कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

किसानले अझै पाएनन् राहत

सल्यान — कालीमाटी गाउँपालिका–५ दम्दबालीका किसान रणबहादुर घर्तीले यो वर्ष झन्डै १० रोपनी खेतमा धान लगाएका थिए  । तर धानबाली भित्र्याउन नपाउँदै कात्तिक पहिलो भएको वर्षाले उनको धानबालीमा ठूलो क्षति पुर्‍यायो  ।

‘पोहरसाल ५० मुरी फलेको थियो,’ उनले भने,‘काटेर सुकाएको आधाजति धान भिजेर सखाप भयो ।’ बारीबाट १५ मुरी मात्र धान भित्र्याउन पाएको उनको गुनासो छ ।

वर्षाका कारण त्रिवेणी गाउँपालिका–१ का रत्नबहादुर ओलीको पनि झन्डै २० मुरी धानमा क्षति पुग्यो । ‘भित्र्याएको धान पनि न भात खान मिल्छ न बीउ राख्न नै,’ उनले भने, ‘यो वर्ष त छाक टार्नै मुस्किल भयो ।’ झन्डै ४० हजार रुपैयाँको धान क्षति भएको भन्दै जिल्ला कृषि विकास कार्यालयमा निवेदन दिएका उनले अहिलेसम्म राहत पाउन सकेका छैनन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार वर्षाका कारण सल्यानका ७ हजार ८२ हेक्टरमा लगाएको धानबालीमा क्षति पुगेको थियो । क्षतिपूर्ति माग्दै झन्डै ५ हजार किसानले कार्यालयमा निवेदन पेस गरेका थिए । वर्षाले करिब २ हजार ८ सय ६ मेट्रिक टन धानमा क्षति भएको कार्यालयको तथ्यांक छ ।

वर्षाले झन्डै ४ करोड ९२ लाख रुपैयाँको धानमा क्षति पुर्‍याएको कार्यालयको अनुमान छ । तर बजेट नआएको भन्दै किसानलाई अझै राहत नदिइएको हो ।

प्रकाशित : माघ १४, २०७८ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?