४० क्वीन्टल जडीबुटीसहित दुई ट्र्याक्टर नियन्त्रणमा

जुम्ला — कागजातबिना नै जडिबुटी ढुवानी गरिएको अवस्थामा प्रहरीले दुई ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ । सङ्कलन पुर्जी र छुट पुर्जीबिना जुम्लाको पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलङ्गातिर आउँदै गरेको जडीबुटी बोकेका दुई ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

'जाँचका क्रममा सङ्कलन पुर्जी भेटिएको छैन,' जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने, 'दुवै ट्र्याक्टरमा ल्याएको जडीबुटी नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएका छौँ ।'

पातारासी गाउँपालिका–७ बस्ने टेकेन्द्र बुढा र असल कठायतले ट्र्याक्टर चलाइरहेको अवस्थामा जडीबुटी नियन्त्रणमा लिइएको उनको भनाइ छ । साथै ट्र्याक्टरसहित बुढा र कठायतलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार सङ्कलन पुर्जी तथा छुट पुर्जीबिना लैजाँदै गरेको अवस्थामा प्रहरीले ४० क्वीन्टल सेतक चिनी जडीबुटी नियन्त्रणमा लिएको हो । चालकसहित दुवै ट्र्याक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय जुम्लामा बुझाइएको छ ।

प्रकाशित : माघ १४, २०७८ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?