपाएको बताएका छन् । पालिकाका स्वास्थ्यकर्मीसँग सल्लाह लिँदा नगरपालिकाले सञ्चालन गरेको स्थानमा परीक्षण गराउन आउन भने पनि घरदेखि गाडीमा दुई घण्टा बढी समय लाग्ने र नियमित गाडी नचल्ने भएकाले जान नसकेको उनले जानकारी गराए । उनले सम्बन्धित निकायले गत वर्षजस्तै गरी लक्षण देखिएका क्षेत्रमा गएर कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।

समयमै परीक्षण गर्न नपाउँदा कोरोनाको लक्षणसहित बिरामी भएका कालीमाटी गाउँपालिका–१ का रेशमबहादुर खत्रीले मेडिकलबाट किनेको सिटामोलकै भरमा १० दिनपछि ठीक भएर हिँड्न थालेको बताएका छन् । वडामा रहेको स्वास्थ्यचौकीमा सामान्य सेवाभन्दा अन्य केही नपाइने र कोरोना परीक्षणकै लागि झन्डै तीन घण्टा लगाई जिल्ला अस्पताल आउनुपर्ने बाध्यताले पनि कतै जान नसकेको उनले जानकारी गराए ।

संक्रमित दैनिकजसो बढ्दै गएका र गाउँघरमा लक्षणसहितका बिरामी भेटिए पनि यो वर्ष सम्बन्धित निकायले कम चासो देखाएको उनको गुनासो छ । उनका अनुसार लक्षण देखिएका बिरामीलाई स्वास्थ्य संस्थामा आएर परीक्षण गर्न आग्रह गर्दै आए पनि बिरामीले नै सामान्य रुघाखोकी भनेर टार्दै आएका छन् । उनले माघ १ देखि १५ गतेसम्म झन्डै १ सय जतिको परीक्षण गरेको र त्यसमा १० जनालाई पोजिटिभ देखिएको उनको भनाइ छ ।

बाग्चौर नगरपालिकाका स्वास्थ्य प्रमुख हरिबहादुर कठायतले गत वर्षजस्तो टोल तथा वडामा गएर परीक्षण नगरे पनि स्वास्थ्य संस्था तथा आइसोलेसन सेन्टरमा कोरोना परीक्षणको व्यवस्था गरे पनि न्यून मात्रामा लक्षण देखिएका बिरामी आउने गरेको बताएका छन् । कतिपय लक्षणसहितका बिरामीलाई स्वास्थ्य परीक्षण गराउन आग्रह गर्दै आए पनि अटेर गरेको उनले जानकारी गराए ।

प्रकाशित : माघ १७, २०७८ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?